समृद्धिका लागि उद्योग क्षेत्रको विकास हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । कुनैपनि क्षेत्रको व्यवसायिक विकासको लागि उद्योग क्षेत्रको विकास र विस्तार आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका हुन् । उद्योगको विकासको लागि निजी क्षेत्र र सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको पनि उनीहरुको भनाइ छ ।
आइतबार कोहलपुर उद्योग वाणिज्य संघका ‘नव निर्वाचित कार्यसमितिलाई प्रमाण–पत्र वितरण, सपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम’मा बोल्ने अधिकांश वक्ताहरुले निजी क्षेत्रमा राजनीतिकरणको अन्त्य हुनुपर्ने बताएका थिए । उक्त अवसरमा बोल्दै उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले कुनै पनि देश विकसित र समृद्ध बन्न उद्योगको संस्थागत विकास हुनुपर्ने
बताए ।
देशमा हरेक क्षेत्रमा राजनीति हुने गरेको भन्दै उनले विकास र औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिकरण गर्न नहुनेमा जोड दिए ।
उनका अनुसार व्यवसायीको उद्देश्य नाफा मात्रै होइन सामाजिक उत्तरदायित्व बोध पनि हुनुपर्छ । रोजगारी र उद्यमशिलता प्रमुख लक्ष्य हुनुपर्ने उनको भनाइ छ । ‘व्यवसायिक क्षेत्र आफैमा आर्थिक हो । यस क्षेत्रको विकासका लागि एकता आवश्यक छ । हामी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ । हाम्रो क्षेत्रको विकास नै मुख्य लक्ष्य हुनुपर्छ । ’ प्रदेश अध्यक्ष शर्माले भने ।
उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चक्रबहादुर अधिकारीले आफ्नो कार्यकालमा कोहलपुरमा उल्लेखनीय काम भएको बताए । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका उनले आफ्नो कार्यकालमा संघलाई केन्द्रसम्म चिनाउन महत्वपूर्ण कार्य भएको र पुरस्कृत समेत हुन सफल भएको जानकारी दिए । उनका अनुसार तीन वर्षको अवधिमा कोहलपुर उद्योग वाणिज्य संघले देशभरका सम्पूर्ण संघसँग भगिनी सम्बन्ध कायम गर्न सफल भएको छ ।
केन्द्रीय सदस्य अधिकारीले आफ्नो कार्यकालमा तीन वटा रणनीतिक कार्य भएको समेत बताए । आफ्नो कार्यकालमा संघको ३ करोड लागतमा बहुआयमिक भवन निर्माण, हाट बजार सञ्चालन तथा औद्योगिक क्षेत्र विस्तारका लागि कार्य भएको उनले बताए । नयाँ पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै उनले संघलाई व्यवसायीमुखी बनाउन सुझाव दिएका थिए । ‘म सम्पूर्णलाई उद्योग वाणिज्य संघलाई स्वतन्त्र आँखाले हेरिदिन आग्रह गर्दछु । राजनीतिक आँखाले नहेरिदिनुहोला ।
नयाँ समितिले प्रतिबद्धता अनुसार काम गरोस । अविर र फूलमाला ओज र बोझ दुवै हो । तपाईहरुको क्रियाशिसला महत्वपूर्ण हो ।’ अधिकारीले भने । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष लक्ष्मणराज पौडेलले व्यवसायीका माझ चुनावका बेला गरिएका प्रतिबद्धता अनुसार अघि बढेको बताए । उनका अनुसार कोहलपुर क्षेत्रका व्यवसायीहरुको हकहितका लागि सम्पूर्ण पक्षसँग सहकार्य र समन्वय गरेर अघि बढिनेछ । आफ्नो तीन वर्षे कार्यकाल स्वर्णीम बनाउनको लागि नयाँ का पनि थुपै्र गरिने प्रतिबद्धता व्यक्त गरे ।
‘कोहलपुरको व्यवसायिक क्षेत्रको विकासका लागि म सबैलाई एकताबद्ध बनाएर जानेछु । यस क्षेत्रको विकास मेरो जिम्मेवारी हुनेछ। त्यसको लागि तीन वटै तहका सरकारसँगको समन्वयलाई प्राथमिकता दिइनेछ।’ अध्यक्ष पौडेलले भने ।
नयाँ टिमले सम्हाल्यो कार्यभार
फागुन २२ गते कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचन मार्फत कार्य समिति निर्वाचित भयो । निर्वाचनमा साझा समावेशी व्यवसायी प्यानललाई हराउँदै लोकतान्त्रिक समावेशी व्यवसायी समूह विजयी भएको थियो । नयाँ कार्यसमितिले आइतबार एकसातापछि औपचारिक रुपमा कार्यभार सम्हालेको छ । होटल म्याक्समा आयोजित प्रमाणपत्र ग्रहण तथा सपथग्रहण कार्यक्रममार्फत नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
निवर्तमान समितिका अध्यक्ष चक्रबहादुर अधिकारी र महासचिव तेजप्रसाद अधिकारीले नव निर्वाचित अध्यक्ष, महासचिव र कोषाध्यक्षलाई खाता तथा माइनुटहरु हस्तान्तरण गरेका थिए । यस्तै नयाँ टिमलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । उनीहरुले संस्थाको हक र हितका लागि काम गर्ने भन्दै सपथग्रहण समेत गरेका थिए ।
सो अवसरमा पुरानो समितिका सम्पूर्ण पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । आइतबारबाट सुरु भएको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । यससँगै चुनाव मार्फत संघको नेतृत्वमा आएका लक्ष्मणराज पौडेलको अग्नीपरिक्षा समेत सुरु भएको छ ।