नेपालगञ्ज ।
यसवर्ष ढिलो गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले धान खरिद सुरु गरेको छ । गत कार्तिक ३ गते बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको प्राथमिक खरिद समितिको निर्णय अनुसार आइतबारदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेको हो । कम्पनीको मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख निर्मल थापाले धान खरिद सुरु गरिएको जानकारी दिए । ‘हामीले आइतबारदेखि किसानबाट धान खरिद सुरु गरिसकेका छौं’ उनले भने, ‘धान विक्री गर्नको लागि गाउँ गाउँबाट कृषकहरुको आकर्षण देखिएको छ ।’
सरकारले तोकेको मूल्य अनुसार नै धान खरिद गर्न सुरु गरिएको उनले बताए । यसअघि नै सरकारले प्रति क्विन्टल मोटा धानको मूल्य दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरिसकेको थियो । सोही मूल्यमा नै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले धान खरिद गरिरहेको छ । चिस्यानको समस्या हुने भएकोले सबै किसानहरु लाभान्वित हुनेगरी मंसिर ७ गते अर्थात आइतबारदेखि मात्र धान खरिद गर्ने निर्णय गरिएको थियो । कम्पनी नेपालगञ्जले यसवर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटो र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ ।
यसवर्ष कोरोना भाइरसका कारण सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गरेर धान खरिद गरिरहेको कम्पनीको मुख्य शाखा कार्यालय नेपालगञ्जका प्रमुख थापाले जानकारी दिए । कम्पनीको मुख्य शाखा कारकाँदो नेपालगञ्ज र नेशनल ट्रेडिङ्ग नेपालगञ्जवाट एकैसाथ धान खरिद गर्न थालिएको छ । धान बिक्री गर्न आउने किसानहरुको भिडभाड नहोस् भनेर कार्यालयले टोकन सिस्टम लगाएको छ । कार्यालय समयमा बिहान १० बजेदेखि १२ बजेभित्र टोकन लिएर टोकनमा तोकिएको दिन र समयमा आएर धान बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ ।
धान बिक्री गर्न आउने किसानहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने मापदण्ड समेत बनाइएको कार्यालय प्रमुख थापाले जानकारी दिए । कम्पनीले ढिलो गरी धान खरिद गर्ने भएपछि बजारमा व्यापारीहरुले मनोमानी रुपमा मुल्य निर्धारण गरी सस्तोमा धान खरिद गरेका थिए । सरकारले प्रति क्विन्टल मोटा धानको मूल्य दुई हजार सात सय ३५ रुपैयाँ र मध्यम धानको दुई हजार आठ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरेपनि, किसान भने सरकारले निर्धारण गरेको मूल्य भन्दा ६ सयदेखि ७ रुपैयाँ कममा व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए ।
समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी ढंगले धान खरिद गर्न थालेपछि सरकारले यस वर्ष धानवाली लगाउनु अगावै न्यूनतम् समर्थन मूल्य तोकेको थियो । बाँके बर्दियामा यसवर्ष विगतको वर्षभन्दा धान उत्पादन बढी भएको बताइएको छ । दुवै जिल्लाका सबै कृषकहरुले धान भित्र्याउने काम सकिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्