20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

कोहलपुर नगर शिक्षा शाखामा तालाबन्दी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८  

कोहलपुर ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेले कोहलपुर नगर शिक्षा शाखामा तालाबन्दी गरेको छ । गत चैत्र २६ गते अनेरास्ववियू राखेका माग प्रति कोहलपुर नगर शिक्षा शाखा उदासिन देखिएको भन्दै कार्यालय प्रमुखको कोठामा तालाबन्दी गरिएको हो ।

त्यति बेला अनेरास्ववियूले विभिन्न पाँच बुँदे माग राख्दै नगर शिक्षा शाखाको ध्यानाकर्षण गरेको थियो ।

तर एक साता बितिसक्दा समेत मागको सुनुवाई नभएको र वार्तामा समेत नबोलाइएको भन्दै पहिलो चरणको आन्दोलन अन्तर्गत तालाबन्दी गरिएको अनेरास्ववियू बाँकेका अध्यक्ष दिनेश केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त पत्र मार्फत आफ्ना माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

यदि ताला फोड्ने कोशिस गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्ष नै हुनुपर्ने जनाइएको छ । चैत्र २६ गते नगर शिक्षा प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले माग पुरा गर्न सात दिने अल्टिमेटम समेत दिएको थियो ।

नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरुले लकदारनको अवधिमा लिएको शुल्क तत्काल फिर्ता गर्ने, विद्यार्थीहरुलाई पठन पाठनको समयमा कोरोनाबाट स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइएको शैक्षिक संस्थाहरुलाई कारबाही गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप पठन पाठन संचालन गर्ने, सवारी साधनको क्षमता भन्दा बढी विद्यार्थी बोक्ने शैक्षिक संस्थालाई कारबाही गर्ने, भौतिक मापदण्ड पुरा भएका शैक्षिक संस्थाहरुलाई मात्र अनुमती प्रदान गर्ने र भौतिक मापदण्ड पुरा र यस कोहलपुर नगरशिक्षाले वर्ष भरी गरेका गतिविधिहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखिएको थियो ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     9:33:08 AM  |