16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

काठमाडौँ,(रासस): विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उहाँहरूले महासङ्घका सदस्य र सम्पादकमात्र नभएर सञ्चार उद्यमीसँग निरन्तर संवाद गरेमात्र श्रमजीवी पत्रकारको समस्या समाधान हुने बताउनुभएको हो । कार्यक्रममा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पत्रकार महासङ्घमा व्यावसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुशीको कुरा भएको बताउँदै महासङ्घले श्रम सुरक्षासँगै व्यावसायिक दक्षतामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

इकागज डटकम अनलाइन मिडियाका प्रधान सम्पादक हरिबहादुर थापाले श्रमजीवी पत्रकारका समस्याका बारेमा महासङ्घ चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । महासङ्घ चुप लागेर बस्दा कतिपय विषय पूरा हुन नसक्ने उहाँको भनाइ थियो । रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले महासङ्घ, सम्पादक र पत्रकारबीच ‘मिस कम्युनिकेसन’ हुँदा पत्रकारका समस्या समाधान हुन नसकेको बताउनुभयो ।

नेपाल बहस डटकम अनलाइनका प्रधान सम्पादक चेतन अधिकारीले पत्रकार महासङ्घ व्यावसायिकभन्दा पनि राजनीतिक चरित्रको भएको बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारका लागि महासङ्घले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     8:12:18 PM  |