बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भोली शनिवार निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा प्रदिप भट्टराईले उम्मेदवारी दिएका छन् । १६ वर्षभन्दा लामो समयदेखि कोहलपुरमा व्यापार व्यवसाय गर्दै आएका भट्टराईसँग मिसनटुडेन्युज ले गरेको संक्षित कुराकानी ।
…………………………………………………………….
१. कोहलपुर उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?
पछिल्लो समय उद्योग वाणिज्य संघप्रति नैराश्यता हँुदै आएको छ । त्यसैले यहाँका उद्योगी व्यापारीको पेशागत हकहित र संरक्षणको लागि कुशल नेतृत्व प्रदान गर्न मैले उम्मेदवारी दिएको हुँ ।
नैराश्यता हटाएर उद्योगी व्यवसायीलाई संघमा आकर्षण बढाउन मेरो प्राथमिकता रहन्छ । साना ठूला, मझौला लगायत सम्पूर्ण उद्योगी व्यवसायीको छाता संगठन कोहलपुर उद्योग बाणिज्य संघ हो भन्ने प्रत्याभुति दिलाउने वातावरण बनाउनेछु ।
व्यवसाय मैत्री र लगानी मैत्री वातावरण सृजना गर्न दबाब सृजना गर्नेछु । राज्यका विभिन्न निकायले छानविनको नाममा दुःख दिने गरेकोले उहाँहरुको दुःख आफ्नो सम्झेर त्यसको निकारणको लागि काम गर्छु । संघमा गएर यी लगायतका काम गर्नको लागि मेरो उम्मेदवारी रहेको हो ।
२. तपाईलाई वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायीहरुले किन भोट हाल्ने ?
म त १६ वर्षभन्दा बढि समयदेखि यही क्षेत्रमै व्यवसायमा आबद्ध छु । संघको नेतृत्व गर्न म चाहान्छु । म त एउटा शुद्व व्यापारी हुँ ।
व्यापारीका पिर मर्का, उद्योग तथा व्यवसायिक क्षेत्रका समस्याहरुलाई मैले नजिकबाट पहिचान गरेको छु, भोगेको छु, बुझेको पनि छु । यो भन्दा अगाडी संघको कार्यसमिति सदस्य र उद्योग तर्फको उपाध्यक्ष भई काम गरी सकेको छु ।
पदमा हुँदा गर्न अपुरा कामहरु वरिष्ठ उपाध्यक्ष भएर पुरा गर्ने सपना बोकेको छु । यस पटक पनि व्यवसायीहरुले संघको जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास लिएको छु । मेरो कर्मक्षेत्र उद्योग व्यापार भएकाले यस क्षेत्रका समस्याहरुको समाधान गर्ने मेरो प्रमुख उद्देश्य हो ।
यहाँका व्यापारीका हक र अधिकार स्थापित गराउनेका लागि मलाई व्यवसायीहरुको भोट आवश्यक छ । किनभने जुनखालका समस्या यहाँका उद्योगी व्यवसायीले झेल्दै आएका छन् । त्यसलाई सम्बोधन गर्नका लागि व्यवसायीहरुले हामीलाई जिताउनु हुनेछ भन्ने आत्मविश्वास हाम्रो टिममा छ ।
३. निर्वाचन जितेर संघमा गएपछि के गर्ने योजना बनाउनुभएको छ ?
आगामी दिनमा कोहलपुर उद्योग बाणिज्य संघको नेतृत्व गर्ने लक्ष्य लिएको छु । कोहलपुरलाई थप आकर्षण र सुविधासम्पन्न बनाउनका साथै औद्योगिक क्षेत्रको विकास गर्नका लागि सबैसँग सहकार्य गरी अगाडि बढ्छौं ।
संघमा गएर भारतीय सीमा बजारको निर्भरता हटाउने अभियान थाल्ने छु । खासगरी भारतीय सीमाबजारले कोहलपुरको व्यवसायलाई नराम्रोसँग प्रभावित बनाएको अवस्था छ । भारतीय सीमा बजार रुपैडिया बजारप्रतिको निर्भरता न्युनिकरण गर्ने म र मेरो समूहको योजना हो । व्यवसायीहरु कर शिक्षा नहुँदा विभिन्न समस्यामा पर्दै आएका छन् ।
त्यसका कारण उद्योगी व्यवसायीलाई कर शिक्षा प्रदान गर्ने तालिम सञ्चालन गर्ने अभियान नै चलाउने छु । यी लगायतका धेरै योजनाहरु मसँग रहेका छन् । उद्योगी व्यवसायीले सरकारको ठोस नीति नभएकाले व्यर्होनुपर्ने कानुनी समस्याका बारेमा पनि समाधानका गर्ने प्रयास हुनेछ ।
४. निर्वाचन आउन अब २४ घण्टा पनि बाँकी छैन ? अहिलेसम्म मतदाताको घरदैलोमा जाँदा कस्तो प्रतिक्रिया पाउनुभयो ?
उद्योगी व्यवसायी साथिहरुले नयाँ नेतृत्वको लागि मत हाल्ने समय आउन अब केही घण्टा बाँकी मात्र छ । हाम्रो चुनावको प्रचार प्रसार निकै उत्साहपूर्वक रुपमा भयो । यो समयमा बिहानदेखि बेलुकासम्म हाम्रो टिम मतदाता भेटघाटमा व्यस्त रह्यौं । व्यवसायीसँग मत माग्न जाँदा उहाँहरुको सकारात्मक प्रतिक्रिया पायौं ।
हामीले प्रचार प्रसारका क्रममा व्यवसायी साथिहरुलाईसाथ र सहयोगका लागि समेत अनुरोध गरेका थियौं । हामीलाई विशेष गरी यस क्षेत्रका व्यापारीहरुको साथ रहेको छ । म शुद्ध व्यापारी भएकाले यस पटक शुद्ध व्यापारीलाई जिम्मेवारी दिनेछन् भन्ने विश्वास लिएको छु ।
५. अन्त्यमा आम मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
उद्योगी, व्यवसायी मतदाताहरु सचेत र सजग हुनुहुन्छ । उहाँहरुले उद्योगी, व्यवसायीहरुको हकहितका लागि काम गर्न सक्ने र यो उद्योग वाणिज्य संघलाई व्यापक बनाउने क्षमता भएको समूहलाई चुन्दै हुनुहुन्छ भन्ने आशा रहेको छ ।
त्यस्तो क्षमता भएको नेतृत्व लोकतान्त्रिक समावेशी व्यवसायी समूहसँग छ भन्ने कुराहरु सम्पूर्ण मतदाताहरुको निष्कर्ष रहेको पाएको छु । म उद्योग व्यवसायका क्षेत्रमा कोहलपुरमा संघर्ष गर्दै आएको छु । यो संघर्ष र आरोह–अवरोधका क्रममा मैले व्यक्तिगत र कोहलपुर उद्योग वाणिज्य संघको माध्यमबाट उद्योगी, व्यवसायीहरुको हकहितका लागी काम गरिरहेको अवगत नै छ ।
संघमा मैले जुन खाले पद प्राप्त गरेको छु त्यसको अहिलेसम्म ईमानदारीपूर्वक काम गरेको छु । त्यसको मूल्यांकन उद्योगी, व्यवसायी ज्यूहरुले पक्कै मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा सम्पूर्ण कोहलपुर उद्योग वाणिज्य संघको भोली हुनु गईरहेको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिँई निर्वाचित गराई संघको विस्तृत विकास गर्न जिम्मेवारी दिनुहुने छ भन्ने विश्वास लिएको छु । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि सबै उद्योगी व्यापारी र सम्पूर्ण संघमा आवद्व सदस्यहरुलाई हार्दिक अपिल गर्छु । धन्यवाद ।