20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पश्चिमबाट औद्योगिक विकासको प्रारम्भ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७७  

नौवस्ता औद्योगिक क्षेत्रको विकास र समृद्धिको यात्रा पश्चिमबाट सुरु भएको सरकारका मन्त्रीहरुले बताए । उनीहरुका अनुसार अब औद्योगिक विकासमा पश्चिम क्षेत्रले फड्को मार्छ । शिलान्यास कार्यक्रमको मुख्य अतिथिका रुपमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले सुरु गरेको औद्योगिक क्षेत्र शिलान्यास सप्ताहव्यापी कार्यक्रम पनि सुदूरपश्चिमबाट शुरुवात गरिएको अवगत गराए । सोमबार प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’को शिलान्यास गरेका थिए । उनले पनि औद्योगिक विकासको शुरुवात पश्चिमबाटै भएको बताएका थिए । उनले पश्चिम क्षेत्र अब सुदूर होइन समृद्ध प्रदेश भन्ने दाबी गरे । उनले सम्बोधन गरिरहेको बेलापनि स्थानीयहरुको अवरोध जारी थियो । उनले स्थानीय तर्फ लक्षित गर्दै रोजगारी र विकासको ठूलो सम्भावना युक्त क्षेत्रको शिलान्यासमा विरोधको साटो समर्थन गर्नुपर्ने तर्क गरे । वर्तमान सरकार जनतालाई भूमि र जग्गा दिनको लागि तत्पर रहेको मन्त्री भट्टले बताए ।

उनका अनुसार सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम १६ गते झापाबाट सकिनेछ । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकले वर्तमान सरकार जनताको हकहितका लागि क्रियाशिल रहेको बताइएकी थिइन् । उनले पनि गौरवको आयोजना निर्माणमा विरोध नभई स्वागत गरिनुपर्ने बताइन् । उनका अनुसार नौवस्ता औद्यागिक क्षेत्रले बाँके र बर्दिया मात्रै नभइ सिंगो लुम्बिनी प्रदेशको विकासमा कोशेढुंगा सावित हुनेछ । शिलान्यास कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले औद्योगिक क्षेत्र निर्माणमा केही जटिलताहरु रहेको भएपनि सबैका माग सम्बोधन गरेर सरकार अघि बढनु पर्ने धारणा व्यक्त गरिन् । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले बाँके जिल्लामा औद्योगिक क्षेत्र निर्माणको काम शुरु हुनु सकारात्मक भएको बताएका थिए ।

तर अहिले राजनीतिक संक्रमणकालीन अवस्थामा दु्रतगतिमा शिलान्यास गरे झैँ परियोजना कार्यान्वयन अग्रसरता देखाउनु पर्नेमा जोड दिए । शिलान्यास कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले सिंगो गाउँपालिकाको आर्थिक र समृद्धिसँग जोडिएको परियोजनामा शिलान्यास कार्यक्रममा गाउँपालिकाबासीको पूर्ण समर्थन हुन नसकेको भन्दै यसमा सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराए । उनले भने,‘ ‘हाम्रो आँगनभित्र आएको औद्योगिक क्षेत्रको जननताले स्वागत गर्न सकेनन् । जनताको आन्दोलन स्वभाविक छ । विरोधलाई मथ्थर गर्न सकेनौ । मन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु, बैजनाथका जनताको माग पुरा गरिदिनु होला । औद्योगिक क्षेत्र बनाउने क्रममा जनताका माग बेवास्ता गरिए राम्रो हुने छैन ।’ यो औद्योगिक क्षेत्र पनि ०७२ चैत १ कै मन्त्रिपरिषद् निर्णयबाट बाँके जिल्लामा विकास गर्न लागिएको हो।
५ सय २५ बिघा क्षेत्रफलमा फैलिने यो औद्योगिक क्षेत्रमा १ सय ११ वटा प्लट हुनेछन् । प्रत्येक प्लटको आकार ९ देखि ३० रोपनी रहनेछ । यसको कुल लागत ८ अर्ब ८८ करोड हुने अनुमान छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७७     11:24:44 AM  |