29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

सङ्कटमा सामाजिक सङ्घसंस्थाको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

(रासस) ः कोभिड–१९ को प्रभाव तनहुँ जिल्लामा पनि परेको छ । कोभिड जोखिम न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सबै क्षेत्र अस्तव्यस्त छ ।

मजदूरी गरेर खाने विपन्न परिवारलाई सकस छ । गर्भवती, सुत्केरीलाई स्वास्थ्य संस्थासम्म जान समस्या छ । कोरोना कहरकै बीचमा जिल्लास्थित केही सङ्घसंस्था भने सामाजिक उत्तरदायित्व वहनमा लागेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ, जेसीआई व्यास नगर, जेसीआई शुक्लागण्डकी, नेपाल रेडक्रस सोसाइटी तनहुँलगायतका सङ्घसंस्था आफूले सकेको सहयोग गरिरहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित जटिल अवस्थाका बिरामीलाई अक्सिजनको आवश्यकता छ । अक्सिजनको अभावमा कतिपय सङ्क्रमितले ज्यान गुमाउन पनि परेको छ । अक्सिजनको महत्व कति हुन्छ भन्ने अनुभव यसको अभावमा ज्यान गुमाएको सङ्क्रमित परिवारका सदस्यले बताउने गरेका छन् ।

कोरोना सङ्क्रमित कसैले पनि अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस् भन्दै शुक्लागण्डकी जेसीजले आइसोलेशनलाई अक्सिजन सहयोग गरेको छ । जिपी कोइाला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनलाई २५ वटा ठूलो सिलिन्डरमा अक्सिजन भरेर सहयोग गरेको शुक्लागण्डकी जेसीजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको उहाँको भनाई छ । पोखरास्थित कालिगण्डकी अक्सिजन प्रालिबाट अक्सिजन भरेर ल्याइएको हो ।

कोरोनाले मुलुक सङ्कटमा फसेका बेला नियन्त्रणका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सक्नेले आर्थिक सहयोग गरौँ । नसक्नेले घरमै बसेर निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणका लागि सघाउ पुर्याउँ ।” यो समयमा अक्सिजनको ठूलो महत्व रहेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । अस्पतालमा रहेको आइसोलेशनलाई सरकारसँगै सामाजिक संघसंस्थाले पनि अक्सिजन सहयोग गर्न थालेको उहाँले बताउनुभयो ।

वैशाख तेस्रो साता अस्पतालले आइसोलेशन सञ्चालनमा ल्याउँदा ८ वटा ठूलो र २४ वटा सानो अक्सिजनको सिलिन्डर थियो । डा.श्रेष्ठका अनुसार हाल ४८ वटा ठूलो अक्सिजनका सिलिन्डर थपिएका छन् । दोस्रो लहरको कोरोनाको महामारी फैलिएपछि तनहुँका १० वटै स्थानीय तह मिलेर निर्माण गरिएको भवनमा अस्पतालले ३० शय्याको आइसोलेशन सञ्चालनमा ल्याइएको छ । प्रत्येक शय्यामा अक्सिजनको पाइप जडान गरिएको छ । जिपीको आइसोलेशनमा हाल २६ जना सङ्क्रमित उपचाररत छन् । श्वासप्रश्वासका समस्या भएर अक्सिजन दिनुपर्ने अवस्थाका सङ्क्रमितलाई मात्रै यहाँको आइसोलेशनमा राख्ने गरिन्छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घले दमौली अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन सङ्घले अस्पताललाई छ थान सिलिन्डर हस्तान्तरण गरेको हो ।

सङ्घले स्थापना गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमार्फत् अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले केही दिन अगाडि दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, कालीभञ्जन गण (इ) लाई स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो । दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. पौडेलले अक्सिजन सिलिन्डर प्राप्त भएपछि सङ्क्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो । सङ्घले खडा गरेको कोषमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ । सोही कोषबाट प्रशासन कार्यालयको समन्वयमा सङ्घले २५ थान अक्सिजन सिलिन्डर खरिद गरेर ल्याएको छ ।

जेसीआई व्यास नगरले अप्ठ्यारोमा परेकालाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको छ । निषेधाज्ञाका कारण एम्बुलेन्स नपाएका र समस्यामा परेका गर्भवती, सुत्केरी लगायतलाई जेसीआई व्यास नगरले निःशुल्क यातायात सेवा उपलब्ध गराएको हो । अभियान शुरु भएको दुई दिनमा नै जेसीआइले दुई जना महिलालाई सेवा दिइसकेको छ । गर्भवती भएर पोखरा जानुपर्ने भानु–६ निवासी अस्मिता अधिकारीलाई जेसीआई व्यास नगरले उद्धार गरी पोखरा पु¥याएको छ । दमौली अस्पताल आइपुग्नुभएकी उहाँलाई अस्पतालले पोखरा जान भनेपछि दमौलीस्थित अनसन चौतारामा अलपत्र परेको जानकारी पाएपछि उद्धार गरिएको जेसीआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

खनालले गर्भवती, सुत्केरी तथा अप्ठ्यारोमा परेका सबैलाई यातायात सेवा दिने बताउनुभयो । क्लबका पदाधिकारी अनुप दाहालले आफ्नो साधन निषेधाज्ञा अवधिभर उपलब्ध गराउनुभएको छ ।

विपन्नलाई लायन्सको खाद्यान्न सहयोग

कोरोना कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई लायन्स क्लव अफ तनहुँ व्यास सिटीले खाद्यान्न वितरण शुरु गरेको छ । विपन्न परिवारलाई सघाउन क्लवले स्थापना गरेको ‘फूड बैङ्क’ मार्फत् खाद्यान्न वितरण अभियान शुरु गरिएको हो ।

क्लवले २८ परिवारलाई खाद्यान्न उपलब्ध गराइसकेको छ । क्लवका अध्यक्ष कुमार मल्लले विपन्न परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । क्लवको यो अभियानमा दमौलीकै विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन् । निषेधाज्ञाका कारण चुल्हो नबलेका परिवारको बारेमा जानकारी पाएलगत्तै क्लव सहयोगका लागि तयार रहेको प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति परिवार दश केजी चामल, एक केजी दाल, एक केजी क्वाटी, एक पोका तेल, एक पोका भूजा लगायतका सामग्री उपलब्ध गराइएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले तनहँुका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि रेडक्रसले जिल्ला अधिकारी सागर आचार्य मार्फत विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

रेडक्रसले दमौली अस्पताललाई २० थान पिपिई र ५० प्याकेट मास्क, पुरनडिही अस्पताललाई एक थान अक्सिजन कन्सनट्रेटर, २५ प्याकेट मास्क र ५ थान पिपिई, बन्दिपुर अस्पताललाई एक थान अक्सिजन कन्सनट्रेटर, २५ प्याकेट मास्क, ५ थान पिपिई, सशस्त्र, प्रहरी र नेपाली सेनालाई ३०÷३० प्याकेट मास्क सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यालयलाई सङ्क्रमितको शव व्यवस्थापनका लागि पाँच थान आवश्यक सामग्री समेत सहयोग गरिएको रेडक्रसकी मन्त्री चिनु पोख्रेलले जानकारी दिनुभयो ।

सदरमुकाम दमौलीमा रहेका बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको संस्था बैङ्कर क्लव अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो ।

बैङ्कर क्लव अफ दमौलीका अध्यक्ष राजु रानाका अनुसार रु दुई लाख ५४ हजार बराबरको सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको छ । यसैगरी लायन्स क्लव अफ तनहुँ दमौलीले पनि व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘बि’ २ नेपाल एरिया ‘घ’ ले देवघाट गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । क्लबका डिष्ट्रिक गभर्नर भट्टले कोरोना भाइरस सङ्क्रमणका कारण जटिल अवस्थामा पुगेका बिरामीको उपचारमा सघाउन अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो । उहाँले लायन्सले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री, स्वास्थ्य उपकरण वितरण गरिरहेको जानकारी दिनुभयो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     8:33:32 PM  |