3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

समीक्षा : “सिमानाभित्रको अनुभूति”

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७  

– छविलाल खड्का 

१) आरम्भ :

अहिले मेरो हातमा साहित्यकार महानन्द ढकालको पछिल्लो कृति “सिमाना“ मुक्तक सङ्ग्रह छ । सिमानाको घाउ बल्झिएर देशभक्त नेपालीहरुको मुटु चस्किरहेको वर्तमान अवस्थामा जो कोहीको मन यो कृतिमा पर्नु अन्यथा हुँदै होइन । म पनि यसबाट अछुतो रहन
सकिन । सिमानामा रहेका मुक्तकहरु पढें । जति पढ्यो उति मिठा लाग्ने मुक्तकहरु दोहो¥याएर पढें । पढिसकेपछि मनभित्र खसखस खसखस भइरह्यो । यही खसखस मेटाउन केही शब्द कोर्ने जमर्काे गरेको छु । मेरा शब्द मार्फत गरिएका गन्थनहरुमा मुक्तकको सैद्धान्तिक अवधारणा र महानन्द ढकालका विभिन्न कृतिहरु सहायक आधार हुन भने मुक्तक सङ्ग्रह सिमाना मुख्य आधार हो । यिनैको जगमा टेकेर यो आलेख तयार गरिएको छ ।

२) मुक्तक परिचय :

मुच् धातुमा त प्रत्यय लागेर ( मुच् ं त . मुक्त ) मुक्त शब्द बन्यो र मुक्त शब्दमा क प्रत्यय लागेर (मुक्त ं क . मुक्तक) मुक्तक शब्द बनेको हो । मुक्तक स्वतन्त्र काव्य विधा हो । छोटो भइकन पनि चोटिलो हुने भएकोले मुक्तक लोकप्रिय हुँदै आएकोछ । यसरी सर्वत्र रुचाइएको कविताको उप(विधा( मुक्तक) को रचना शुरुवाती अरेबियन भाषाबाट भएको मानिन्छ तापनि संस्कृत भाषामा प्रयोग भएको श्लोक र फारसीको रुवाई हुँदै नेपालीमा मुक्तकले आफ्नो पहिचान र आकार ग्रहण ग¥यो भन्दा अतियुक्ति नहोला । प्राचीनकालमा संरचनाका दृष्टिले एक पदीयदेखि सात÷आठ पदीय कविताका ढाँचालाई मुक्तक भनिए पनि हाल आएर चार पदीय तुकबन्दीपूर्ण कवितालाई नै मुक्तक भनेर स्वीकार गरिएको पाइन्छ । मुक्तकका चार पद (पाउ) मध्ये पहिलो पदले विषय उठान, दोस्रो पदले समर्थन, तेस्रो पद स्वतन्त्र व्याख्या भई चौथो पदका लागि आधारभूमि तयार र चौथो पदले परिणाम निकाल्न मैजारो मारेको हुन्छ । यसरी चार हरफ र तुकबन्दी मिल्दैमा उक्त रचना मुक्तक कहलाउन सक्दैन । मुक्तकले भाव र गहिराइको माग राख्दछ । मुक्तक कहलाउनलाई भाव, लघुतम संरचना, भाषा शैली, लय, बिम्ब, प्रतीक, अलङ्कार र रस जस्ता तत्वहरुले सिंगारिएको हुनुपर्छ । यसलाई ब्ब्द्यब् को फरमुलामा लेख्ने
गरिन्छ । उदाहरण हेरौं :

प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ

प्रत्येक रङ्गिन चरालाई वनको मजुर भन्न मन लाग्छ

चाकडी गर्दा ञ् गर्दा यस्तो बानी परिसक्यो अब त

बाटामा कुनै गधा देखे पनि हजुर भन्न मन लाग्छ !

(भुपि शेरचन)

३) श्रष्टा परिचय :

मैले बचपन सम्झेको छु टारी सम्झेको छु

लुकामारी खेल्ने गरेको गैराबारी सम्झेको छु

मलाई जन्मायो, हुर्कायो बडो मुस्किलले

स्याङ्जा, पञ्चमुल, तमाखुबारी सम्झेको छु ।

(सिमाना : पृष्ठ ५१)

पिता स्व. तुल्सीराम ढकाल र माता पवित्रा ढकालको कोखबाट मिति २०३२-०८-०५ गते पञ्चमुल-७, तमाखुबारी, स्याङ्जामा जन्मिएका महानन्द ढकालको बाल्यकाल र यौवनाकाल बनियाभार, बर्दियामा बित्यो तापनि हाल कोहलपुर नगरपालिका–१२, बाँकेलाई ढकालले आफ्नो कर्मथलो बनाउँदै आएका छन् । शिक्षण पेशामा संलग्न ढकालको अर्काे महत्वपूर्ण पाटो साहित्य हो । “आमा” कविता मार्फत साहित्य क्षेत्रमा प्रवेश गरेका ढकालले कविता, गीत, गजल, मुक्तक, हाइकु, साइनो, नियात्रा, समीक्षा, कथा र उपन्यास जस्ता विविध विधामा निरन्तर रुपले कलम चलाई रहेका छन् जसको परिणाम स्वरुप “खण्डित आत्मा” (गजल सङ्ग्रह : २०५८), “उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु” (संयुक्त गजल सङ्ग्रह : २०५९ ), “अव्यक्त प्रत्यासा” (गजल सङ्ग्रह : २०६३), “घाम उदाए” (हाइकु सङ्ग्रह : २०६८) र “सिमाना” ( मुक्तक सङ्ग्रह : २०७७) कृतिहरु साहित्यिक बजारमा उपलब्ध छन् ।

विभिन्न संघर संस्थामा आवद्ध भएर विशेष गरि साहित्यिक र सामाजिक सेवामा समर्पित रहदै आएका ढकाल तुल्सीराम स्मृति पुरस्कार, बाँकेका संस्थापक, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, नेपालगञ्जका संस्थापक सदस्य, जनजागृति पुस्तकालय, बनियाभार, बर्दियाका संस्थापक सहसचिव सदस्य, सुदूरपश्चिमाञ्चल गजल मञ्च, धनगढीका आजीवन सदस्य र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेका अध्यक्षका रुपमा क्रियाशील हुनुका साथै संचार कर्मी ( छापा माध्याम, रेडियो र टि भि) को भूमिकामा पनि सफल व्यक्तित्व मानिन्छन्, । महाकवि देवकोटाको मानवतावादी चिन्तनबाट प्रभावित ढकाल देखावटी लोकाचारलाई मिथ्या ठान्दै प्रेम, सद्भाव, नैतिकताका धरातलमा उभिएर कर्म गर्न रुचाउँछन् ।

४) कृति परिचय :

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेबाट प्रकाशित कृतिहरु मध्ये पछिल्लो कृति हो, सिमाना मुक्तक सङ्ग्रह जसका श्रष्टा हुन् महानन्द ढकाल । सिमाना मुक्तक सङ्ग्रहभित्र रहेका अधिकांस मुक्तकहरु ओजिला र खँदिला छन् । मुक्तकीय संरचनाभित्र कलात्मक प्रस्तुती र शिल्पगत परिष्कारले सबै मुक्तकहरु मुक्तकीला भएका छन् । कलाकार बिक्रम शिशिर र आयुष्मा ढकालका मूर्त र अमूर्त रेखाचित्रहरुले मुक्तकहरु थप आकर्षक देखिएका छन् भने कलाकार देवेन्द्र थुम्केलीको सरल र आकर्षक आवरण कलाले कृतिको ओज थप्ने काम गरेको छ । सिमानामा जम्मा ८७ वटा चित्राङ्कित मुक्तकहरु, पुष्कर रिजाल “पुष्प”को प्रकाशकीय आलेख र श्रष्टाको छोटो मन्तव्य आदिले ९६ पृष्ठ ओगटेको छ भने मूल्य रु. १७५/- माबै राखिएको छ । आकार र साजसज्जामा बोली हाल्नु पर्ने देखिदैन । पृष्ठको पश्चभागमा मुक्तकका हस्तीहरु उषा शेरचन, रमेश पौडेल र रुद्र ज्ञवालीका गहन टिप्पणीले सुनमा सुगन्ध थपेको आभास हुन्छ ।

५) सिमानाभित्रका सवाल :

सिमानामा संग्रहित मुक्तकहरुले सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक , सांस्कृतिक, धार्मिक, प्राकृितक, माया प्रेम, देश प्रेम, ऐतिहासिक, प्रशासनिक, सुरक्षा, युद्ध , भ्रष्टाचार, अन्तरदेशीय सम्बन्ध, बेरोजगार, बिकृतिरविसंगति आदि विषय बस्तुलाई उठान गरेका छन् ।

मुक्तककार नैतिक धरातलमा टेकेर जीवन जिउनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले देशमा मौलाएको बिकृतिर विसंगति र भ्रष्टाचारका विरुद्धमा खरो रुपमा उत्रिएको पाइन्छ । देस सञ्चालनको जिम्मेवारी पाएका जनप्रतिनिधिहरुका उदण्ड व्यवहार, नौटङ्की, कुर्सी मोह, धारावाहिक रुपमा जोडिने भ्रष्टाचारका श्रृङ्खलाहरुप्रति चोटिलो प्रहार गरेका छन् ।

रमिता हेर्न आउनु होला खटपट हेर्न आउनु होला

लड्ने र भिड्नेहरुको जमघट हेर्न आउनु होला

“मेरो गोरुको बाह्रै टक्का” मञ्चनको तयारी हुँदैछ

संसदमा साँसदहरुको चटक हेर्न आउनु होला !

(सिमाना, पृष्ठ : ३)

यी मान्छेहरुको झुण्ड देखेर अचम्म लाग्छ

विवेकहीनता र उद्दण्ड देखेर अचम्म लाग्छ

के सोचेका र के बुझेका छन् खै यो जिन्दगी ?

दुर्याेधनको जस्तो घमण्ड देखेर अचम्म लाग्छ ।

(सिमाना, पृष्ठ : २२)

आउनुहोस् पङ्क्ति बनाउनुहोस् क-कसको अनुहार मिल्छ ?

छुट्याउनै पर्ने भो भ्रष्टाचारी क(कसको निधार मिल्छ ?

कसैले लुकेर खाए, कसैले लुटेर खाए मेरो देश खानेहरुको

घैंटो ननापी भएन क-कसको आकार मिल्छ ?

(सिमाना, पृष्ठ : १८)

देशलाई काँक्रा चिरे झै चिरा चिरा पारेर आफ्ना कार्यकर्ताहरु लाई जागिर खुवाउन गरेका होलिवाइन जस्ता घातक सम्झौता अनुसार भाषा, जातजाति, धर्म, साम्प्रदाय, भुगोल आदिलाई ढाल बनाएर साम्प्रदायिक र धार्मिक दङ्गा हुने तर्फ देश अग्रसर भएको अवस्थाप्रति मुक्तककारले चिन्ता प्रकट गरेका छन् ।

गीता, बाइबल र कुरान उस्तै उस्तै लाग्छ

यशु, अल्लाह, भगवान उस्तै उस्तै लाग्छ

रङ्ग, जात, धर्मलाई कसले बाँड्यो खै कुन्नी ?

मलाई त हरेक इन्सान उस्तै उस्तै लाग्छ ।

(सिमाना, पृष्ठ : ३३)

देश बेरोजगार श्रम शक्ति उत्पादन गर्ने कारखानाण भइरहेको वर्तमान अवस्थाले नेपाली छोरा(छोरीहरुलाई विदेशी मरुभूमिमा ऊँट चराउन बाध्य पार्ने देशको नेतृत्व भने रेमिटेन्समा रमाइ रहेकोछ । विदेशी भूमिबाट काठको बाकसमा लास फर्कदा पनि लासमा कर लगाउने नीति बनाउँदै आफ्नै सेवा सुविधा बढाउन उद्धत रहेको नेतृत्वप्रति मुक्तककारका प्रश्नै प्रश्नका चाङ छन् तर नेतृत्व अन्धो, बहिरो र लाटो देखिन्छ ।

विदेशमा खुन पसिनाको लगानी कहिलेसम्म ?

ए सरकार ! बालुवामा पानी कहिलेसम्म ?

राष्ट्रले राष्ट्रिय नीति दिनै सकेन कहिल्यै देशको

छातीमाथि मनोमानी कहिलेसम्म ?

(सिमाना, पृष्ठ : ६०)

भाँचिन्छ वर्षाैदेखिको आश तब के हुन्छ ?

बास छोडेर टाढिन्छ खास तब के हुन्छ ?

ऋण तिर्नु छ जीवन फेर्नु छ भनेर उड्नेको

रातो बाकसमा आउँछ लास तब के हुन्छ ?

(सिमाना, पृष्ठ : ५५)

समाजमा घट्ने विभिन्न प्रकारका घटनाहरुले हाम्रो समाज विश्रृङ्खलातिर धकेलिँदै जाँदा इमान्दारिता र नैतिकता हराउँदै गएको छ । राम्राभन्दा पनि हाम्राले अवसर पाउँदा असन्तुष्टिको सगरमाथा चुलिएको छ । विदेशी सरकारका मन्त्रीहरु निस्फिक्री साइकिलमा सवार हुँदा हाम्रो सरकारका मन्त्रीहरुलाई बुलेटपुरुफ गाडीका अघिपछि साइरन बजाउँदै सुरक्षाकर्मीको लर्काे लगाउनु पर्ने बाध्यता र रहर कहिलेसम्म रहन्छ ? प्राज्ञिकतालाई बुर्जुवा देख्ने, मन्त्री बन्न जेल बसेको योग्यता चाहिने परिपाटीको अन्त्य नभएसम्म यो वहानामा वा त्यो वहानामा हुने लम्पसारवाद ज्युँका त्युँ रहनेछ । खुफियाहरुका मन्त्र र योजनाहरुले प्रसय पाइरहनेछन् । सिमानाका जङ्गे पिलरहरु दिन दहाडै सरिरहेछन् । सुत्दा नेपाल रहे पनि उठ्दा भारत भएको पीडा सीमावासीले भोगिरहनेछन् । सीमा मिचिएको विरोधमा गोविन्द गौतमहरु मरिरहनेछन् । देवनारायणहरुले एस एस बी को कुटाई खाइरहनेछन् । यो कहिले नसुल्झिने, सधैं सधैं बल्झिरहने सिमानाको घाउमा महलम पट्टि लगाउन ढिला भैसकेको छ नत्र क्यान्सर भयो भने त्यो कारण हाम्रै अकर्मन्यताको परिणाम हुनेछ । मिचिएको भूमि फिर्ता लिन र सिमानाको समस्या सुल्झाउन जनता सडकमा निस्केर गरेको खबरदारी र ऐक्यबद्धताको बलमा नक्सा सच्याउने सरकारी निर्णयको स्वागतमा लाखौं दीप जलेको देशभक्ति र राष्ट्र प्रेम अझै मरेको छैन । तसर्थ सीमा रक्षार्थ जनता जागेको बेला सरकार चुक्न नहुने भन्दै मुक्तककारले यसरी पहरेदारी गरेका छन् ।

देशको सीमा मिचिँदैछ सरकारहरु कहाँ गए ?

मुकदर्शक छ अखबार, पत्रकारहरु कहाँ गए ?

वीरताले कोरिएको इतिहासले धिक्कार्दै छ

गोर्खाली शान कहाँ गयो, हतियारहरु कहाँ गए ?

(सिमाना, पृष्ठ : ६४)

हामीलाई हाम्रो गरिमा बचाउन गाह्रो हुनेभयो

किल्ला सर्न थाले सीमा बचाउन गाह्रो हुनेभयो

इतिहास कसरी बँच्ला खै देशै नबचेपछि ?

वीर गोर्खालीको महिमा बचाउन गाह्रो हुनेभयो

(सिमाना, पृष्ठ : ५८)

सिमानामाथिको मनपरी कति सहनु ?

उखेलिन्छन् किल्ला घरीघरी कति सहनु ?

ए सरकार ! एक–एक थान हतियार उपहार दे

सधैं सधैंको दादागिरी कति सहनु ?

(सिमाना, पृष्ठ : ५०)

सीमा रक्षाका लागि यस्तो करार लिएर आउनुहोला

जन्मभूमिप्रति थोरै भए नि प्यार लिएर आउनुहोला

हेप्नेहरुले काट्न सक्छन् र काटिन पनि सक्छन्

एउटा हातमाकलेजोअर्काेमा हतियार लिएरआउनुहोला ।

(सिमाना, पृष्ठ : १९)

माथि उल्लेख गरिएका केही उदाहरणीय मुक्तकहरु देशभक्तिपूर्ण र राष्ट्र प्रेमले ओतप्रोत भएको पाइन्छ । यी र यस्तै थुप्रै थुप्रै मुक्तकहरु पढ्न पाइन्छ, सिमानामा । यो मुक्तक सङ्ग्रह सिमानाको विमोचन समेत नेपाल–भारतको जमुनाहा सीमामा गरिएकोले साङ्केतिक र लाक्षिणिक रुपले दुवै देशका सीमा सञ्चालकहरुमा खबरदारी गरिएको छ ।

अन्त्यमा,

महानन्द ढकालको सिमाना मुक्तक सङ्ग्रहमा रहेका ८७ थुँगा फूलहरुका सुवासले मुक्तक संसार अझ भनौ नेपाली साहित्य जगत सुवासिलो हने नै छ । साना तिना कहीँ कतै भेटिने शुद्धाशुद्धी र एकाध सन्दर्भ र औचित्य पूरा भइसकेको परिवेशमा त्यो बेला अब्बल भए पनि अहिले सान्दर्भिक नहुने खाले मुक्तक समावेश नगराएको भए उत्तम हुने राय यो पङ्तिकारको छ । सबै मुक्तकहरु आन्तरिक तथा वाह्य संरचनाले शसक्त, अनुप्रासयुक्त, भाव, भाषा शैली, बिम्ब, प्रतीकको गहनाले सिंगारिएका छन् । कृतिकारलाई कृतिगत सफलताको शुभकामना । उहाँकै एउटा मुक्तकबाट यो लेखको बिट मार्ने अनुमति चाहन्छु ।

भाषा नबदलियोस् हाम्रो भेष नबदलियोस्

नेपालीपन नबदलियोस् परिवेश नबदलियोस्

सत्ता बदलियोस् संस्कार बदलियोस् केही छैन

नेपाली हुनु मै गर्व छ मलाई, देश नबदलियोस् ।

(सिमाना, पृष्ठ : ६६)                      अस्तु ! कोहलपुर, बाँके

प्रकाशित मितिः शनिबार, कार्तिक २२, २०७७     7:27:27 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *