18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘ई–सेवा प्रयोगकर्ताको संख्या झनै बढ्यो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १, २०७७  

आजको युग भनेको डिजिटल युग हो । अहिले सबैजसो कार्यहरु अनलाईनका माध्यमबाटै हुने गरेका छन् । यसले मानिसको दैनिकीलाई झनै सहज बनाइदिएको छ । नेपालकै पहिलो अनलाइन भुक्तानी प्रदायक संस्था ई–सेवाको प्रयोग पछिल्लो समय ह्वात्तै बढेको छ । घरमै बसी बसी अनलाइनको माध्यमबाट मोबाईल रिचार्ज, ईन्टरनेट बिल, स्कुल फी, खानेपानी, बिजुलीको बिल लगायतको शुल्क भुक्तानी गर्न सहज हुने र समयको पनि बचत हुने भएकाले यसको प्रयोग बढेको पाइन्छ । अहिले कोराना महामारीपछिको समयमा यसको प्रभावकारिता लगायतका विषयमा ई–सेवा बाँकेका प्रमुख महेन्द्र रानासँग यानबी साहुले गरेको कुराकानीको सम्पादीत अंश ।

१. ई–सेवा भनेको के हो ? यसबाट के कस्ता कामहरु गर्न सकिन्छ ?

ई–सेवा भनेको एउटा डिजिटल वालेट हो, यसका माध्यमबाट प्रयोगकर्ताले सजिलै पैँसा भुक्तानी गर्न र प्राप्त गर्न सक्छन् । यो नेपालको पहिले अनलाईन भुक्तानी सेवा पनि हो । ईन्टरनेट सेवा भएको जुनसुकै ठाँउबाट पनि ई–सेवाबाट सजिलै कारोबार गर्न सकिन्छ । यो जुनसुकै व्यक्तिले पनि प्रयोग गर्न सक्छन् । त्यसका लागि पहिले ई–सेवाको अकाउन्ट सिर्जना गर्नु पर्ने हुन्छ । एकाउन्ट सिर्जना गरिसकेपछि यसबाट ग्राहकहरुले थुप्रै सेवा सुविधा प्राप्त गर्न सक्छन् । मोबाईल रिचार्ज, ईन्टरनेट बिल, स्कुल फी, खानेपानी, बिजुलीको बिल, हावाई टिकट, बसको टिकट शुल्क भुक्तानी, अनलाईन शपिङ्ग लगायतका सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

२. ग्राहकहरुले यसबाट के कस्ता लाभ लिन सक्छन् ?

आजको युग भनेको डिजिटल युग हो । सबै कार्यहरु अनलाईनबाट हुने गरेका छन् । यसले गर्दा मानिसको दैनिकिलाई झनै सहज बनाई दिएको छ । ई–सेवाको प्रयोगबाट समयको बचतसँगै थप पैसा पनि कमाउन सकिन्छ । घरमा नै बसी बसी यसको प्रयोगबाट मोबाईल रिचार्ज, ईन्टरनेट बिल, बच्चाबच्चीको स्कुल फी, खानेपानी, बिजुलीको बिल, हावाई टिकट, बसको टिकट शुल्क भुक्तानी गर्न सहज भएको छ । अनलाईनबाट नै आफूलाई आवश्यक समग्री खरिद गर्न सकिने हुन्छ । कुनै पनि काम गर्न समय खर्चेर टाढा जानु पर्दैन । घरमै बसरे आफ्नै हातबाट सजिलै अनलाईन भुक्तानी गर्न सकिन्छ । त्यस कारण ई–सेवाको प्रयोगबाट ग्राहकहरुले थुप्रै फाइदा लिन सक्छन् ।

३. ई–सेवाप्रति ग्राहकहरुको विश्वास र आकर्षण कस्तो छ ?

पछिल्लो समय ई–सेवाप्रति मानिसकहरुको एकदमै विश्वास बढेको छ । आकर्षण पनि उस्तै छ । नागरिकहरुलाई हामीप्रति विश्वास नै हुँदैनथ्यो भने त यति लामो सफर गरेर यहाँसम्म आउन सक्ने सम्भव नै हुँदैन थियो होला । त्यहि भएर एक दशक भन्दा धेरै समय पार गरेर यहाँसम्म आईपुगेका छौँ । यहाँहरु सबैको आशा, भरोसा र विश्वासले नै हो । अहिले सबैको हात हातमा स्र्माट फोन छ । स्मार्ट फोनबाट सजिलै ई–सेवा प्रयोग गरेर अनलाईन कारोबार गर्न सकिने भएकाले पनि यसप्रति मानिसहरुको आकर्षण पनि बढ्दै गएको छ । ई–सेवा मार्फत अनलाईन कारोबार गर्दा समयको बचतसँगै थप पैसा पनि आम्दानी हुने भएकाले अहिले यसको प्रयोग दिनानुदिन बढ्दै गएको छ ।

४. बाँके–बर्दिया लगायत यो क्षेत्रमा ई–सेवाको कारोबार कस्तो छ ?

बाँके बर्दियामा मात्रै नभएर साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र हाल ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा यसको कारोवार एकदमै राम्रो
छ । ग्राहक संख्याहरु पनि दैनिक बढ्दै गएको अवस्था छ । ग्राहक संख्या बढेकै कारण केहि समय पहिले कोहलपुर शाखा पनि स्थापना गरिएको छ । व्यक्तिसँगै अन्य विभिन्न संघ संस्थाहरु पनि ई–सेवामा आवद्ध हुने क्रम पनि बढेको छ । त्यस्तै ८० भन्दा बढी विभिन्न विद्यालयहरु पनि यसमा आवद्ध भएको अवस्था छ । अभिभावकहरुले ई–सेवाबाटै बच्चाबच्चीहरुको फि भुक्तानी गरिरहनु भएको छ । यस्तै खानेपानी, विद्युत, सहकारी संस्थाहरु पनि आवद्ध भएको हुँदा कारोवार पनि बढ्दै गएको छ ।

५. अन्य बैंक तथा वित्तिय संस्थाहरुको तुलनामा ई–सेवाबाट कारोबार गर्दा ग्राहकहरुले के फाईदा लिन सक्नछन् ?

पछिल्लो समय विभिन्न माध्यमहरुबाट पनि अनलाईन कारोबार गर्न सकिन्छ । सामान्य रिचार्ज जस्ता कार्यहरु मोबाईल बैंकिङ्गबाटै गर्न सकिन्छ । यो सकारात्मक पक्ष पनि हो । किनभने पहिले ई–सेवा मात्रै एक्लै थियो । ग्राहकहरुलाई बुझाउन गाह्रो पनि हुन्थ्यो । अहिले अन्य धेरै गेटवेहरु पनि हुँदा सहज भएको छ । अन्य बैंक तथा वित्तिय संस्थाहरुको तुलनामा सबै भन्दा धेरै सेवाहरु हामीले प्रदान गरिहेको
छौँ । देशका विभिन्न ठाउँहरुमा शाखाहरु विस्तार गरेर सरल र सहज सेवा प्रदान गर्दै ग्राहकहरुका कुनै समस्याहरु देखिएमा समाधान गर्दै आइरहेका छौँ । ई–सेवा त्यसकारण प्रभावकारी बन्दै गएको छ ।

५. यस क्षेत्रमा ई–सेवा प्रयोगकर्ताहरुको संख्या कति छ ?

ई–सेवा प्रयोगकर्ताहरु दुई प्रकारका हुन्छन् । एउटा व्यापारिक प्रयोगकर्ता र अर्को व्यक्तिगत प्रयोगकर्ता । व्यापारिक प्रयोगकर्ताहरु भनेका आफ्नो पसल व्यवसाय सञ्चालन गरेर ई–सेवा प्रयोगकर्ता हुन् भने व्यक्तिगत प्रयोगकर्ता भनेका आफ्नो व्यक्तिगत कारोबार गर्नेहरु हुन् । यसरी बाँकेको सन्दर्भमा मात्र हेर्ने हो भने व्यवसायिक प्रयोगकर्ताहरु पाँच हजार भन्दा बढिरहेको छन् । व्यक्तिगत प्रयोगकर्ताको संख्या पछिल्लो समय एकदमै अनगिन्ती छन् । अहिले पछिल्लो समय ई–सेवाका दुवै प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढिरहेको अवस्था छ । त्यसका साथै सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसँग पनि समन्वय र सहकार्य भइरहेको छ ।

६. अहिले पछिल्लो समय क्यूआर कोड प्रयोग पनि बढ्दै गएको पाइन्छ ? के–हो यो क्यूआर कोड भनेको ?

क्विक रेस्पोन्स कोड अर्थात् ‘क्यूआर कोड’ भनेको कन्ट्याक लेस पद्धति हो । यसको प्रयोग बजारमा पाइने ब्रान्डेड सामानको प्याकमा गरेको देखिन्छ । चारपाटे सानो बक्सभित्र कालो जाली फिँजाएजस्तो देखिने यो म्याट्रिक्स बारकोडको एउटा ट्रेडमार्क हो, जसलाई स्मार्टफोन अथवा क्यामरामार्फत स्क्यान गरी त्यसमा प्रयोग भएको लिंकमा पुग्न सकिन्छ । कुनै पनि ब्रान्डहरूले आफ्नो उत्पादनका बारेमा जानकारी दिन यसको प्रयोग गरेको पाइन्छ । सामान नक्कली र सक्कली के हो भनेर छुट्याउन पनि यसको प्रयोग भएको छ । कतिपयले सामानको मूल्यलाई पनि क्यूआर कोडमा राखेको पाइन्छ । यसलाई विशेषतः कुनै पनि वस्तु वा उत्पादनका बारेमा जानकारी लिने छोटो माध्यमका रूपमा लिने गरिन्छ । हामीले कुनै पनि सामान खरिद गर्नु परेमा मोबाईलबाट स्क्यान गरेर त्यसको बारेमा बुझेर अनलाइनबाटै भुक्तानी गर्न सक्छौँ ।

७. अहिले विभिन्न साइडहरु ह्याक हुने क्रम पनि बढेको छ ? यस सन्दर्भमा ई–सेवा कत्तिको सुरक्षित छ ?

हामीले पनि सुनेका छौँ, कयौँ साइडहरु ह्याक भए भन्ने कुराहरु । तर ई–सेवा एकदमै सुरक्षित छ । यसमा दुई किसिमको पासवर्ड हुन्छ । त्यसको चाबी तपाइसँग मात्र हुन्छ । पासवर्ड थाहा नभएको कुनै पनि व्यक्तिले अरुको आईडि खोल्न सक्दैन । त्यो पासवर्ड थाहा पाउने उसले रिसेट अथवा फरगेट गर्छ । त्यो भेरिफिकेसन कोड चाहिँ तपाईको मोबाईलमा नै आउँछ । आएको भेरिफिकेशन कोड अरु कसैलाई दिनु हुँदैन । त्यसो भयो भने कुनै कसैले दुरुपयोग वा ह्याक गर्न सक्ने अवस्था हुँदैन । ग्राहकहरुका यस्ता निजी भेरिफिकेशन कोडहरु कुनै कम्पनी वा अपरिचित व्यक्तिले माग्यो भने हामीले दियौँ भने ह्याक हुने सम्भावना हुन्छ । यस्तो कोड ई–सेवाले कुनै कसै ग्राहकबाट माग्दा पनि माग्दैन र चाहिँदा पनि चाहिँदैन । त्यसकारण ई–सेवा एकदमै सुरक्षित छ ।

८. धेरै जनाले मोबाईलबाट नै ई–सेवा चलाउने गर्दछन् ? त्यो मोबाईल हराएको खण्डमा उसको एकाउन्टमा रहेको पैसा पनि हराउँछ ?

मोबाईल हराउँदैमा ई–सेवामा रहेको पैसा हराउने भन्ने हुँदैन । उसको त्यो पैसा मोबाईलमा हुँदैन । ई–सेवाको मुख्य एकाउन्ट सेटल्मेन्ट भनेको नविल बैंक हो । ई–सेवा प्रयोगकर्ताले मोबाईल हराएपछि त्यो मोबाईलमा रहेको फोन नम्बर नमस्तेको भए टेलिकममा र अन्य कुनैको भए सम्बन्धित निकायमा जानकारी गराएर तुरुन्त बन्द गर्न लगाउनु पर्छ । त्यो नम्बर बन्द भएपछि उहाँको एकाउन्टमा रहेको रकम सुरक्षित हुन्छ । त्यसपछि प्रयोगकर्ताले हराएको नम्बर पुनः निकालेर ई–सेवाको एप्स् डाउनलोड गरेर चलायो भने पहिले आफ्नो एकाउन्टमा रहेको रकम जति थियो त्यति नै हुन्छ । यसकारण ई–सेवा एकदमै सुरक्षित छ ।

९. ई–सेवाबाट कति रकम कारोबार गर्न सकिने भन्ने मापदण्डहरु केहि हुन्छ ?

ई–सेवाबाट अनलाईन कारोबार गर्दा आईडि भेरिफिकेशन हुनु पर्दछ । कतिपयले एप्स् डाउनलोड गरेर भेरिफिकेशन नै नगरेरै चलाउने गर्नु भएको छ । भेरिफिकेशन हुनका लागि पासवर्ड साईजको फोटो, नागरिकताको फोटोकपि र नेपाल राष्ट्र बैंकको नियमअनुसार केवाईसी फ्लप गर्नु पर्ने हुन्छ । त्यसपछि व्यवसायिक प्रयोगकर्ताहरुले एक पटकमा बढीमा एक लाख कारोबार गर्न सक्नु हुन्छ भने आफ्नो एकाउन्टमा प्रतिदिन ५ लाख रुपैयाँसम्म जम्मा गर्न सक्नुहुन्छ । त्यस्तै बैंक तथा अन्य संस्थाहरुको खातामा ट्रान्फर गर्दा एक पटकमा बढीमा २५ हजार सम्म ट्रान्सफर गर्न सकिन्छ ।

१०. अहिलेको कोरोना महामारीको समयमा अनलाईन कारोवार कतिको प्रभावकारी देखिएको छ ?

कोरोना संक्रमणको अवस्था सिर्जना हुनु भन्दा पहिले र अहिलेको अवस्था एकदमै फरक छ । पछिल्लो समयमा झनै अनलाईन कारोबार एकदमै बढेको छ । अझ भन्ने हो भने ई–प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । कोरोना कहरपछि लागू गरिएको लकडाउनका कारण घर बाहिर निस्कन नसकिरहेको अवस्थामा ई–सेवा प्रयोगकर्ताहरुले घरमै बसेर कारोबार गरिरहनुभएको छ । भने नभएकाहरुले पनि एकाउन्ट सिर्जना गरेर कारोबार गरिरहनु भएको छ । पैसा लिएर भुक्तानी गर्न जाँदा भिडभाड बढी हुने भएकाले संक्रमण फैलिन सक्ने जोखिम हुने हुँदा घरमै बसेर अनलाईन भुक्तानी एवं कारोबार गर्दा सहज भएको छ भने समयको पनि बचत भएको छ । यसले गर्दा अहिले अनलाइन कारोबार एकदमै प्रभावकारी देखिएको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज १, २०७७     10:53:06 AM  |