25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य, निकालियो बयलगाडा जुलुस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २७, २०७७  

नेपालगन्ज ।

आइतबार बाँकेसहित देशका विभिन्न जिल्लाहरुमा संसद विघटनको विरोधमा बयलगाडासहित जुलुस निकालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा विद्यार्थीहरुले बयलगाडासहित जुलुस निकालेका हुन् ।

नेकपा प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूको अगुवाईमा बाँकेको नेपालगन्जसहित देशका विभिन्न स्थानमा बयलगाडासहित जुलुस निकालिएको थियो । आइतबार नेपालगन्जमा अनेरास्ववियू बाँकेले प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै बयलगाडासहित विरोध प्रदर्शन गरेको हो ।

नेपालगन्जको विपी चोकबाट सुरु भएको बयलगाडासहितको जुलुस धम्बोझी चोकमा पुगेर समापन भएको थियो । कोण सभामा बोल्ने विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै देशमा अस्थिरता निम्ताएको बताएका थिए ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै अनेरास्ववियूले आइतबार देशभर बयलगाडासहित प्रदर्शन गरेको थियो ।

काठमाडौंमा बयलगाडाको सांकेतिक प्रदर्शन गरिएको थियो । बाँकेको नेपालगन्जसहित तराई मधेसका जिल्लाहरुमा भने गोरु र राँगाले तानेको वास्तविक बयलगाडा नै सडकमा निकालिएको थियो । विद्यार्थीहरुले त्यसमा ‘जाउँ है अमेरिका’ लेखेका थिए । यसैबीच बर्दियाको बाँसगढीमा समेत बयलगाडासहित प्रदर्शन गरिएको थियो ।

अनेरास्ववियू बर्दियाको आयोजनामा केन्द्रीय कार्यक्रम अनुसार नै संसद विघटनको विरोधमा बयलगाडासहित जुलुस निकालिएको अनेरास्ववियू बर्दियाका सह–संयोजक रेशम अधिकारीले जानकारी दिए ।

बाँसगढीमा रहेको शहिद स्मृती भवनदेखि सुरु भएको जुलुस बाँसगढीको मेन चोक, इलाका प्रशासन कार्यालय बाँसगढी हुँदै फेरी मेन चोकमा नै पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै साविक अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष नरेन्द्र न्यौपानेले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै उनको चर्को विरोध गरेका थिए ।

असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले विभिन्न चरणमा आन्दोलन गरिरहेको छ । उसले तत्काल संसद् पुनर्स्थापित नभए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियूले चेतावनी दिइसकेको छ । बयलगाडासहित जुलुस निकाल्ने क्रममा देशका कतिपय स्थानमा भने प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रकाशित मितिः सोमवार, पुस २७, २०७७     10:58:05 AM  |