20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा बढाइयो निषेधाज्ञा, बर्दियामा समेत निषेधाज्ञा बैशाखभरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८  

कोहलपुर ।

बाँके जिल्लामा जारी निषेधाज्ञाको अवधि थप एक साता बढाइएको छ । सोमबार राती १२ बजेसम्म रहेको निषेधाज्ञाको अवधि थप एक साता बढाइएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गरेर निषेधाज्ञाको अवधि थप एक साता लम्ब्याइएको जनाएको थियो । कोरोना संक्रमण दर बढ्दो क्रममा नै रहेकोले निषेधाज्ञाको अवधि थप एक साता बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिनप्रतिदिन संक्रमितहरूको संख्या बढिरहेको अवस्थालाई विश्लेषण गर्दै वैशाख २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको उनले बताए । यसअघिकै निर्णयअनुसार अहिले अब अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न पाइने र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बर्दियामा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरी

यसअघि बाँकेका बैशाख १३ गते राती १२ बजेदेखि बैशाख २० गते राती १२ बजेसम्म लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो । यो अवधिमा समेत जिल्लामा कोरोना संक्रमणको दर बढिरहेपछि स्थानीय प्रंशासनले थप एक साता निषेधाज्ञाको अवधि थप गरेको
हो । ‘अहिले पनि संक्रमण दर नघटेका कारण मानिसको मुभमेन्ट रोक्न जारी निषेधाज्ञा लम्ब्याएको हो’ प्रजिअ गेलालले भने, ‘जिल्लामा अझै कोरोनाको जोखिम कम होइन, बढिरहेको छ ।’

बाँकेमा अहिले दिनप्रतिदिन नयाँ संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ । यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका सेवा तथा कार्यहरु, सवारी साधन, पसल व्यवसाय, हाट बजार सञ्चालन र अत्यावश्यक काम बाहेक हिडडुलमा समेत निषेध गरिएको छ ।

दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दुध, ग्यास) का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञाको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

बर्दियामा बैशाखभरी निषेधाज्ञा

कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले थप १२ दिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना नहुँदा एक सातामा करिब तीन सय कोरोना संक्रमित थपिएपछि शुक्रबार बेलुकी प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सुरक्षा समिति लगायत सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । अब बर्दियामा बैशाख महिनाभरी निषेधाज्ञा जारी भएको छ । अत्यावश्यक सेवा र विकास निर्माणबाहेक सबै यातायातका सवारी साधन बन्द रहने भएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा अपिल गरिएको छ । अनावश्यक रुपमा घर बाहिर निस्कनेमाथि कारबाही गरिने प्रजिअ सुनारले जानकारी दिए । आवश्यक काम परे अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने उनले बताए । विवाह, व्रतबन्ध, पूजा, दाहसंस्कारका काममा बढीमा १० जना सहभागी हुन पाउनेछन् ।

विवाहमा २ वटा सानो गाडी वा ठूलो गाडीमा दस जना बढी नराख्ने गरी प्रयोग गर्ने निर्णय गरिएको छ । यसअघि आंशिक रुपमा वैशाख १३ गते १९ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको थियो । निषेधाज्ञा खुकुलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो । मानिस खुलेआम भीडभाड हुने ठाउमा घुमफिर गर्ने, बजारका पसल खुला भएको, सार्वजनिक र निजी सवारी साधन निर्वाध सञ्चालनमा आएका थिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८     9:40:18 AM  |