प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात आइतबार बिहानै मन्त्रीपरिषद्बाट संसद विघटनको सिफारिस गरे । त्यसको केही घण्टा मै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस अनुमोदन गर्दै मध्यावधि चुनावको मिति तोकिन् ।
दुई तिहाइ बहुमतसहितको सरकारका कार्यकारीले गरेको निर्णयले एकाएक देशको राजनीति तातेको छ । लामो समयदेखिको नेकपा विवादको असर संसद विघटन देखि चुनावको मिति घोषणासम्म आइपुगेको हो । यसले नेकपामा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल गुट स्पष्ट रुपमा देखा परेको छ । नेकपा फुटको संघारमा उभिएको छ ।
नेकपाको केन्द्रीय तहको विवादको असर सोमबार बाँकेमा समेत देखियो । सोमबार कोहलपुरको एक होटलमा प्रधानमन्त्री ओली पक्षका नेता कार्यकर्ताहरुले भेला गरेका थिए । भेलालाई सम्बोधन गर्ने अधिकांश ओली गुटका नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको चर्को आचोलना गरे ।
भेलालाई सम्बोधन गर्ने सबै नेताहरुको एउटै जोड थियो, तत्कालिन नेकपा एमाले ब्युताउने, जबजलाई पार्टीको मुख्य एजेण्डा बनाउने र चुनाव चिन्ह सुर्य लिएर जनता माझ जाने । भेलामा बोल्दै नेकपाका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले वर्तमान सरकारले राम्रो काम गर्दै आएको भन्दै प्रतिक्रियावादीहरुले असफल बनाउने षडयन्त्र गरेको दाबी गरे ।
नेकपा बाँके इन्चार्ज समेत रहेका उनले सहभागीहरुलाई नेकपालाई फुटबाट बचाउने भन्दा पनि तत्कालिन नेकपा एमाले ब्युताउनेमा जोड दिए । उनले भने, ‘पार्टी एकतादेखि नै पूर्व माओवादी र पूर्व एमालेको बीचमा सहयोग तथा समन्वयको वातावरण थिएन । हाम्रो भावनात्मक मेल अहिले पनि भएको छैन ।
अनि पार्टी कसरी एक भयो ।’ दुई वर्षसम्म नेकपा बाँकेको जिल्ला कमिटीको बैठक बस्न नसक्नु त्यसको उदाहरण भएको पनि उनले प्रस्ट्याए । यादवका अनुसार नेकपामा अहिले देखिएको विवाद पार्टी फुटको अवस्थामा पुगिसकेको छ ।
आगामी निर्वाचनमा केपी ओलीको नेतृत्वमा नेकपा एमालेको नाम र सुर्य चिन्ह लिएर जनताका माझ जाने उनको भनाइ थियो । केपी ओलीले देशमा धेरै लोकप्रिय काम गरेको उनको जिकिर थियो । उनले सबै पूर्व एमालेहरु एकजुट हुन समेत आह्वान गरे ।
यस्तै नेकपाका केन्द्रीय सदस्य देवराज भारले ओली इतर पक्षहरु झुट नै झुटका पुलिन्दाहरु मात्रै भएको आरोप लगाए । संविधानसभा सदस्य समेत रहेको उनी भन्छन्, ‘नेकपा फुटीसक्यो । अब नेकपा एमाले ब्युतियो । चुनाव चिन्ह सुर्य लिएर नयाँ जनमतमा जान्छौं । हामी विजयी हुन्छौं । अब चुनावको तयारी गरौ ।’ उनले प्रचण्ड – नेपालको चर्को विरोध पनि गरे ।
भारले केपी ओलीले त्याग गर्छ भन्दा भन्दै पनि हटाउन खोज्नु राम्रो कार्य नभएको बताए । उनले नेकपा एकता भन्दा नेकपा एमाले व्युताउने कुरामा धेरै जोड दिएका थिए । उनले सोही अनुसार तयारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
भेला सुरु भएको केही समयपछि नेकपाको जनवर्गीय संगठन अनेरास्वीयूका विद्यार्थी नेताहरुको समेत सहभागिता रहेको थियो । उक्त भेलामा केपी ओली पक्षका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै अनेरास्वीयूका संयोजक ऐन महरले नेकपा संकटको प्रमुख कारण प्रचण्ड रहेको आरोप लगाए । उनका अनुसार प्रचण्ड रअको निर्देशनमा केपी ओलीको सरकार ढाल्न लागेका छन् । ‘अब लामो इतिहास बोकेका एमालेका नेता कार्यकर्ताले गलत प्रवृत्तिको सामना गर्नुपर्छ ।
तत्कालिन नेकपा एमालेको सांगठानिक संरचना पुर्नस्थापित गर्नुपर्छ । जनताको बहुदलीय जनबाद फेरी ब्युताउने अवसर आएको छ । यो स्थापित र परीक्षण भइसकेको हाम्रो सिद्धान्त हो । यसमा सबै एकजुट भएर अघि बढौं ।’ उनले भने । अध्यक्ष महरका अनुसार अब जबज पक्षधरहरु एकढिक्का भएर अघि बढ्नुपर्छ ।
राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि गाउँगाउँबाट नक्कली राष्ट्रबादको प्रतिवाद गर्न उनले सबै कार्यकर्ताहरुलाई आह्वान समेत गरे । यस्तै उनले केपी शर्मा ओलीको प्रसंशामा लामो समय बिताए । उनले भने अनुसार केपी ओली राजनेता हुन् । उनी नेपालका अरु नेता भन्दा फरक हिसाबले सोच्छन् ।
उनको अहिलेको निर्णय जनताको भावना अनुसार नै आएको हो । संसद विघटन गरेर नयाँ जनादेशमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष रहेको समेत उनले बताए । भेलामा सहभागी ओली पक्षका नेता तथा कार्यकर्ताहरुलाई चुनावी माहौल सिर्जना गर्नको लागि अघि बढ्न समेत नेताहरुले निर्देशन दिए ।
उक्त भेलामा खजुरा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कोहलपुर नगरपालिकाका केही जनप्रतिनिधि, ओली पक्षीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्