वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज-१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।
उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।
बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
‘बाल विवाह गरेको उजुरी दिने हद म्याद तीन महिनाको हुन्छ, १७ वर्षको केटीसँग बाल विवाह गरेको जानकारी आएपछि उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएका हौं,’ उनले भने, ‘ तराई-मधेसको समाजमा बाल विवाह अत्याधिक हुने गरेको भए पनि उजुरी नआउँदा कारबाहीमा समस्या हुँदो रहेछ । उनले भने जानकारीमात्रै दिए पनि हामी कारबाही गर्छौ ।
बालविवाहको घटना हुन लागेको वा भएको थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सूचना उपलब्ध गराउन पनि प्रहरीले अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ ।यो कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।onlinekhabar.com









प्रतिक्रिया दिनुहोस्