8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

लागू औषधसहित चार पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

कोहलपुर ।

बर्दियामा लागू औषध चरेशसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरले लागू औषध चरेशसहित तीन पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुलाई बढैयाताल गाउँपालिका–३, भोलागौडी सतपतिया मान्झुण्डी सामुदायिक वन नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–६, सिमलघारी बस्ने २६ वर्षीय कमल विश्वकर्मा, ३२ वर्षीय कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका–८ का ४८ वर्षीय बलबहादुर कामी रहेका छन् । उनीहरुलाई शंका लागेर झोला खानतलास गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा ६ सय ९४ ग्राम लागू औषध चरेश बरामद भएको ईलाका प्रहरी कार्यालय मैनापोखरका ईन्चार्ज प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यसैबीच सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका, ६ गणेश चोकबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका, ७ का २४ वर्षिय पुरुष रवी अहमद रहेका छन् । उनी गणेश चोकमा रहेको डेराबाटै पक्राउ परेका थिए । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अहमदको शरिर खानतलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई राखेको अवस्थामा १ सय ७० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका अहमदमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     7:29:13 AM  |