8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

‘हाम्रो अभियान कोही पनि भोकले नमरुन भन्नको लागि हो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

देशभर बैशाख महिनायता कोरोना महामारी छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस दैनिक बढ्दो क्रममा रहेको छ ।यो भेरियन्टका कारण अहिलेसम्म देशभर हजारौँ नागरिकको मृत्यु भइसकेको छ । दैनिक कोरोना संक्रमितको संख्या समेत बढ्दो क्रममा रहेको छ । नेपालमा पहिलो चरणमा कोरोना संक्रमणको बेलामा १० वर्षमा नभएको क्षति अहिले एक महिना मै भएको छ । लक्षण सहितको कोरोनाका कारण दैनिक सयौँ नागरिकको मृत्यु हुँदा समेत सरकारले अहिलेसम्म कुनै पनि प्रभावकारी प्रयास गर्न सकेको छैन । कोरोना महामारीको लागि तीन वटै तहका सरकार लागिपरेको भएपनि अहिलेसम्म प्रभावकारी कार्यसम्पादन हुन नसकेको छैन । जसको प्रत्यक्ष मार कोरोना संक्रमित र सर्वसाधारण जनताले पाइरहेका छन् । अहिले देशभर निजी तथा संस्थागत रुपमा समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयास भइरहेका छन् । देशभर कोरोनाबाट प्रभावित भएका जिल्ला मध्ये बाँके जिल्ला पनि एक हो । बाँके जिल्लामा सरकारका साथै स्थानीय स्तरमा संस्थागत तथा व्यक्तिगत र स्वयमसेवकका रुपमा अभियान थालिएका छन् । जसका कारण कोरोना रोकथामका लागि सहज भएको छ । यस्तै बाँकेको कोहलपुरमा समेत सामाजिक अभियान्ताहरको एक समूहले कोरोनाबाट प्रभावितहरुका लागि सहयोग गर्न कोभिड खाद्य बैंक स्थापना गरेको छ । बैंक सञ्चालकको एक कार्यकारी समितिले अहिले राहत वितरणको लागि संकलन गरिरहेको छ । अभियान शुरु भएको चार दिनमा ६ लाख भन्दा बढी राहत संकलन गरेको टिमले २५ लाख सम्मको राहत संकलन गर्ने लक्ष्य राखेको छ । यसैवीच, कोभिड खाद्य बैंक स्थापनाको उद्देश्य, राहत वितरणको प्रारुप तथा स्थानीय सरकारसँगको सहकार्यका विषयमा खाद्य बैंकका संयोजक प्रदिप भट्राईसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१. कोरोना महामारीको समयमा तपाईंको दैनिकी कसरी बितिरहेको छ ?

पक्कै पनि विश्वभर कोरोनाको महामारी छ । हाम्रो देश समेत कोरोनाका कारण प्रभावित भइरहेको अवस्था छ । बाँके जिल्लाका कुराकानी गर्नुपर्दा हामी पनि एक महिना देखि लकडाउनको अवस्थामा छन् । यस्तो अवस्थामा सम्पूर्ण काम कारबाही बन्द रहेको अवस्था छ । यो एउटा पेण्डामिक समय हो । यस्तो बेलामा सचेतना फैलाउने र सहयोग गर्ने महत्वपूर्ण कामको रुपमा रहेको छ । एउटा समेत नागरिकको समस्यामा परेकाहरुको सहयोग गर्नु कर्तव्य समेत हो । सम्पूर्ण नागरिक घरभित्र बसिरहेका छन् । हामी भने सामाजिक अभियान्ताका हिसाबले समस्यामा परेका नागरिकहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर जोखिमलाई सामना गर्दै अघि बढिरहेका छौँ । यस्तो अवस्थामा जिल्लाभर सामाजिक कार्यमा सलंग्न युवाहरु स्वर्तस्फूत रुपमा सहयोगमा जुटेको पनि पाइएको छ । हामीले पनि कोभिडका कारण समस्यामा परेका वर्गहरुलाई सहयोग गर्न सकिन्छ की भनेर एउटा अभियान शुरु गरेका छौँ । दुई चार दिनयता विशेषत यसैमा व्यस्त छु । त्यसको लागि हामीले काभिड खाद्य बैंक स्थापना गरेका छौँ । अहिले राहत संकलनमा जुटिरहेको अवस्था छ ।

२. कोहलपुरमा सञ्चालनमा ल्याइएको कोभिड खाद्य बैंकको मूख्य उद्देश्य के हो ?

कोरोना महामारीको समयमा चलिरहेको थियौ । निषेधाज्ञा लगाइएको छ । यस्तो अवस्थामा खासगरी काम गरेर खाने वर्ग समस्यामा परेको छ । सोही सन्दर्भमा कोहलपुरमा एउटा सक्रिय युवाहरुको भेला बस्यो । भेलाले मेरो संयोजकत्कमा सामाजिक कार्यका लागि कोभिड खाद्य बैंकको स्थापना गरेको हो । यसमा कुल २७ जना सदस्य जोडिनु भएको छ । सोही अनुसार कोहलपुर नगरपालिकाका १५ वटै वडामा विपन्न नागरिकहरुलाई खाद्यन्न सहयोग गर्ने उद्देश्यले बैंकको संञ्चालन गरिएको हो । यो अभियान कोहलपुर नगरपालिका लक्षित अभियान हो । हामीले कोहलपुरका नागरिकहरुलाई सहयोग गर्ने हो । त्यसको लागि अहिले राहत संकलनको काम भइरहेको छ । राहत संकलन पछि हामीले प्रत्येक वडाका न्युतनम एक सय जनालाई नागरिकलाई राहत दिने लक्ष्य राखेका छौँ । यसरीले हाम्रो अभियान मार्फत १५ सय जना घरधुरीलाई सहयोग गर्नेछ । २२ देखि २५ लाखसम्मको राहत वितरण गर्ने हाम्रो लक्ष्य रहेको छ । सोही अनुसार हामीले अहिलेसम्म ६ लाख बराबरको राहत संकलन गर्न सफल भएका छौँ । हामीलाई राम्रो सहयोग भइरहेको छ । सहयोगी दाताले निकै राम्रो काम गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिनु भएको छ । जसले हामीलाई काम गर्नको लागि झन हौसला मिलेको छ । यो विशुद्ध सामाजिक अभियान हो । यसमा कुनै पनि प्रकारको राजनीतिककरण हुनेछैन । म सामाजिक कार्यकर्ताका रुपमा अघिबढिरहेको छु । सबै साथीहरु रहनु भएको छ । ज्ञानोदय पुस्ताकालय, कोहलपुर उद्योग वाणिज्य संघ, नेपाल भारत मैत्री संघ, र कोहलपुर जेसिज लगायतका प्रमुखहरु र सामाजिक अभियान्ताहरुको सुझाव रहेको छ । हामीलाई कोहलपुरका बौद्धिक वर्गले निकै ठूलो सहयोग गरेको छ । मानिसहरु निःशुल्क रुपमा हामीलाई सहयोग गरिरहनु भएको छ । संस्थागत भन्दा पनि अहिलेसम्म हामीलाई व्यक्तिहरुबाट सहयोग भइरहेको छ । ठूला उद्योगहरुमा पनि हामीले अफिसियल्ली रुपमा पत्र काटेका छौँ । केही दिन त्यता फोकस गरेका गरेका छौँ । अझै केहीदिन राहत संककल गछौँ । वितरण पनि अब शुरु गछौँ । राहत वितरणको लागि वडाहरुको समन्व्यमा कार्यविधि नै बनाइनेछ । कार्यदल निर्माण गरिएको छ । त्यो समितिले निर्धारण गर्छ ।

३. कोहलपुर नगरपालिकाले दोस्रो चरणमा राहत वितरण गरेको छैन, यो अभियान त्यसको विकल्पमा त शुरु गरिएको होइन की विशुद्ध सामाजिक सेवा मात्रै हो ?

होइन यो विशुद्ध सामाजिक सेवा हो । यसमा कुनै राजनीतिक दल,संगठन र विचार धारा भन्ने छैन । कोहलपुर नगरपालिकाको विकल्प खोज्नको लागि पनि यसो नगरिएको म सबैलाई जानकारी दिन चाहन्छु । बरु नगरपालिकालाई सहयोग गर्नको लागि अभियान सञ्चालन भएको छ । महामारीको बेलामा कोहलपुर नगरपालिकाले आफ्नो हिसाबमा काम गरिरहेको छ । नगरपालिकासँग प्रतिष्पर्धा भन्दा पनि बन्दाबन्दीको समयमा समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने हाम्रो पवित्र उद्देश्य रहेको छ । यसमा हामीले वडा कार्यालयहरुसँग पनि समन्वय गरेका छौँ । उहाँहरुले पनि हामीलाई राम्रो साथ दिनु भएको छ ।

४. कोरोना महामारी अझै बढ्ने सम्भावना देखिन्छ, यो अभियान कहिलेसम्म सञ्चालन हुन्छ ?

यो अभियान धेरै लामो समय सम्म जादैन । किन भने हामीले यसको लागि केही निश्चित उद्देश्य तय गरेका छौँ । त्यसका लागि यसलाई अल्पकालीन योजनाको रुपमा ल्याएका छौँ हाम्रो उद्देश्य पुरा हुन वित्तिकै छ । यो अभियान रहन्न । यद्यपी यसलाई विभिन्न महामारीको समयमा फरक स्वरुपमा सञ्चालन गर्न सकिन्छ । कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नको लागि अभियान थालिएको हो ।हामीले सबैसंग मागेर नै सहयोग जुटाइरहेका छौँ । कसैले हामीलाई सहयोग गरेको अभियानमा उहाँहरुको सहयोगलाई खेर जान दिनेछौँ । लक्षित वर्गले राहत पाउनेछन् । कोरोनाका कारण समस्यामा परेकाहरुलाई यसले पक्कै पनि केही सहयोग गर्नेछ । कोही भोकै मर्नुपर्ने अवस्थाको अल्पकालीन निकास हुने हामीले अपेक्षा गरेका छौँ । धेरैले हामीलाई साथ दिनु भएको छ । सोचेको भन्दा पनि बढी राहत संकलन भइरहेको छ । हामी उत्साहका साथ काम गरिरहेका छौँ । हाम्रो अभियान निश्पक्ष रुपमा सञ्चालन हुनेछ । कोरोना महामारीको जोखिम रहुञ्जेल यो अभियान सञ्चालन हुन्छ । सामान्य अवस्था आएपछि हामी अभियानलाई निरन्तरता दिने छौँ ।यसमा सबैको सहयोगको खाँचो रहेको छ । यो विशुद्ध राहत संकलनको लागि थालिएको अभियान हो । राहत वितरण गर्ने बाहेक अन्य कूनै पनि काम हामी गर्दैनौ ।

५. कोरोनाका कारण सम्पूर्ण क्षेत्र बन्द अवस्थामा छन्, समस्यामा परेकाहरुका लागि तपाईंहरुले थाल्नु भएको अभियानमा जोडिनको लागि सरोकारवालाहरुलाई के भन्न चाहनुहुन्छ ?

यो एउटा पवित्र अभियान हो । यो अभियानमा जोडिनको लागि म आग्रह गर्दछु । यसमा तपाईंहरु जोडिनको लागि कुनै पनि कुरा चाहिदैन । केवल तपाईंहरुको सहयोगी भावना भएपुग्छ । यो अभियानसँग जोडिएर तपाईंले हामीलाई सहयोग गर्नुहोस । अर्कोतिर हामीलेको राम्रो हौसला हामीले पाएका छौँ । त्यसको लागि सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छु । रोगले विश्व नै थला परिरहेको अवस्थामा भ्याक्सिनको समेत कुरा आइरहेको छ । त्यहाँसम्म सरकार पुग्न नसकेको छैन । रोग भन्दा पनि भोकले कोही नमरुन भन्ने हाम्रो ध्याय हो । एक छाक भोक टारेर पनि सहयोग गर्नेछौँ ।

६. महामारीको समयमा स्थानीय सरकारले गरेको कामलाई कसरी लिनुहुन्छ, सामाजिक अभियान्ताका तर्फबाट ?

केन्द्रदेखि स्थानीय स्तरसम्म के अवस्था छ सबैलाई थाहै भएको कुरा छ । मैले मेरो व्यक्तिगत तर्फबाट भन्नुपर्दा म यसमा सन्तुष्ट छैन । स्थानीय सरकारले यतिबेला जुन किसिमको सयन्त्र बनाएर अघि बढ्नु पर्ने हो । तर त्यसो हुन सकेन । हामी यहाँका स्थानीय नागरिक हौँ । यहाँको सरकारले गरेका काम कारबाही हामीले नियालीरहेको अवस्था छ । स्थानीय सरकारले सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्नको लागि चुकेको मैले अनुभूति गरेको छु । कोरोना रोकथामका प्रभावकारी उपाय नै अपाएन स्थानीय सरकारले । अरु अझै विवादको केन्द्र बनिरहयो । जिल्ला तथा अन्य जिल्लामा पालिकाहरुमा राम्रा काम भएको देख्न र सुन्न पाइन्छ । तर हाम्रोमा केही पनि हुन सकेको छैन । हामी सहयोग गर्न इच्छुक छौँ तर पनि अहिले सम्म केही पनि समन्वय भएको छैन । कोहलपुर नगरपालिकाले आम जनताको सर्वोपरी हित हुने काम केही पनि नगरेको अवस्था छ ।

७. अन्त्यमा सम्पूर्ण सरोकारवालाहरुलाई अभियानसँग जोडिन र कोरोनाबाट बच्नको लागि के भन्न चाहनुहुन्छ ?

अहिले पनि स्थिति एकदमै जटिल छ । कोहलपुरमा पनि धेरै मानवीय क्षति भइसकेको छ । हामीले नसोचेको क्षति व्यहोर्न पुगेका छौँ । भोली त्यसको सिकार हामी पनि हुन सक्छौँ । त्यसैले कोरोनासँग खेलाँची नगरौँ । सतर्कता अपनायौँ । यसमा हामी सबैको भलो हुन्छ । हामी यस अभियानमा प्रत्यक्ष रुपमा जोडिएपनि अप्रत्यक्ष रुपमा सबै जना जोडिनु भएको छ । तपाईहरुको साथ र समर्थनले हामी अघि बढ्न सकेका
छौँ । पक्कै पनि हाम्रो अभियान भोकाहरुको घरसम्म पुग्नेछ । तपाईंहरुले भने सुरक्षित रहनुहोस । कोरोनाका कारण जारी सरकारको निर्देशनको पालना गरौँ । आफू बचौँ र अरुलाई पनि बचाउन मद्दत गरौँ भन्न चाहन्छु ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     7:05:15 AM  |