यसै वर्षभित्र ९० प्रतिशत घरमा विद्युत् पुग्ने



रुकुम पश्चिम ।

चालू आर्थिक वर्षभित्रै रुकुम पश्चिमका ९० प्रतिशत घरधुरीमा विद्युत् पुग्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जिल्लाका अधिकांश घरधुरीमा विद्युत् विस्तार गर्ने योजना बनाइएको हो ।

नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण केन्द्रले केन्द्रीय लाइनको विद्युत विस्तार गर्ने योजना बनाएको बताइएको छ ।

हाल जिल्लामा विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेको र यस आर्थिक वर्ष भित्रै जिल्लाका अधिकांस घरधुरीमा विद्युत विस्तार गर्ने लक्ष्य राखिएको वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।

‘अहिलेसम्म जिल्लाभर ३३ हजार घरधरी रहेकोमा हाल ११ हजार घरधुरीमा विद्युत विस्तार भइसकेको छ’ उनले भने, ‘जिल्लाको आठबिसकोट नगरपालिकाबाहेक अन्य स्थानीय तहका अधिकांश वडामा विद्युत् पुगिसकेको छ ।’

मुसीकोट नगरपालिकाका र बाँफिकोट गाउँपालिकामा ९० प्रतिशत घरधुरीमा विद्युत्को पहुँत पुगिसकेको केन्द्रले जनाएको छ । चौरजहारी नगरपालिकामा ६० प्रतिशत, सानीभेरी गाउँपालिकामा ३० प्रतिशत र त्रिवेणी गाउँपालिकामा ६० प्रतिशत घरधुरीमा विद्युत् विस्तार भइरहेको र अन्य बाँकी काम पनि तिब्र रुपमा भइरहेको केन्द्र प्रमुख भट्टराईले बताए ।

‘जिल्लाको दुर्गम क्षेत्र भनेको आठबिसकोट नगरपालिका हो, जहाँ अहिले विद्युतको पहुँच हालसम्म पुगेको छैन तर पु¥याउने कार्य अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘चालू आर्थिक मसान्तभित्र करिब २५ देखि ३० हजार घरधुरीसम्म विद्युत् विस्तार हुन्छ ।’

हालसम्मको कोरोना प्रभावले विद्युत् विस्तारको कामका खासै प्रभाव नभएर बिस्तार कार्य धमाधम भइरहेको र आगामी दिनहरुमा पनि यसभन्दा जटिल कुनै पनि समस्या नभए राखिएको लक्ष्य पूरा हुनेमा कुनै शंका नभएको उनले दाबी गरे ।

त्यस्तै, जिल्लामा हाल विद्युत् विस्तार भएका ठाउँमा भैरहेको कम भोल्टेज तथा बेलाबेला बिद्युत जाने समस्या पनि छिटै अन्त्य हुने केन्द्रले बताएको छ । रुकुम पश्चिमको धैरेनीचौरमा विद्युत् सब स्टेशनको काम अन्तिम चरणमा पुगेकोले त्यस निर्माण सम्पन्न भएपछि बिद्युतका धेरै समस्याहरु समाधान हुने भएको हो ।

‘अहिले उपभोक्ताहरुको कम भोल्टेज तथा बिद्युत बेला बेला जाने समस्याबारे गुणासो गर्ने गरेका छन, समस्या पनि छ’ केन्द्र प्रमुख भट्टराईले भने, ‘रुकुममै सब स्टेशन निर्माण सम्पन्न भएपछि अब त्यो सबै समस्या समाधान हुन्छ ।’

यसअघि सल्यानमा मात्र सबस्टेशन भएका कारण लामो दूरी भएकाले यस्तो समस्या हुने गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १६ गते आइतबार