बर्दियामा नरभक्षी बन्दै पाटेबाघ: एक महिनामै पाँच जनाको मृत्यु



सुदीप अधिकारी । बर्दिया ।

बर्दियाको गेरूवा गाउँपालिका– ४ राजिपुरका ५८ वर्षीय लहानु थारूलाई गत शनिबार बेलुका पाटेबाघले आक्रमण गर्यो । उनी घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउन गएका थिए । पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गयो।

बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाड्यो र एउटा गोरुलाई लतार्दै जंगलतर्फ लग्यो । गेरूवा गाउँपालिका बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यो पालिका निकुञ्जको मध्यवर्ती क्षेत्र हो । घटना लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली सो क्षेत्रमा खटियो ।

तर टोलीले अझै मान्छे मार्ने बाघ फेला पारेको छैन । यसैगरी कात्तिक ११ गते नेपाल भारत सीमा नजिकको मधुवन नगरपालिका–३ मा धनौरामा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक डिभिजन वन कार्यालय अन्तर्गतको बेलझुण्डी सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट धनौरा गाउँका २७ वर्षका दिनेश थारू र २६ वर्षका रमेश थारूको ज्यान गयो ।

बाघ खोजी गर्न वनमा क्यामेरा जडान गरिएको छ । तर बाघ फेला परेको छैन । जसरी भएपनि बाघ नियन्त्रणमा लिनु पर्ने स्थानीयले माग गरेका छन् । दुई हप्ताअघि कात्तिक ५ गते यसै ठाउँकी २८ वर्षकी गंगा बुढाको पनि बाघकै आक्रमणबाट ज्यान गयो ।

उनी सामुदायिक वनमा डालेघाँस काट्न गएकी थिइन् । करिब एक महिनाअघि मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परी ज्यान गएको थियो । उनी खोलामा माछा मार्न गएका थिए ।

यसरी महिना दिनमै बाघले ५ जनाको ज्यान लिएपछि स्थानीयबासीमा त्रास छाएको छ । स्थानिय रामलखन थारू भन्छन्, ‘घरबाट निस्कनै डर छ ।

कति खेर के हुने हो, हामी त्रासमा छौं ।’ निकुञ्ज मध्यवर्ती क्षेत्र र वन आसपासका बासिन्दा वर्षौदेखि वन्यजन्तुबाट पीडित छन् । बाघ, हात्तीलगायतका वन्यजन्तुले अन्नबाली, पशुचौपाया खाने र मानिसका घरगोठसमेत भत्काउने गरेकाले आफुहरूले निकै सास्ती खेप्नु परेको स्थानीयले गुनासो सुनाए ।

निकुञ्ज तथा डिभिजन वन कार्यालयले वन्यजन्तुको उचित व्यवस्थापन गर्नु पर्ने स्थानीयको माग छ । बाघको आक्रमणबाट ज्यान गुमाएका परिवारका सदस्यलाई तत्काल राहत तथा क्षतिपूर्ति दिनु पर्ने स्थानियले माग गरेका छन् ।

नियन्त्रणमा पाटेबाघ

एकै महिनामा ५ जनाको ज्यान लिने नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र राजीपुर क्षेत्रबाट उक्त पाटेबाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

क्यामेरा जडान गरि बाघको खोजीमा लागेका निकुञ्जका प्राविधिक टोलीले झण्डै दुई हप्ता लामो प्रतीक्षापछि डार्ट गरी पाटे बाघ समात्न सफल भएका हुन् । पछिल्लो समय बर्दियामा बाघले घर पालुवा जनावरसँगै मान्छेमाथि आक्रमण गर्ने र ज्यान लिने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका थिए ।

बाघको आक्रमणबाट बर्दिया मध्यवर्ती क्षेत्रमा एक महिनाको अवधिमा मात्रै ५ जना सर्वसाधारणको मृत्यु भइसकेको छ । त्रासको वातावरणमा रहेका बर्दियाका मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयले २ महिनादेखि बाघ नियन्त्रणमा सम्बन्धित निकायले प्रभावकारीरुपमा केही गर्न नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

बाघले आतंक मच्चाएपछि स्थानीयको आग्रहमा निकुञ्जले त्यसको खोजी र पहिचान गरी नियन्त्रणमा लिएको हो ।

बाघको आक्रमण बढ्दै गएपछि मान्छे मार्ने पाटेबाघ तत्काल नियन्त्रणमा लिन स्थानीयले माग गरेपछि बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाको टोली बाघ पहिचान र नियन्त्रण गर्न परिचालन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २५ गते मंगलबार