8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

‘कोभिड विशेष नर्स समूह’ गठन : सङ्क्रमितलाई परामर्श शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

कर्णाली, (रासस) : कोभिड १९ को महामारीविरुद्ध स्वास्थ्य संस्थामा अग्रपङ्क्तिमा खटिने नर्सले स्वयंसेवी अभियानमार्फत सङ्क्रमित तथा परिवारका लागि निः शुल्क परामर्श सेवा शुरुआत गरेका छन् । नर्सिङ काउन्सिलबाट इजाजतप्राप्त उनीहरूले ‘कोभिड विशेष नर्स समूह’ गठन गरी सातै प्रदेशमा टेलिफोन, अनलाइन लगायतका माध्यमबाट कोभिड १९ का बारेमा निशुल्क परामर्श सेवा शुरु गरेका हुन् ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ । समूहका कर्णाली प्रदेश संयोजक नर्स मोना दाहालले कोभिड १९ सङ्क्रमित तथा परिवारका लागि सबैभन्दा पहिला उचित परामर्श जरुरी रहेको बताउनुभयो । कर्णालीबाट हालसम्म ४५ भन्दा बढी नागरिकले परामर्श सेवा लिइसकेका छन् ।

“लाइसेन्सप्राप्त इच्छुक नर्सलाई यो स्वयंसेवी अभियानमा जोडिन आह्वान गरेका छौं, अहिलेसम्म १०० नर्स अभियानमा आवद्ध भइसकेका छौं,” उहाँले भन्नुभयो, “कर्णालीका १० जिल्लामा रहेका इच्छुक नर्सहरूले अभियानमा आवद्ध हुन आवेदन दिनुभएको छ ।” समूहसँग हाल परामर्शकर्ता, संयोजक र तथ्याङ्क सहजकर्ता छन् । कोभिड अनलाइन कक्षा, टेलिफोनबाट बिरामी तथा उनीहरूका आफन्तले निर्धक्क आफ्ना समस्या राख्न सक्नेछन् ।

 

यसैबीच प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले कोरोना सङ्क्रमित र परिवारका लागि परार्मश सेवाको थालनी गरेका छन् । नगरपालिकाले हरेक वडामा कोरोना सम्पर्क व्यक्ति र परामर्शकर्ता खटाउन थालेको छ । नगर उपप्रमुख मोहनमाया ढकालले होम आइसोलेशनमा बसेका सङ्क्रमितको रेखदेख, सल्लाह–सुझाव र आवश्यक परे उद्वार गर्ने उद्देश्यले परामर्शकर्ता खटाइएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले पनि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर सङ्क्रमित व्यक्तिका लागि परामर्श सेवा शुरु गरेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा छ हजार बढी सङ्क्रमित होम आइसोलेशनमै छन् । समयमै उचित परामर्श र खानपिनमा ध्यान दिन सके आइसोलेशनमै बसेर कोरोना जित्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।(रासस)

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     4:45:34 PM  |