18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

जटिल समस्या भएका सङ्क्रमित निको हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

गलेश्वर, जेठ (रासस)  बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको सङ्ख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ ।

चार दिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रवार पाँच डिस्चार्ज भएको स्वास्थ्यकर्मी दीपा खड्काले जानकारी दिनुभयो । “हाइफ्लो दिइरहेको एक जनाको अवस्था अलि गम्भीर छ, बाँकीको अवस्था सामान्य छ”, खड्काले भन्नुभयो ।

अस्पतालमा केहीदिन अघिसम्म हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेका थिए । आइसोलेशन कक्षमा उपचाररत सबै सङ्क्रमितमा श्वासप्रश्वासको समस्या थियो ।

होम आइसोलेसनमा बसेकामा शरीरमा अक्सिजन मात्रा कम भएपछि अस्पताल आएका बिरामीमध्ये जटिललाई मात्रै पोखरा रिफर गरिएको र धेरै बिरामी बेनी अस्पतालबाट नै उपचारपछि घर फर्र्किएका अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । जिल्लामा दैनिक सयको हाराहारीमा सङ्क्रमित थपिँदा बेनी अस्पतालमा पनि उपचारका लागि आउनेको चाप बढेको थियो ।

होम आइसोलेसनमै परामर्श सेवा

म्याग्दीमा कोरोना सङ्क्रमितलाई होम आइसोलेसनमै परामर्श सेवा दिन थालिएको छ । स्थानीय तहले सङ्क्रमितको मनोवल बढाउन नियमित भेट, परामर्श र औषधि वितरण गर्न थालेका हुन् ।

स्वास्थ्यकर्मीले नियमित रुपमा स्वास्थ्य सम्बन्धी परामर्श दिन थालेपछि सङ्क्रमण जित्न सहज भएको सङ्क्रमितहरुले बताएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा कोरोना सङ्क्रमितकै घरदैलोमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्ने र परामर्श तथा औषधि वितरण गर्ने काम शुरु गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाका अनुसार सङ्क्रमितलाई घरदैलोमा पुगेर औषधि वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोवल उच्च राख्न परामर्श दिने लगायतका सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाले अक्सिजनको लेबल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ ।

घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधी वितरण गर्दा उनीहरुमा हौसला बढेको बेनी नगरपालिका १ का वडाअध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “सङ्क्रमण पुष्टि भएपछि मानिसहरु धेरै आत्तिदा रहेछन, यस्तो बेलामा मनोसामाजिक परामर्शले सङ्क्रमितलाई हौसला प्रदान गर्दो रहेछ”, अध्यक्ष रावलले भन्नुभयो “ हामी नियमित सल्लाह र परामर्श प्रदान गर्ने कार्यमा लागेका छौं ।”

सङ्क्रमितको घरमा अरु सदस्यलाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाइजरसँगै अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर र ज्वरो नाप्न थर्मलगन लगायत स्वास्थ्य सामग्री पु¥याउने गरिएको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

मंगला गाउँपालिकाले सबै जनप्रतिनिधिहरुलाई क्षेत्र छुट्याएर सङ्क्रमितहरुको घरदैलोमा खटाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “कसैलाई अस्पताल लैजानुपर्ने भएमा डाक्टरसँग परामर्श गर्छौँ”, भुसालले भन्नुभयो, “दिनरात नभनी हामी घरदैलोमा छौँ ।” उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि सङ्क्रमितको अवस्था बुझ्दै आएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । उहाँले सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउँदै वडा मार्फत सङ्क्रमितको घरसम्म स्वास्थ्य सामग्री पु¥याउने गरिएको जानकारी दिनुभयो । “सङ्क्रमितको घरमा हामी पुगेर टाढैबाट भेट्छौँ”, भण्डारीले भन्नुभयो, “औषधि र स्वास्थ्य सामग्री पनि दिन्छौँ ।” भेटघाटले सङ्क्रमितलाई केही भए सरकार छ भन्ने हौसला हुने गरेको भण्डारीले बताउनुभयो । कोरोना सङ्क्रमण जित्न मनोवल घटाउन नहुने, नियमित परामर्श लिनुपर्ने, व्यायाम र सन्तुलित भोजन गर्नुपर्ने स्वाथ्यकर्मीहरुले बताउने गरेका छन्

बुधवार पछिल्लो २४ घण्टामा म्याग्दीमा १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७७२ जना पुगेको छ । जिल्लामा ५५० सक्रिय सङ्क्रमित पुगेका छन् भने १६४ वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट म्याग्दीमा बुधबार साँझसम्म ३६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रिपोर्ट आउन बाँकी रहेका मध्ये ९८ प्रतिशत ग्रामीण क्षेत्रका छन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     7:55:34 AM  |