कोहलपुर ।
एक महिनादेखि बाँके जिल्लामा जारी निषेधाज्ञाको अवधी थप एक साता बढाइएको छ । दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले गत बैशाख १३ गते रातीदेखि निषेधाज्ञा जारी गरेको थियो ।
पछिल्लोपटक थपिएको निषेधाज्ञा सोमबार राती १२ बजेपछि सकिदै थियो । तर सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक सूचना जारी गरेर जेठ १७ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा बढाएका हुन् ।
आइतबार मात्र बसेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको बैठकले जिल्लामा निषेधाज्ञाको अवधि थप एक साता बढाउन सिफारिस गरेको थियो । सोही निर्णयको आधारमा प्रमुख जिल्ला अधिकारी गेलालले निषेधाज्ञाको अवधी एक साताको लागि पाँचौं पटक थप गरेका हुन् ।
कोरोनाको जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रजिअ गेलालले जानकारी दिए । बाँकेमा पाँचौँपटक निषेधाज्ञा बढाइएको हो । जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ ।
नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै प्रकारका सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । यस्तै अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न पनि निषेध गरिएको आदेशमा उल्लेख छ ।
दैनिक उपभोग्य वस्तुका पसल भने बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघिकै निर्णयअनुसार अहिले अब अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न पाइने र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । पछिल्लो समय बाँकेमा निषेधाज्ञाको पालना भने खासै भएको पाइदैन ।
खासगरी बजार क्षेत्रमा बिहान साँझ मानिसहरुको भिडभाड लाग्ने गरेको छ । यसैबीच निषेधाज्ञाको समयमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंक (ए.टि.एम. लगायत सीमित संख्यामा कर्मचारीद्धारा दैनिक बढीमा ३ घण्टा) जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य (कामदारहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डसहित निर्माण स्थलमै राख्ने गरि सञ्चालन गर्न पाइनेछ ।
एम्बुलेन्स, शव वहान, दमकल, झण्डावाला सवारी र नीलो (कूटनीतिक) प्लेटका सवारी साधनहरु, लामो दुरीका सवारी तथा मालवाहक साधनहरु, निर्माण साम्रगी ढुवानीका साधनहरु, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका साधन र अनुमती प्राप्त सवारी साधनहरु सञ्चानलमा आउन पाउने जारी आदेशमा उल्लेख गरिएको छ ।
आइतबार बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना तयार गरी समन्वयत्मक रुपले परिचालित हुने निर्णय समेत गरेको थियो । आदेशको अवज्ञा वा अवहेलना गर्ने तथा काममा बाधा पु¥याउने व्यक्तिलाई कानून बमोजिम कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्