18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

ग्रामीण परिवेशको भिडियो : पर्यटन र कृषि जोड्ने माध्यम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८  

– किरण पौड्याल

इलाम,  जेठ (रासस) : प्रायः चलचित्र वा म्युजिक भिडियो हामी केवल मनोरञ्जनका लागि हेर्छौँ । व्यस्त भएकालाई थकान मेटाउन यस्ता मनोरञ्जनात्मक सामग्री प्रयोग गरिन्छ । तर यिनै सामग्रीका कारण सामाजमा जनचेतनासमेत बढ्न थालेको छ । यसको एक उदाहरण हो– गत वर्ष सार्वजनिक भएको म्युजिक भिडियो–तीनपाते । मौलिक पृष्ठभूमि, मन तान्ने गीत र सङ्गीत । अनि गाउँघरको दृश्यले धेरैले भिडियो मन पराए ।

यो भिडियोको अधिकांश भाग इलाममा खिचिएको हो । यो दृश्य इलामको मङ्गलबारे र पानीटारको हो । भिडियोमा कृषि कर्मका चित्र देखिएको छ । तीनपाते म्युजिकल फिल्मका निर्देशक नवीन चौहानका अनुसार आफैँले अनुभूत गरेको विषय दर्शकसमक्ष पु¥याएको हुन् । यति धेरै रुचिकर हुनुको पछाडि नवीन भन्नुहुन्छ, “गाउँघरकै परिवेश, अनि हामीले नै भोगेको कथा भएकाले मन धेरै पराइयो ।”

एक करोड पाँच लाखले यो भिडियो हेरिसकेका छन् । ‘तीनपाते’ले जम्माजम्मी नौ मिनेटभित्र पूर्वेली जन–जीविका, भौगोलिक विशिष्ठता, निश्चल प्रेम, युवा सपना र ग्रामीण उद्यमको उमङ्गमय खाका पेश गर्छ । ससर्ती माया–पिरतीको कलेवरमा यसले युवाको उद्यमशीलताबारे देखाउँछ । तर यसभित्र त्यस्ता थुप्रै मिहिन कुराहरू समेटिएका छन्, जसले ग्रामीण पक्ष उजागर गर्छ । जस्तो मेलापात, हाटबजार, वस्तुभाउ, घरेलु उद्यम, चालचलन ।

ग्रामीण समाजको आफ्नोपन झल्काउने नाङ्लो–मान्द्रो, मानो, घरेलु तानदेखि पञ्चेबाजा, लाहुरे रवाफजस्ता रोचक कुराहरू समावेश गरिएका छन् । निकै होसियारीपूर्वक गरिएका दृश्य संयोजन र प्रतीकात्मक दृश्यहरूले यसलाई अरु खास बनाएको छ । “हामी उद्यमशील भएर नेपालमा बाँच्न सकिन्छ भन्ने देखाउन चाहन्थ्यौँ । हामीबीच पनि यसैबारेमा कुराकानी हुन्थ्यो”, मिलनले भन्नुभयो, “साथी (निर्देशक नवीन चौहान)सँग कुराकानी गर्दा उसको मेरो सोच सधैँ मिल्थ्यो । मैले पनि तीनपातेबाट नयाँ कुरा सिके ।”

कोरोनाको कारण धेरैको जीवन कष्टकर छ । उद्योगधन्दा ठप्प छ, पेशा–व्यवसाय धरापमा छ, रोजगारी सङ्कटमा छ । अर्कोतिर रोजगारी गुमाएर विदेश एवं शहरबाट युवा गाउँ फर्कंदैछन् । यसरी गाउँ फर्किएका युवाहरूले आफ्नै चुल्होमा पाकेको भात खाएर, आफ्नो पसिनाले घर–बारी सिञ्चित गरेर जीवनलाई अरु उन्नत बनाउन सक्छन् । यो भिडियोको आशय पनि यही नै हो ।

वैदेशिक रोजगारीमा बढ्दो आकर्षण घटाउन तीनपातेले सहयोग गर्छ । एक युवाले कसरी स्वदेशमा जीवनयापन गर्न सक्छ भन्ने सन्देश तीनपातेले दिन्छ । यसबारे सङ्गीतकार सुजन चापागाईँ भन्नुहन्छ, “शुरुमा गीत बनायौँ । नवीन दाइले स्क्रिप्ट लेखेर इलाम पुगिसक्नुभएको थियो”, उहाँले भन्नुभयो, “म पनि पहिलो चोटी इलाम गएको । पहिले त कस्तो सङ्गीत भर्ने पत्तै पाइन । पूर्वतिरको गीत सुनेँ । म विस्तारै भिज्दै गए । फटाफट मिलाउँदै गएँ ।”

तीनपातेका दुई बालपात्रको कथा अलि अगाडिको समयको प्रतीत हुन्छ, जतिबेला इन्टरनेटको मादकताले छोएको थिएन । हाटबजारमा उनीहरूले विद्यालयको पोशाक लगाएका छन्, गोठ एवं हलोलाई खेलौना बनाएका छन्, बाँसको खबटाको पङ्ख बनाएर उडाएका छन् ।

यस किसिमको बालापनमा रमाएर हुर्किएकाहरू भिडियोले ‘नोस्टाल्जिक’ बनाउँछ । भिडियोमा मिलन खत्री, अनु काफ्ले, सम्रान्त थापा, नयान नेपाल, आयुष्मा काफ्ले, हर्क साउद, मुना धिताल, कविता थापा, विष्णु कार्की र सुजन खत्रीले अभिनय गरेका छन् । नेपाली संस्कृति झल्किने गीत गाउन पाएकोमा आफू खुसी रहेको गायिका विद्या तिवारीको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १३, २०७८     9:35:44 PM  |