जाजरकोट – गत असार २५ गते राति गएको पहिराले मानवीय क्षतिसँगै सयांै घरपरिवार विस्थापित भएको बारेकोट गाउँपालिका–४ मा अझै घर टहरा निर्माण गरिएको छैन । वडा नम्बर ४ मा मात्र ७३ घरपरिवार पहिराका कारण विस्थापित भएपनि यो आर्थिक वर्षभित्र घर निर्माणको कुनै सुरसार नहुँदा यस वर्ष पनि उनीहरूले पालकै ओत लाग्नुपर्ने भएको छ ।
ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा पाल टाँगेर ज्यान बचाउने अभियानमा लागेको सार्कीटोलका करबीर सार्कीले बताउनुभयो । “हिउँद याममा जसोतसो घरेर भत्किएकै ठाउँमा बसेका थियौँ, अब फेरि वर्षा लागिसक्यो, यस वर्ष पनि पालकै भरमा बस्नुपर्ने भयो”, सार्कीले भन्नुभयो, “गाउँलेहरू मिलेर गहिरो भएको ठाउँमा पालहरू टाँगेर बस्ने ठाउँ बनाइरहेको छौँ ।”
वडाध्यक्ष सिर्जना बस्नेतका अनुसार तलगाउँका सर्वसाधारणलाई सिँजा बस्ती, बोहोराजिरीका लागि लेखीपर्छा, सार्कीटोलका लागि आर्रेगैरा, मैना र ठकुरीटोलको लागि दहमा पाल टाँगेर सुरक्षित रूपमा बस्न आग्रह गरिएको छ । तीन दिनअघि वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । “वर्षेनी ज्यान जोगाउन आफ्नो बासस्थान छोड्नु पर्ने बाध्यताले मन भारी भएर आउँछ, घर निर्माण कहिले हुन्छ थाहा छैन”, विस्थापित मनबीर सार्कीले भन्नुभयो ।
त्यस्तै अर्का पहिरोमा परी बाबु गोपाल सार्कीलगायतका आफन्तहरू गुमाएका कृषण सार्की पीडा सहन नसक्दा अहिले मदिरा सेवन गर्ने लतमा लागेको मनबीरले बताउनुभयो । आफन्त गुमाउनुको पीडा मानसिक रूपमा नै परेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । कृषणले पनि गाउँलेहरूसँग मिलेर आर्रेगैरामा पाल टाँगेर बस्ने ठाउँ बनाएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त रु पाँच लाख र विभिन्न सङ्घसंस्थाले दिएको रकमबाट सार्कीटोलमै घर बनाएका कृषणले यो पटक पनि नयाँ घरमा बस्न नपाएर आर्रेगैरामै पाल टाँग्नु परेको छ । प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको पहलमा रु १० लाखको तारजाली राखेर सार्कीटोलमा आएको पहिरो नियन्त्रणको काम भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
त्यस्तै यसै वर्षभित्र निर्माण गर्ने भनिएका सुरक्षित आवास कार्यक्रमभित्रका १०० घर निर्माणको काम अर्को वर्ष सरेको छ । भूगोलको विस्तृत अध्ययन प्रतिव्दन(डिपिआर) तयार गर्न समय लागेका कारण यो आर्थिक वर्षमा घर निर्माणको काम अगाडि बढ्न नसकेको हो । वडा नं. ४ सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नं ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो । गाउँपालिकाभरि एक हजार २०० घरधुरी विस्थापित भएका थिए । रु १२ करोडभन्दा बढीको क्षति भएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्