डिल्ली शाही । कोहलपुर ।
कोहलपुर नगरपालिका–११ चौराह नजिकै लामो दूरीको बसपार्क बनाउन भन्दै पुनः टहराहरु भत्काएको छ । शनिबार कोहलपुर नगर विकासको पहलमा २५ वटा टहराहरु डोजर लगाएर भत्काएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ सहितको सहभागितामा टहराहरुमा डोजर लगाउँदै । तस्बिर : मिसन
त्यहाँ विभिन्न क्षेत्रका व्यापारीहरुले व्यवसाय सञ्चालन गर्दै आएका थिए । नगर विकास समितिले सो क्षेत्र खाली गर्न चारपटक सूचना जारी गरेको दाबी गरेको छ । नगर विकास समितिका अनुसार १५ दिने, ७ दिने, ३ दिने र २४ घण्टे गरी चार पटक सूचना जारी गरेर टहरा भत्काउन आग्रह गरिएको थियो ।
शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ सहितको सहभागितामा ती टहराहरुमा डोजर लगाइएको थियो । यसअघि २०७५ सालमा पनि नगर विकास समितिले १ सय २० वटा टहराहरु भत्काएको थियो । तर तीन वर्षपुगिसक्दा समेत बसपार्क निर्माणको कुनै पहल भएको छैन । फेरी एक्कासी लामोदुरीको बसपार्क बनाउने भनी पुनः भत्काइएको हो ।
यता उक्त क्षेत्रमा व्यवसाय गर्दै आएका प्रेम सिंहले उक्त क्षेत्रमा लामो दुरीको बसपार्क बन्ने हो की होइन थाहा नभएको बताए । ‘अहिले पनि टहराहरु भत्काएका छन्’ उनले भने ‘टहराहरु भत्काएको चिन्ता होइन तर यहाँ लामोदुरीको बसपार्क बन्ने भएपछि हामी टहरा हटाउँछौं ।’‘अहिले तीन वर्ष सम्म के—के भयो थाहा नै छैन त्यसैले दुःखमा छौं’ उनले थपे, ‘के हामीले टहरा राखेकै कारणले कोहलपुरको विकास रोकिएकै हो त ? उनले प्रश्न गरे ।
‘अहिले कोहलपुर नगर विकासले विभिन्न अल्टिमेट आएका थिए तर यहाँ बन्ने लामोदुरीको बसपार्क के कस्तो प्रक्रियामा छ, थाहा नभएको बताए ।’उनले भने ,‘पसल किनेको भर्खरै हो । तर आफ्नो तीन लाख डुव्यो’ यो पैसा डुबेर केही हुँदैन तर यहाँ विकास हुनुप¥यो ।’
यता,कोहलपुर नगरपालिका नगर विकास समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले समृद्ध र विकसित नगरपालिका बनाउने अभियान अन्तर्गत आफू निरन्तर लागि परेको बताए ।
नगरविकास समितिका योजनाहरुलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सबैको सहयोग आवश्यक परेको उनको भनाइ छ । यता कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले ४६ करोडमा लामोदुरीको बसपार्क बन्न लागेको कारणले टहराहरु हटाउनु परेको बताए ।
‘लामो दुरीको बसपार्कको आशय पत्र समेत सूचना प्रकाशन भै सकेको छ,’उनले भने, ‘अब लामोदुरीको बसपार्क अवश्य बन्छ । अब निर्माण व्यवसायीसँग सम्झौताको प्रक्रियामा रहेको उनको भनाई थियो ।
नेपालीका अनुसार लामो दुरीको बसपार्ककका कामहरु हुने भएकोले यहाँको विकास र समृद्धिका लागि अवरोध नगर्न समेत अनुरोध समेत गरे ।
नेपालकै नमूना बसपार्क बनाउने
बाँकेको कोहलपुरमा नेपालकै नमूना लामो दुरीको बसपार्क बनाउने भएको छ । कोहलपुर नगरपालिकाले ४६ करोडमा लामो दुरीको नेपालकै नमूना बसपार्क बनाउन लागेको हो ।
पहिले यसलाई ५३ करोडमा निर्माण गर्ने भनिएकोे थियो तर नगरपालिकाको आन्तरिक श्रोतबाट नपुग्ने भएपछि लगभग ७ करोड कम हुने देखिएको छ । चौराहा नजिकै रहेको अत्याधुनिक सुविधा सहित लामो दुरीको बसपार्क निर्माण हुने स्थान कोहलपुर नगरपालिका प्रमुख र कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहेका रावतले कोहलपुर नगरपालिका र नगर विकास समिति बीच २५ वर्षका लागि लिज सम्झौता भैसकेको बताए ।
उनका अनुसार सम्झौता भएपछि नगर विकासको ऋण सहयोगबाट कोहलपुर नगरपालिकाले नेपालकै नमूना बसपार्क बनाउने प्रक्रिया शुरु भएको हो । कोहलपुर नगर विकास समितिको बोर्ड बैंठकले कोहलपुर नगरपालिकालाई २५ वर्षका लागि लिजमा दिने भनी निर्णय समेत गरिसकेको छ । सोही निर्णय अनुसार कोहलपुर नगर विकास समितिसँग कोहलपुर नगरपालिकाले सम्झौता गरेको हो ।
रावतका अनुसार कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्र्तराष्ट्रि«य बसहरु समेत सञ्चालन हुने बताए । बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्सको समेत व्यवस्था हुनेछ उनले भने ।
यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले कोहलपुर नगरपालिकाले बनाउन लागेको अत्याधुनिक बसपार्कबाट आन्तरिक आय श्रोत बढ्ने बताए । यहाँ बनाइएका सटर, सपिङ कप्लेक्स, बसपार्क पाकिङ्ग तथा अन्य विभिन्न आय श्रोतले कोहलपुरको आर्थिक रुपमा निकै अगाडि बढ्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्