लुम्बिनीमा राष्ट्रियसभा उप–निर्वाचन, तयारी अन्तिम चरणमा



दाङ ।

भोली सोमबार दाङको घोराहीमा हुने राष्ट्रियसभा सदस्यको उप निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र तोक्ने, त्यहाँ खटिने कर्मचारी तोक्ने, निर्वाचन सामग्री तयारी अवस्थामा राख्ने काम सकिएको हो । ‘हाम्रो तर्फबाट हुने तयारीहरु करिब सम्पन्न भएका छन् । अब निर्वाचनमा भाग लिने मतदाताहरुको पीसीआर परीक्षण गर्ने काम भैरहेको छ’ निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कवरले भने, ‘मतदानमा आउँदा कोरोना जाँच गरेको प्रमाणपत्र देखाउनुपर्ने छ ।’

निर्वाचनमा भाग लिने कर्मचारी र जनप्रतिनिधिको कोरोना परीक्षण अनिवार्य गरिएको उनले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले आइतबारसम्म सबैको रिपोर्ट आउने र सोमबार मतदान हुने बताए ।१२ जिल्लाका प्रदेशसभा सदस्य र स्थानीय पालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षको स्वाव संकलन र परीक्षणको जिम्मेवारी स्वास्थ्य कार्यालयले प्राप्त गरेको छ । निर्वाचनको लागि तीन ओटा मतदान केन्द्र तोकिएको छ ।

‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य, ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख, उप–प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले मतदान गर्ने छन् । ‘ग’ मतदान केन्द्र कोरोना पोजेटिभ देखिएका मतदाताको लागि छुट्याइएको निर्वाचन कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण दर उच्च भइरहेको बेला राष्ट्रियसभाको उप–निर्वाचन हुँदैछ । कोरोना कहरमा निर्वाचन सम्पन्न गर्न सबै स्वास्थ्य मापदण्ड पूरा गरिने आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा रिक्त एक राष्ट्रियसभा सदस्यका लागि भोली उपनिर्वाचन हुँदैछ ।

बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दृगनारायण पाण्डे उम्मेदवार छन् । दुई उम्मेदवारलाई चुनाव चिन्हसमेत प्रदान गरिसकिएको छ । खड्कालाई सूर्य र पाण्डेलाई रुख चुनाव चिन्ह प्रदान गरिएको हो । विपक्षी गठबन्धनबाट पाण्डे उम्मेदवार बनेका हुन् ।

कांग्रेसका उम्मेदवार रहेका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । प्रदेशसभा सदस्य ७९ जना छन् भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१७ जना मतदाता रहेका छन् । कूल मतदाता २९६ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ स्थानीय तहतर्फ एमालेका ९१ जना प्रमुख तथा उपप्रमुख छन् । कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३ र जनमोर्चाका ५ जना सदस्य छन् । राप्रपाका दुई र स्वतन्त्र चार जना छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १६ गते आइतबार