29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

१ वर्षदेखि रित्तै छ, रातापानीको बिक्री केन्द्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

मुगु : मुगुको उत्तरी भेगमा पर्ने खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र १ वर्षदेखि रित्तै रहेको छ । नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा पाएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका रमेश बरालमार्फत सञ्चालनमा रहेको बराल ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको १ वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपुर्‍याउँदा १ वर्षदेखि केन्द्र रित्तो अवस्थामा रहेको हो ।

कम्पनीले समयमै खाद्यान्न नपुर्‍याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको बराल कन्स्ट्रक्सनलाई पटक(पटक चिठी काट्दासमेत अटेर गरेको शाखाका सूचना अधिकारी पुष्कर भामले बताए । उनले भने, ‘विगत वर्षमा यस्तो अवस्था आएको थिएन । अहिले १ वर्षसम्म खाद्यान्न नपुर्‍याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन ।’

 

गत असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७र७८ मसान्तसम्म सम्झौताबमोजिम ठेकेदारले ७ सय ५० क्विन्टल चामल बिक्री केन्द्रमा पुर्‍याउनुपर्ने हो । तर, हालसम्म नपर्‍याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

 

‘गाउँपालिकासँग समन्वय गरी चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म रोकिएको छ । ठेकेदारले स्थानीय तहसँग समन्वय गरेर चामल पुर्‍याउनुपर्नेमा अहिलेसम्म अटेर गरेको देखिएको छ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले भने ।

 

बराल कम्पनीका प्रोप्राइटर रमेश बरालका अनुसार समन्वय अभावका कारण चामल पु¥याउन नसकिएको बताउँछन् । बरालको कम्पनीले हाल कर्णालीका जुम्ला, कालीकोट र मुगुमा खाद्यान्न पुर्‍याउने जिम्मा लिँदै आएको छ ।

 

‘३ वटा जिल्लाका शाखा , डिपोमा पर्याप्त चामल पुर्‍याइरहेको छु । तर, मुगुको खत्याड गाउँपालिकामा रहेको रातापानी बिक्री केन्द्रमा १ वर्षसम्म नपुग्नुको कारण त्यहाँको स्थानीय सरकार खत्याडले अनुमति नदिनु नै हो । चामल पुर्‍याइहाले पनि मुचुल्का नगरिदिँदा समस्या हुने गर्छ’, बरालले भने ।

 

डिपोमा कर्मचारी राख्न माग

ठेकेदार बरालले डिपो केन्द्रमा कर्मचारी पर्याप्त नहुँदा समस्या भएको दाबी गरे । ‘कर्मचारी नहँुदा एक्लै आफूले ढुवानी गर्न, बिक्री वितरण गर्न सास्ती हुन्छ । चामल पुर्‍याएपछि त्यहाँका स्थानीयले समन्वय गर्दैनन् । त्यसैले समस्या देखिएको हो’, बरालले भने ।

ठेकेदारले खाद्यको चामल नपुर्‍याएपछि अहिले उक्त बिक्री केन्द्र वरपरका स्थानीयले बजारको महँगो चामल किनेर उपभोग गर्न बाध्य छन् । सोरु गाउँपालिकामा रहेको सोरुकोट डिपो केन्द्रमा १ हजार क्विन्टल, कालै डिपो केन्द्रमा ११ सय क्विन्टल चामल मौज्दात छ ।

 

यस्तै, पुलु डिपो केन्द्रमा १ सय क्विन्टल मात्र मौज्दात छ भने शाखा कार्यालय गमगढी बजारमा ३ हजार क्विन्टल मौज्दात रहेको सूचना अधिकारी भामले बताए । यी ४ मध्ये ३ वटा डिपोमा पर्याप्त चामल पुगेको छ भने रातापानी १ वर्षदेखि रित्तो अवस्थामा छ ।

 

कोरोनाले हातमुख जोड्न सकस

पछिल्लो समय मुगुलाई पनि कोरोनाले लपेटेपछि दैनिक उपभोग्य वस्तुको हाहाकार हुन थालेको छ । मुगुका स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा खेतीयोग्य जमिन बढी छ । अन्य स्थानीय तहमा सरदर ६ महिनासम्म खान पुग्छ भने खत्याडमा स्थानीय उत्पादनले ८ महिनासम्म थेग्छ ।

 

सरकारी स्वामित्वको खाद्य संस्थानको चामल अनुदानको कोटामा दिइए पनि खत्याडबासीले यो सुविधा उपभोग गर्न पाएका छैनन् ।

 

कोरोनाका कारण दैनिक खाद्यान्न जुटाउन गाह्रो परिरहेको स्थानीयको गुनासो छ । निषेधाज्ञाका कारण बजारको सामानमा भाउ अचाक्लिएको छ । पछिल्लो समय शाखा कार्यालय गमगढी बजारमा चामल लिन दैनिक ४० देखि ५० जनासम्म आउने गरेको भामले जानकारी दिए । palikakhbar

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:18:13 PM  |