26 January 2021  |   बुधबार, माघ १४, २०७७

‘कुटी’ निबन्ध सङ्ग्रहमा एक फन्को

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १३, २०७७  

हरि सुवेदी

‘बन्ध’ आधारपदमा ‘नि’ उपसर्ग जोडिएर निबन्ध शब्द निर्माण भएको हो । यसलाई छरिएका विचारहरुको सङ्गठित रुप मान्ने गरिन्छ । पछिल्लो समयमा नेपालगञ्जको साहित्यिक संसारमा साहित्याकार मणि अर्यालले ‘कुटी’ निबन्ध सङ्ग्रह लिएर पाठकहरु माझ प्रस्तुत भएका छन् । काठमाडौको युरेका पब्लिकेसन प्रा. लि. ले प्रकाशनमा ल्याएको यस निबन्ध सङ्ग्रहभित्र ८६ पृष्ठमा ११ ओटा निबन्ध सङग्रहित छन् । गुरु भेट, होटल, हाइवे, मधुशाला, मेरो गाउँ, भित्र संवाद, कुटी, नेपालगञ्ज, प्यान्थर, पसिनाको स्वाद, रिस, संझनामा इन्द्रबहादुर राई, जस्ता निबन्धलाई आत्मपरक शैलीमा लिपिबद्ध गर्दै मणि अर्यालले औपचारिक रुपमा निबन्ध यात्रा सुरु गरेका छन् ।
मेरो दृष्टिमा मणि अर्याल साहित्यिक यायावर हुन् ।

मैले चिने – जानेअनुसार उनी बाँके, बर्दिया, नवलपरासी, चितवन र काठमाडौसम्मका साहित्यिक गतिविधिमा सक्रिय छन् । यसरी घुम्दाका दैनिक घटनाक्रम, साहित्यिक हिमचिमले उनलाई ‘कुटी’ निबन्ध सङ्ग्रह जन्माउन प्रशस्त आधार प्रदान गरेको हुनुपर्छ । आयामका दृष्टिले यस कृतिमा समाविष्ट विषयबस्तु आफ्नै घर आँगन, सामाजिक परिवेश, राजनीतिक बेथितिको टिपोर्ट गर्दै प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यप्रति समर्पित दार्जिलिङ्का नेपाली धरोहर इन्द्रबहादुर राईसँगको भलाकुसारी एवम् कृतित्वसम्म फैलिएको देखिन्छ । आवरण पृष्ठलाई झट्ट हेर्दा एउटा मान्छेको आकृति लालटिनको उज्यालोमा कोरिदै आफ्नो कुटीतर्फ उक्लदै गर्दाको परिवेश देखिन्छ । यस परिवेशले पाठकलाई आफ्नो विगत÷बाल्यकाल तर्फ डो¥याउन खोजेको हो कि भन्ने सङ्केत मिल्दछ ।

खरको झुप्रो, लालटिन, टुकी, ग्रामीण परिवेश प्रायः सवै व्यक्तिको विगत पनि हो नै । जीवनको एउटा उचाइमा पुगेपछि आफ्नो आधार शिविरतर्फ हेरेर आनन्द लिनु भौतिक एवम् आत्मीय दृष्टिले अर्थपूर्ण नै मानिन्छ । तसर्थ यसको आवरण पृष्ठ शीर्षक अनुसार औचित्यपूर्ण नै देखिन्छ । नेपाली बृहत शब्दकोशले ‘कुटी’ शब्दलाइ एकान्त वा सुनसान ठाउँमा खर, पराल आदिले छाइएको सानो घर, झुपडी आदिका रुपमा अर्थ लगाएको छ । परम्परागत दृष्टिमा ऋषिमुनिहरु बस्ने घर ‘कुटी’ हो जहाँबाट पूर्वीय आर्य सभ्यताका अपूर्व ग्रन्थको रचना गरिएको थियो । झट्ट माथी हेर्दा टोपी नै खस्ने गगनचुम्वी महलतर्फ प्रतिस्पर्धा गर्दै हराउन थालेको वर्तमान भौतिक युगमा ‘कुटी’ कै आत्मीय सुखमा रमाउन खोज्नु निबन्धकारको अभिष्ट देखिन्छ ।

सहरी सभ्यता, मोटर–गाडी भिडभाडमा एक्लो हुँदै हिड्ने वाध्यता निबन्धकारलाइ छ तर उनी बाँके र बर्दियाको सिमाना मानखोलाको काखैमा पर्ने आफ्नै कुटीमा संसार देख्छन् । हरियाली वातावरण, खोलाको कलकल ध्वनि, आफ्नै पाखुराले उब्जाएको अर्गानिक खाना, सयुक्त परिवारमा रमाएर बस्न पाउनु नै ठूलो सौभाग्य हो । उनी यस्तो ग्रामीण शैलीको आनन्द बुझ्नलाइ श्रीखण्ड नबुझ्नेलाइ खुर्पाको बीँड भन्न रुचाउँछन् । अर्को अर्थमा ‘कुटी’ जीवनकै पहिलो पाठशाला पनि हो । त्यसैले प्रस्तुत निबन्ध सङ्ग्रहका अन्य निबन्धहरुका तुलनामा ‘कुटी’ लाई शीर्षकीकरण गरिएको हुनुपर्छ । हरेक व्यक्तिको पहिलो आधार ‘कुटी‘ लाई नै स्वर्गीय आनन्दका रुपमा चित्रण गर्नु सहरिया वातावरणमा रुमाल्लिरहेका व्यक्तिलाई आफ्नै गाउँमा रमाउन सिक्नुपर्छ भन्ने सन्देश दिनु पनि हो ।

यस निबन्ध सङ्ग्रहमा सङ्ग्रहित ११ ओटा निबन्धले पाठकलाई फरक–फरक स्वाद पस्कन खोजेको देखिन्छ । शैक्षिक सुधार ल्याउन खोज्ने व्यक्ति एक्लो वृहस्पतिझै हुने, हाइवेका होटलहरु सेवामूलक भन्दा नाफामूलक धन्दामा केन्द्रित रहेका, मधुशाला कामदारका लागि जीविकोपार्जनको साधन पनि रहेको, वस्तीका समस्याहरु जहाँको तही रहनु जस्ता विविध विषयमा निबन्धहरु केन्द्रित छन् । यसरी नै खेतियोग्य जमिन व्यापारीका घडेरी विक्री गर्ने माध्यम बन्दै गएकामा लेखक चिन्तित छन् । नेपालगञ्जलाई केन्द्र मान्दै साहित्यिक गतिविधिमा सक्रिय पुराना र नयाँ पुस्ताको विवरण दिनु पनि कृतिको विशेषता हो । यसबाट पाठकले बाँके र बर्दियाका सर्जक एवम यहाँको साहित्यिक गतिविधिप्रति सुसुचित हुने अवसर पनि प्राप्त गर्न सक्छन् । ‘पसिनाको स्वाद’ निबन्धमा लेखकले ‘कलुवा’ पात्रलाई माध्यम बनाएर श्रमजीवीहरुका विवशतापूर्ण चित्र उतार्ने प्रयास गरेका छन् ।

राज्यले सयौँ पटक सुकुम्वासी आयोगका नाममा जति अभिनय गर्दै आए पनि वास्तविक भूमिहीन कमैयाहरुका समस्या जहाँको तहीँ छन् । निबन्धमा यस्ता समस्यालाई पनि विशेष स्थान दिइएको पाइन्छ । ‘कुटी’ निबन्ध सङ्ग्रहमा सङ्कलित निबन्धको विषयवस्तु समाज, राजनिति, यौनमनोविज्ञान, पित पत्रकारिता जस्ता विभिन्न क्षेत्रमा केन्द्रित देखिन्छ । झट्ट हेर्दा विषयवस्तुले उठान गरेका विषय पनि तपाई हाम्रै समाजका थिति र वेथितिलाई नै लेखकीय सामग्री बनाइएको छ । असल पाठकले तिनको अन्र्तवस्तु छाम्न सके मात्र लेखकको मूल्य भेटिन सक्छ । यस निबन्ध सङ्ग्रहलाई पनि माथि–माथि तैरिएर होइन भित्र गहिरिएर बुझ्न सक्ने पाठकको आवश्यकता महसुस हुन्छ । निबन्धकार देवकोटाले भनेझै निबन्ध एक किसिमको टेबल गफ पनि हो ।

यो जुनसुकै विषयमा जसरी पनि उठान गर्न सकिन्छ । अन्य विधाका तुलनामा यो विधामा लेखक स्वतन्त्र पनि बढी नै हुन सक्छ तर यति भन्दैमा निबन्ध सजिलै लेखिने हलुका विधा बुझ्नु पनि गलत हुन्छ । उठान गरेको विषयमा आत्मपरक र वस्तुपरक ढङ्गमा तर्क, विचार र तथ्यसहित फनफनी घुम्दै पुष्टि गर्न सक्ने प्रतिभा यसमा महत्वपूर्ण हुन्छ । यस आधारमा प्रस्तुत कृतिलाइ हेर्दा मणि अर्याल जसरी आफू यायावर शैलीमा घुम्छन् त्यसरी नै निबन्धले उठान गरेको विषयमा सजिलै फन्को मार्ने क्षमता राख्छन् भन्ने प्रमाण ‘कुटी’ निबन्ध सङ्ग्रह बन्न पुगेको छ । दिनभरि चारा खोज्न उडेका पंक्षीहरु साँझ परेपछि आफ्नै गुँडमा फर्केझैँ बाँके सिमलघारीबाट बरालिदै कहिले दार्जिलिङ्सम्म र कहिले राजधानीसम्म टहलिने मणि अर्याल अन्तत जीवनका भोगाइ र अनुभवलाई ‘कुटी’ निबन्ध सङ्ग्रहमार्फत आफ्नै सिमलघारीमा विश्राम गर्न आइपुग्छन् ।

प्रस्तुत कृतिमा रहेको कण्डम, रिस जस्ता निबन्ध मनोविज्ञानसँग केन्द्रित छन् । यौन जीवनको प्राकृतिक आवश्यकता हो भन्ने आसय पहिलो निबन्धमा देखिन्छ भने व्यवहारिक विषयवस्तु दोस्रो अर्थात रिस निबन्धमा फेला पार्न सकिन्छ । स्वभाविक रुपमा हाम्रो हृदयभित्र रिस, प्रेम, समता, इष्र्या, विस्मय, हास्य जस्ता अनेकौ संवेगहरु छन् । बाहिरी आवरणमा लेखक मिलनसार, भद्र, शिष्ट, देखिएझैँ आफूलाई सितिमिति रिस नउठने व्यक्तिका रुपमा पनि चिनाउन खोज्छन् । रिसको पारोलाई सन्तुलनमा राख्न सक्नु मानव जीवनको महत्वपूर्ण उपलब्धि पनि हो । यो एक प्रकारको मानसिक रोग पनि हो । यसलाई ठीक ठाउँमा उभ्याउन नसक्दा मान्छे आफै नराम्ररी घोप्टिन पनि । खानपान, आहारविहार, एकान्तिकता, प्रविधिको दुरुपयोग आदिले रिसको साम्राज्य झन बढ्दै छ ।

निबन्धकारले यस्तो मानसिक समस्यालाइपनि सरल ढङ्गबाट चित्रित गर्ने प्रयास यसमा गरेका छन् । उनका अनुसार सहनशीलता नै रिसको पहिलो औषधी हो । वैज्ञानिकहरुले धेरै कुराको आविष्कार गरे पनि रिसको अन्त्य हुने कुनै औषधी निर्माण नगरेका भन्दै लेखकले सबैलाई तनावबाट मुक्त हुन आग्रह गरेको छन् । निष्र्कषमा ‘कुटी’ निबन्ध सङ्ग्रहमा आत्मपरक र वर्णनात्मक शैलीमा विविध विषयगत दृष्टिकोण प्रस्तुत गरिएको छ । भाषिक सरलता र स्पष्टता यसको विशेषता पनि हो । समसामयिक जीवन भोगाइ यसको प्रमुख विषय हो । यस कृतिमार्फत निबन्धकार मणि अर्याल परिपक्व लेखकका रुपमा स्थापित भएका छन् । बाँके र बर्दियाको साहित्यिक उपलब्धिलाई केन्द्रसम्म जोडने सेतुका रुपमा निबन्धकारले यस कृतिलाई प्रस्तुत गर्न खोजेका अनुभव निबन्ध पढीसकेपछि गर्न सकिन्छ । आधुनिक नेपाली निबन्धको विकासमा एउटा इँटा थप्दै आगामी दिनमा अझ प्रौढ रचनाहरु पस्कन निबन्धकार सक्षम हुनेछन् भन्ने अपेक्षा र सङ्केत यस निबन्ध सङ्ग्रहमा फेला पार्न सकिन्छ ।

बर्दिया बहुमुखी क्याम्पस
बाँसगढी नगरपालिका, बर्दिया

प्रकाशित मितिः शनिबार, मंसिर १३, २०७७     5:42:40 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *