‘साना उद्यमीको योगदान राज्यले भुल्नु हुँदैन’



विश्वलाई नै कोरोना महामारीले अस्तव्यवस्त बनायो । विश्वका शक्तिशाली राष्ट्रको अर्थतन्त्रमा नै धक्का पु¥यायो । इतिहासमा नै पहिलोपटक होला यसरी विश्वको नै अर्थतन्त्र डामाडोल भएको । अझै केही देशमा अर्थतन्त्र बिग्रदो क्रममा रहेको छ । विश्वका ठूला कम्पनीले कोरोना कहरकै कारण कर्मचारी र उत्पादन नै कटौती गर्नुप¥यो । नेपालमा कोरोना महामारी अझै अन्त्य हुन सकेको छैन । प्रमुख शहरहरुमा अहिले पनि विभिन्न नाममा निषेधाज्ञा लगाइएको अवस्था छ । कोरोना महामारीको मारमा नेपालका लघु, घरेलु तथा साना उद्योगहरु समेत परेका छन् । बाँकेमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु समेत कोरोना महामारीका कारण धरासायी बन्ने अवस्थामा पुगे । लकडाउन खुुकुलो भएपछि लघु, घरेलु तथा साना उद्योगहरुको अवस्था समस्या र सरकारले गर्नुपर्ने सहयोग लगायतका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव गिरीराज भुषालसँग कृष्ण ओलीले गरेको कुराकानी ।

१. लकडाउन खुकुलो भएको छ । अहिले लघु, घरेलु तथा साना उद्योगहरुको अवस्था कस्तो छ ?

फेसन खुकुलो, फेसन बन्द जस्तो छ । यो अवस्थामा यहाँका उद्योगहरु त चल्न सक्ने अवस्थामा छैनन् । उद्योगहरुमा काम गर्ने कर्मचारीहरु पहिल्यै घर गइसकेको अवस्था छ । उद्योगका प्राविधिकहरु अधिकांश भारतीयहरु छन् । यता लकडाउन खुकुलो भएपनि उनीहरुलाई आउन सकेका छैनन् । साना उद्योगमा काम गर्ने भारतीय टेक्निकल कर्मचारी तत्कालै यहाँ आएर काम गर्न सक्ने अवस्था पनि छैन ।

२. घरेलु तथा साना उद्योगीहरुका समस्याहरु बुझ्न तपाईहरु उद्योगसम्मै पुग्नुभयो । खासमा उहाँहरुका समस्याहरु के–के
पाउनुभयो ?

एउटा समस्या भनेको सप्लाई र खरिदको च्यानल बिग्रिएको छ यतिखेर । कच्चा पदार्थ आयात गर्दा होस् वा किन्दा होस् सहज रुपले आइरहेको छैन । साहुहरुले समेत राम्रोसँग सप्लाई गरिरहेका छैनन् । भन्सारबाट समेत सहज रुपमा कच्चा पदार्थ आयात हुन सकेको
छैन । यहाँ उत्पादन भएका बस्तुहरु सहज रुपले बजारमा जान सकिरहेको छैन । अलि अलि उत्पादन भइरहेको बस्तु बेला बेला भइरहने लकडाउनले खरिदकर्तासम्म पुग्दैन । त्यसले गर्दा अर्कातर्फ कच्चा पदार्थमा गरेको लगानी खेर जान्छ भने अर्कोतर्फ तयारी बस्तुहरु खेर फाल्नुपर्छ । व्यवसायी र उद्योगी बीचको सम्बन्ध समेत बिग्रिछ । त्यसैले यतिखेर सप्लाई र खरिदको च्यानल टुटिसकेकाले बिजनेस एकदमै अठ्यारो अवस्थामा छ ।

३. महासंघले घरेलु तथा साना उद्योगीका लागि कस्ता–कस्ता काममा सहजिकरण गरिरहेको छ ?

हामीहरुले खास गरेर अहिले नयाँ तथा पुराना सदस्यहरुलाई बैंकको एक किसिमको हाउगुजीबाट अलिकती भएपनि तनाव मुक्त गर्नुपर्र्छ भन्ने सोच राखेर एकिकृत कर्जाको योजना ल्याएका हौं । खासगरी यसमा चाही हामीले बैंकहरुसँग सहुलियत दरमा बार्गेनिङ गरेर हाम्रा सदस्य ज्यूहरुलाई सहुलियतमा कर्जा जस्तो सेवा शुल्क, ब्याजदरमा सहुलियत दिने बातावरण बनाइदिन्छौं । अर्को कुरा बैंकबाट छिटो छरितो कर्जा दिलाउने व्यवस्था समेत मिलाउँछौं । बैंकिङ सेवा चाही महासंघको पहलकदमीमा जान्छ । यो कारणले गर्दा भोलुममा बिजनेस जाँदा बैंकहरु पनि बढी जवाफदेही हुन्छन् भन्ने राम्रो मान्यता हो ।

४. लामो समयसम्म लकडाउन हुँदा व्यवसायीहरुले बैंकमा साँवा, ब्याज बुझाउन नसक्दा बैंकहरुले कस्तो व्यवहार गरेको पाउनुभएको छ ?

पूराना व्यवसायीहरुलाई भने बैंकले पनि केही सहजिकरण गर्न खोजेको जस्तो देखिन्छ । त्यो पप्र्यात चाँही छैन । अब यस्तो छ, राज्यले पनि कुनै खालको त्यस्तो व्यवस्था बैंकहरुका लागि गरिदिएको छैन । राज्यले ब्याज रकम नहाल्नेहरुलाई कालोसूचीमा राख्न नमिल्ने नियम त ल्याइदिएको छ । व्यवसाय नै नचलेको अवस्थामा ब्याज तिर्न नसकिरेको अवस्थामा के भन्ने कुरा बैंकमा पनि अन्यौलता छ । खास गरेर मौद्रिक नितिले समेत त्यो कुरालाई सम्बोधन गर्न सकेको छैन । अर्को तिर भने के हुन्छ भने, बिजनेस नचलिरहेको अवस्थामा ऋणमाथि ऋण थपेर झन् समस्या आउँछ । ऋण थपेर मात्रै समस्याको समाधान हुन्छ जस्तो राज्य र बैंक देखेको छ । धितो राम्रो, बैंकसँग राम्रो सम्बन्ध भएकाहरुले त ऋण थपेर पनि बिजनेश लगाइराखेका छन् । साना घरेलु उद्यमीसँग धेरै धितो पनि हुँदैन, पुँजि पनि हुँदैन । त्यसैले यस्तै अवस्था रहे धेरै साना घरेलु उद्यमीहरु पलायन हुने अवस्था भइसकेको छ ।

५. लकडाउनका कारण साना लगानीमा खुलेका उद्योगीहरुलाई समस्या भएको हो ?

कम लगानीमा खुलेका घरेलु तथा साना उद्योगहरु धेरै नै समस्याग्रस्त छन् । यसमा त लगभग ९० प्रतिशत व्यवसायी नै धरासायी हुने स्थिती छ । लकडाउनले कसैलाई असर गरेको छ भने लघु, घरेलु तथा साना उद्यमीहरुलाई नै गरेको छ । साना व्यवसायीको सप्लाई र खरिद च्यानल नै टुटिसकेकाले यतीखेर केही गर्न सक्ने अवस्था नै छैन । अलिकती धेरै पुँजी भएका व्यवसायीहरुलाई समेत लकडाउनले अठ्यारो पारेको स्थिती छ । ठूला उद्यमीहरु समस्याग्रस्त भएको बेला साना उद्यमीहरु त समस्याग्रस्त नहुने भन्ने कुरै भएन ।

६. स्थानीय स्तरमा लघु, घरेलु तथा साना उद्योगहरुले धेरै रोजगारी सिर्जना गरेको पाइन्छ । लकडाउनका कारण समस्यामा परेका यस्ता उद्योगहरुलाई माथि उकास्न राज्यले के गर्नुपर्ला ?

यसमा राज्यले गर्नुपर्ने एउटा चाँही लकडाउनको अवधीमा ब्याज तिर्न नसक्ने व्यवसायीको ब्याजको जिम्मा राज्यले लिनुपर्छ ।
व्यवसायीलाई समस्या पर्दा राज्यले हेर्नुपर्छ । अब पनि लकडाउन अरु केही गर्नुप¥यो भने कसरी हुन्छ उद्योगहरु चाँही बन्द गर्न दिनु हुँदैन । उत्पादन बन्द हुँदा धेरै कुरामा पछिसम्म असर गर्छ । बीचैमा उत्पादन रोक्नुपर्दा तत्काल प्रयोग गर्नुपर्ने कच्चा पदार्थ खेर
जान्छ । तत्कालै बजारमा पठाउनुपर्ने बस्तुहरु खेर फाल्नुपर्छ । यसो गर्दा उद्यमीले ठूलो आर्थिक क्षती व्यहोर्नुपर्छ । त्यसैले गर्दा उद्योग र लघु, घरेलु सञ्चालन गर्दै त्यहाँबाट उत्पादन भएका साम्रगीहरु बजारमा जाने वातावरण राज्यले बनाउन सके साना उद्यमी विस्तारै माथि उठ्न सक्छन् । लकडाउन अघिसम्म लघु, घरेलु उद्योगहरु विस्तारै माथि उठिसकेका थिए । फेरी लकडाउनले पुरानै अवस्थामा फर्काइदिएको छ । बन्द हुने अवस्थामा पुगेका घरेलु उद्योगलाई राज्य कर, ब्याज छुट अथवा अनुदान दिएर पनि माथि उकास्न सक्छ । त्यो राज्यको नितिमा भर पर्ने कुरा हो ।

७. देशमा अझै कोरोना कहर सकिएको छैन । बाँकेमा फेरी सातामा दुई दिन पूर्ण लकडाउन गर्ने घोषणा गरिएको छ । यसले फेरी व्यवसायीलाई कत्तिको समस्या होला ?

यो दुई दिने लकडाउनले केही पनि हुँदैन । यो अहिलेसम्मकै अवैज्ञानिक निर्णय हो । यो मोडालिटीको लकडाउनले कोरोना नियन्त्रण हुन्थ्यो भने त पहिले नै हुन्थ्यो । लकडाउनले कोरोना नियन्त्रण हुने होइन् । अझ् यो खालको मोटालिटीले त हुँदै हुँदैन । केही दिन अघिको घटना सुनाउँछु, भन्सार कार्यालयमा कोरोना देखिसकेपछि भन्सारबाट पास हुनका लागि तयारी हालतमा रहेका कच्चा पदार्थ आयात रोक्यो । तर तयारी बस्तुहरु भने अत्याश्यक भन्दै आयात दिने निर्णय भयो । यहाँनेर राज्य पोलिसी यस्तो छ । जुन नेपालमा ल्याएर अत्याश्वयकीय बस्तु बनाउन सकिन्थ्यो ती बस्तु रोक्ने तयारी बस्तु आयात गर्ने भन्नुको मतलब त यहाँका उद्योगीलाई धरासायी बनाउने खेल हो । यसले आयातमुखी अर्थतन्त्रलाई नै बढावा दिने काम भयो । लघु घरेलु उद्योग माथि उठ्नुपर्छ भन्ने सोच राज्यको नै छैन ।

८. भन्सारका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कच्चा पदार्थ आयात केही समस्या देखिएको हो र ?

भारतको भन्सारबाट नै कच्चा पदार्थ आयात नगर्ने भनेर यताबाट पत्र पठाइएको रहेछ । समयमा नै आयात नहुँदा कन्टेनरको हर्जना आयातकर्ताले व्यहोर्नुपर्छ । अर्को कुरा घामको कारणले विभिन्न कच्चा पदार्थहरु बिग्रिरहेको अवस्था हुन्छ । शनिवार र आइतवार भारतीय भन्सार क्षेत्रमा सबै बन्द हुन्छ । गाडिका स्टाफहरुलाई खान बस्नको समस्या हुन्छ । उनीहरुले समस्या भएको भन्दै लामो समयसम्म बस्नुपर्दा माल सामानहरु सीमा पारी झार्न आयात कर्तालाई बाध्य बनाउँछन् । एकैदिनमा भन्सार भएर आउनुपर्ने बस्तु हप्तौ दिनपछि आउँदा आयातकर्ता धेरै आर्थिक क्षती र तनाव व्यहोर्नुपर्छ । भन्सार पास नहुँदासम्म सप्लायर्सले पैसा पाउँदैन । भन्सार ढिलो हुँदा सप्लायर्सले पनि व्यवसायीहरुलाई अविश्वास गर्न थालेको अवस्था छ । समयमै भन्सारमा गर्न नसक्ने भन्दै सप्लायर्सले माल नै पठाउन छोडिसकेको अवस्था छ । व्यवसायीहरु दोहोरो मारमा छन् । त्यसैले उद्योगीहरुलाई अहिले भन्सारका कारण धेरै ठूलो समस्या परेको छ ।

९. कोरोना महामारीको बेला व्यवसायीहरुका यस्ता समस्या समाधानको लागि राज्यले के गर्नुपर्ला ?

पहिलो कुरा व्यवसाय बन्द गर्ने भन्ने निति हटाउनुपर्छ । सुरक्षाका मापदण्ड अपनाउनुपर्छ । स्वास्थ्य सुरक्षा विधी अपनाएर उद्योगहरु पूर्ण रुपमा सञ्चालन गर्नुपर्दछ । राज्यले नेपालमा नै उत्पादन हुने बस्तुहरु यहाँ नै प्रयोग गर्ने खालको वातावरण गराइदिनुपर्छ । त्यस्ता बस्तुहरु आयातमा रोक लगाउनुपर्छ । नेपालमा नै उत्पादन भएका बस्तुहरु प्रयोग गर्नुपर्छ भन्नेबारे सचेतना राज्यले फैलाउनुपर्छ । अब फेरी उद्योगहरु बन्द गराउने तर्फ लाग्नु हुँदैन । यसले स्वयम् राज्यलाई समेत राम्रो गर्दैन । उद्योगबाट कोरोना सर्ने भन्ने पनि हुँदैन । स्वास्थ्य मापदण्ड अनुसार नै काम हुने गर्दछ । ब्याज सहुलियतको कुरा पप्र्यात छैन । लघु, घरेलु उद्यमीहरुलाई ब्याज मिनाह गर्नुपर्दछ । सकेसम्म कर्जा पनि मिनाह गर्दा राम्रो हुने थियो । नेपालको आन्तरीक उत्पादनमा ८० प्रतिशत लघु घरेलु तथा साना उद्यमीको योगदान रहेको छ । राज्यले साना उद्यमी भनेर हेप्नु हुँदैन । आन्तरिक अर्थतन्त्र बलियो बनाउने लागि राज्य अझै अलि गम्भिर बन्नुपर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १५ गते सोमबार