बाँकेमा पहिलोपटक भीड नियन्त्रणको लागि अत्याधुनिक ‘वाटर क्यानन’ ल्याइएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेमा रहनेगरी एउटा अत्याधुनिक ‘वाटर क्यानन’ पठाएको हो ।
केही दिनअघि मात्र काठमाडौंबाट जिल्लामा एउटा ‘वाटर क्यानन’ आइपुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।
‘बाँकेमा पहिलोपटक ‘वाटर क्यानन’ आइपुगेको हो’ उनले भने, ‘आन्दोलन वा प्रदर्शन हुँदा पानीको फोहोरा हान्न यसको प्रयोग हुन्छ ।’ अत्याधुनिक ‘वाटर क्यानन’ सहित चालक र अपरेटर गरेका दुई जना तालिमप्राप्त जनशक्ति समेत आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा रहने ‘वाटर क्यानन’ लाई आवश्यकता अनुसार अन्य जिल्लामा समेत परिचालन गर्न सकिने बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । ‘बाँकेमै रहने गरी ‘वाटर क्यानन’ आएको हो’ उनले भने, ‘आवश्यकता अनुसार कर्णाली प्रदेश र आसपासका जिल्लामा समेत भिड नियन्त्रणको लागि परिचालन हुनेछ ।’
यसअघि बाँके लगायतका जिल्लाहरुमा हुने आन्दोलन तथा प्रदर्शनहरुमा ‘वाटर क्यानन’ नहुँदा प्रहरीले एकै पटक लाठी चार्ज वा अश्रुग्यास हान्ने गरेको थियो ।
अब आन्दोलन तथा प्रदर्शन नियन्त्रणको लागि ‘वाटर क्यानन’ बाट पानीको फोहरा हान्न सकिने प्रहरी नायब उपरीक्षक खड्काले बताए । ‘वाटर क्यानन’ आएसँगै आन्दोलन तथा प्रदर्शनमा हुने भीड नियन्त्रणको लागि एकैपटक बल प्रयोग गर्नुपर्ने बाध्यता कम हुने बाँके प्रहरीले विश्वास लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले ‘वाटर क्यानन’ को ७ हजार ४ सय लिटर पानी अट्ने क्षमता रहेको जानकारी दिए । ‘हामीकहाँ आइपुगेको ‘वाटर क्यानन’ पाँच वटा सीसीक्यामेरा जडित अत्याधुनिक हो’ उनले भने, ‘भीड नियन्त्रणको लागि १ सय मिटरसम्म पानीको फोहरा हान्न सक्छ ।’
अत्याधुनिक ‘वाटर क्यानन’ सडकमा प्रदर्शनकारीहरुले गरेको अवरोध समेत हटाएर अगाडि बढ्न समेत सक्नेछ । बाँकेमा ल्याइएको ‘वाटर क्यानन’ मा भीडमा सहभागीको पहिचान हुन सहज होस् भन्न प्रयोग गरिने विभिन्न रङयुक्त फोहरा प्रयोग गर्नको लागि तीन वटा ट्याकी समेत रहेका छन् ।
‘वाटर क्यानोन’ मा ‘अपर क्यान’ र ‘लोअर क्यान’ रहेका छन् । ‘अपर क्यान’ मा १०० मिटरको दूरीसम्म र ‘लोअर क्यान’ मा ३० मिटरको दूरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा रहने ‘वाटर क्यानन’ बाँकेसहित, बर्दिया, दाङ र कर्णाली प्रदेशमा हुने आन्दोलन र प्रदर्शनमा प्रयोग गर्नेगरी पठाएको हो । अहिले लुम्बिनी प्रदेशको बुटवलमा रहेको प्रहरीको तालिम केन्द्रमा मात्र एउटा पूरानो ‘वाटर क्यानन’ रहेको छ ।
के हो वाटर क्यानन ?
स्थानीय प्रशासन ऐन, २०२८ मा प्रहरीले जुलुस, भीड नियन्त्रणका लागि पहिले पानीको फोहोरा हान्नु पर्ने व्यवस्था गरेको छ । सोही अनुरुप भीडलाई तितरवितर बनाउन वाटर क्यानन प्रयोग हुँदै आएको अनलाइनखबरले उल्लेख गरेको छ । अश्रुग्यासबाट मानिसहरु घाइते र बिरामी हुन सक्ने भएकाले पनि वाटर क्याननको प्रयोगलाई राम्रो मानिन्छ ।
यसले निश्चित क्षेत्रमा तीब्र गतिमा पानी फ्याल्ने गर्छ । वाटर क्यानन पहिलो पटक सन् १९३० मा जर्मनीमा दंगा नियन्त्रणका लागि प्रयोग भएको थियो । त्यसयता विश्वका विभिन्न देशका प्रहरी संगठनले यसको प्रयोग गर्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्