कृष्ण ओली । कोहलपुर ।
राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापामगरको हत्याको अनुसन्धान गर्न सीआईबीको टोली बाँके पुगेको छ । केही दिनअघि मात्र काठमाडौंबाट केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) बाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली बाँके आएको हो । सीआईबी स्रोतका अनुसार टोलीमा एक प्रहरी निरीक्षक, एक प्रहरी नायब निरीक्षक र एक प्रहरी सहायक निरीक्षक रहेका छन् ।
सीआईबीका प्रहरी निरीक्षकको टोलीले केही दिनयता थापामगरको हत्याको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । बाँके प्रहरीले समेत अनुसन्धान गरिरहेकै बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानको लागि भन्दै सीआईबीको बिशेष टोली बाँके पठाएको हो । सीआईबीको टोलीले बाँके प्रहरीको सहयोगमा हत्या प्रकरणबारे अहिले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले प्रविणको हत्याको अनुसन्धान अहिले सीआईबीको टोलीले गरिरहेको बताए ।
‘एक सातादेखि सिआईबीको टोलीले समेत सबै पाटोबाट अनुसन्धान गरिरहेको छ’ उनले भने, ‘घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै पत्रकार सम्मेलन गरी घटनाबारे बिस्तृत जानकारी दिन्छौं ।’ माघ २ गते बिहान नेपालगन्ज उप–महानगरपालिका १८ लग्दहवास्थित तोरीबारीमा सहायक सूचक प्रविणको हत्या गरि फालिएको अवस्थामा शव भेटिएको थियो । हत्या गरिएका प्रविण नेकपा बाँकेका नेता डम्बर थापाका छोरा हुन् । एक मात्र छोराको हत्या भएपछि परिवार शोकमा अझै डुबेको छ । हत्या गरेको अवस्थामा शव फेला परेसँगै बाँके प्रहरीले अनुसन्धानका लागि केही ब्यक्तिलाई तत्काल पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये केहीले व्यक्तिहरुले हत्यामा संलग्न रहेको भन्दै बयान दिएको यसअघि बाँके प्रहरीले दाबी गरेको थियो । तर, अनुसन्धान जारी राखेको सीआईबीको टोलीले हत्याको कारण र संलग्न फरक अनुहार बाहिर ल्याएको छ । ‘केही ब्यक्तिलाई अनुसन्धानका लागि ल्याएका थियौं । उनीहरुमध्ये केहीले प्रविणको हत्यामा संलग्न रहेको बयान समेत दिएका थिए’ सुरुदेखि नै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘पछिल्लो अनुसन्धानले हत्याको कारण र संग्लनहरु समेत फरक देखिएको छ ।
अहिले सोही अनुसार अनुसन्धान अगाडि बढेको छ ।’ सीआईबी टोलीको अनुसन्धान अनुसार हत्यामा आधा दर्जन बढी युवाहरुको संग्लनता देखिएको छ । ‘सीआईबीको अनुसन्धान अनुसार आधा दर्जन बढीको संग्लनता देखिन्छ’ बाँके प्रहरी स्रोतले भन्यो, ‘त्यसमध्ये तीन जना पक्राउ परेका छन् । अन्यको खोजी तिव्र पारिएको छ ।’ सीआईबीको अनुसन्धानले लागूऔषध प्रयोगकर्ताहरुले नै सामान्य विवादमा सहायक सूचकको हत्या गरेको खुलेको छ ।
बाँके प्रहरीको अनुसन्धानले भने घरायासी कारणले उनको हत्या गरेको खुलेको थियो । नयाँ अनुसन्धान अनुसार बिहीबार मात्र सीआईबीको टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ६ का १८ बर्षीय विवेक परियार पक्राउ गरेको छ । उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको थियो । अझै पनि सीआईबीको टोलीले हत्याको घटनालाई राजनीतिक, तस्करी, दुस्मनीको लगायतका कोणबाट अनुसन्धान गरिरहेको छ ।
सीआईबीका प्रमुख सहकुल थापाले चार जना मिलेर प्रविणको हत्या गरेको दाबी गरे । ‘गाँजा खाइरहेको बेलामा प्रविण आएर हस्तक्षेप गर्न खोजेपछि सबै जना मिलेर हत्या गरेका हुन्’ उनले भने । हत्या गरिएका प्रविणको टाउकोका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको जस्तो घाउ, शरिरभरी निलडाम रहेको थियो । उनले प्रयोग गर्ने मोटरसाइकल घटनास्थल नजिकै आँप बगियामा फेला परेको थियो ।









प्रतिक्रिया दिनुहोस्