साहित्य समाजको ऐना हो । साहित्यका माध्यमबाट समाजमनमा हरेक गतिविधिहरु सिर्जनात्मक रुपमा विभिन्न विधामा समेटिन्छन् । महामारीको समय समेत साहित्य मार्फत आम नागरिकमा आशाका किरणहरु छर्ने काम भएका प्रशस्त इतिहासहरु छन् । अहिले सारा विश्वले झेलिरहेको कोरोना कहरबारे समेत अनेकन पाटा र बाटाहरु साहित्य मार्फत बाहिर पक्कै आउलान् । प्रविधिको विकाससँगै नेपालमा कमै प्रचलनमा रहेको जुम प्रविधि मार्फत उल्लेख्य रुपमा साहित्य क्षेत्र अगाडि देखियो । साहित्यका माध्यमबाट पत्रकार, कवि, लेखक र साहित्यकारहरुले सिर्जना उजागर गरिरहेका छन् । नेपालका साहित्यमा उर्वर मानिएका क्षेत्रहरु मध्ये कोहलपुर समेत एक हो । यहाँ साहित्यि माहोल राम्रो छ । साहित्यका माध्यमबाट कोहलपुर देशभर चिनाउने अभियानमा लामो समयदेखि लागेका एक साघकको नाम हो सागर गैरे । पेशाले व्यवसायी रहेका गैरे ‘पूर्णिमा’ नामक साहित्यिक पत्रिकाका प्रघानसम्पादक समेत हुन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका सल्लाहकार समेत रहेका गैरे एक लेखकका रुपमा समेत परिचित छन् । लामो समयदेखि विभिन्न पत्रपत्रिकामा लेख, रचना प्रकाशित गराउँदै आएका गैरेको ‘लकडाउन’ नामक निबन्ध सङ्ग्रह प्रकाशनका लागि प्रेसमा पुगिसकेको छ । २०७७ सालका अन्तिमसम्म ‘मेरा बा’ निबन्ध सङ्ग्रह र देशभित्रको यात्रा र देश बाहिरको यात्रा गरी दुईवटा नियात्रा सङ्ग्रहहरु प्रकाशित हुगर्ने तगारीमा जुटेका छन् । साहित्यकार गैरेसँग महामारीमा साहित्य, यस्तो बेला समाजमा साहित्यले पार्ने प्रभाव, कोहलपुरको साहित्य र पूर्णिमा साहित्य प्रतिष्ठान लगायतका साहित्यका विभिन्न पक्षसँग केन्द्रित रहेर मिसन टुडे दैनिकका साहित्यिक सम्पादक महानन्द ढकालको विशेष सहयोगमा शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
१.मिसन कुराकानीमा यहाँलाई स्वागत छ । कोरोना कहरको समयमा दैनिकी कसरी बितिरहेको छ ?
- धन्यवाद । कोरोनाले सिङ्गो विश्व नै आक्रान्त छ । यसको प्रभाव हाम्रो देशमा समेत रहेको छ । सम्पूर्ण सेवा बन्द छन् । करिब ६ महिना डर र त्रासमा घर भित्रै बितायौँ । घरभित्रै बस्दा पहिला पहिला त शुन्य अवस्था भयो । पछि पछि बिस्तारै अध्ययन र लेखनमा जोड दिदै दिनहरु बितिरहेका छन् ।
२.कोरोना महामारीको समयमा अझ भनौं लकडाउनको समयावधिमा साहित्य सिर्जना कत्तिको गर्नुभयो ?
- यो बेला भनेको घरभित्रै बस्ने हो । अब घरभित्र बसिसकेपछि ओल्लो कोठा, पल्लो कोठा, तल, माथि, गर्दा गर्दै धेरै दिन बिते । पहिला एक प्रकारको आनन्द थियो । पछि एकप्रकारको छटपटि थियो । के गर्ने कसो गर्ने । मानिसहरुको जातै हो । एकै ठाउँमा केही नगरी त बस्नै सक्दैन । त्यसपछिका समयमा भने मैले समग्रमा आफूलाई नियाल्ने मौका पाएँ । सायद सबै लेखक, कवि र साहित्यकारहरुले रचनात्मक रुपमा समय बिताउनु भयो होला । यसरी लेख्ने साहित्यकारहरुका लागि यो समय उपयुक्त समयको रुपमा रह्यो । मेरो कुरा गर्नुहुन्छ भने मैले निरन्तर लेखिरहेँ । पहिला पढ्न चाहेर पनि पढ्न नपाएका पुस्तकहरु अध्ययन गरेँ । नयाँ केही फिल्महरु हेरँे । लेखन र घरायसी काम गरेँ । खास साहित्य लेखन र अध्ययन नै बढी बित्यो मेरो समय । अहिले पनि निरन्तर सोही अनुसार चलिरहेको छ ।
३. विपत्तिको समय भनेको एक प्रकारको त्रासको अवस्था हो, कति सहज र असहज महशुस गर्नु भयो नि ?
- मान्छे कोहीसँग डराउँछ, भने त्यो मृत्यु हो । यो भन्दा पहिले विश्वले आणविक त्रास, विश्वयुद्धको त्रास भोगिसकेका छन् । तर अहिले आएर हामीले आँखाले समेत देख्न नसक्ने भाइरस विश्वमा महामारीको रुपमा देखा परेको छ । यसबाट बच्नको लागि हामी मास्क लगाउँछौ । सेनिटाइजर प्रयोग गर्छौ । सरसफाई धेरै गर्ने भनिएको छ । सामाजिक दुरी बढाउनु पर्ने अवस्था छ । यसको कारण हरेक क्षेत्र ठप्प अवस्थामा छ । यो साच्चै भन्नु पर्दा कहाली लाग्दो अवस्था हो । यस्तो अवस्थामा हरेक मानिस मनोवैज्ञानिक त्रासमा हुने नै भयो । हामीलाई हुने हो की भन्ने त्रास त आम त्रास हो । साँच्चिकै भन्ने हो भने हामी डरैडरको अवस्थामा गुज्रिरहेका छौँ ।
४.साहित्यलाई समाजको ऐना भनिन्छ, यतिबेला समाजलाई सकारात्मक रुपमा प्रभाव पर्ने गरी साहित्यले कत्तिको भूमिका खेलेको पाउनु भयो ?
- लकडाउन भयो, मानिसहरु घरभित्र बसेँ । पछि लकडाउन लम्बिने भन्ने भयो । मान्छे अहिले भूमण्डलिकरणमा छ । उदाहरणका लागि कोहलपुरको मान्छे कहाँ जान्छ भन्ने रेकर्ड हुदैन । मान्छेलाई काम नगरी पनि हुँदैन । आफ्ना सपना पुरा गर्न, परिवार पाल्नको लागि स्वास्थ्य र शिक्षाका लागि पैसा कमाउनुपर्छ । सबै आफ्ना आफ्ना ठाउँमा थिए । जब लकडाउन भयो । झण्डै एक महिनाको अवधिमा मानिसहरु घर फर्किन थाले । विशेष गरी मजदुर वर्ग यसको चपेटामा प¥यो । सरकारले उनीहरुको सही व्यवस्थापन गर्न सकेन । जुन कुरा पत्रकारिताको माध्यमबाट सडकदेखि सदनसम्म समेत पुग्यो । मजदुरले काम पाएनन, खानेकुरा भएन । उनीहरु हजारौं कोस हिडेर घर फर्किए । त्यो पनि पैदल । हप्तौ हिडे । भोक, प्यास, चिसो, तातो केही पनि भनेनन् । मानिसलाई यसले विचलित बनायो । पूर्वबाट पश्चिम हिडे । सयौ किलोमिटर साइकलमा यात्रा गरे । कोही त खाना समेत नपाएर मरे । कारुणिक दृष्यहरु सञ्चार माध्यम र पत्रपत्रिकामा आए । पत्रकारहरुले यस्ता समाजमा गम्भीर विषय उठान गरे । उनीहरुका दुःख पढ्दा मात्रै आँखाबाट आँशु झर्ने अवस्था थियो । जुन हामीले कोही कसैले पनि सोचेका थिएनांै । महामारीले त्यस्तो अवस्था ल्यायो । ती कुराहरु तत्काल समाचारको माध्यम बनाएर उठाए । साहित्यका कविता, निबन्ध, कथा मार्फत बाहिर आइरहेका छन् । यो बेलामा कवि, लेखकहरुले फुर्सद पाए । किताबहरु लेखिरहेका होलान् । अब प्रकाशन हुने किताबहरु कोरोना कहरका सास्ती बारेमा कथाहरु आउनेछन् । यतिबेला प्रकाशन भएका कृतिहरु भविष्यका लागि कोरोना कहरको दर्पण बनेर रहने छन् ।
५.विद्यामान महामारीको समयमा सिङ्गो मानव समुदायले के पाए के गुमाए जस्तो लागिरहेको छ ?
- मानिस मुलत घुमन्ते प्राणी हो । मानव विकासको गति विभिन्न परिवर्तनसँगै भएको पाइन्छ । बिगतमा हरेक मानव कृषक थियो । हरेकको पेशा कृषि थियो । संसार आफँैमा एक विचित्र सत्य हो । मुसा, कमिला लगायत यस्ता प्राणी पनि छन्, जो आफ्ना लागि खाना संञ्चित गरेर राख्छन् । मानिस यस्तो प्राणी हो । यसले आफ्नो लागि हरेक चिज आफँै आविष्कार ग¥यो । यी सबै कुरालाई अहिले कोरोनाले धक्का दिइरहेको छ । भाइरसहरु मानिसको उत्पति हुनुभन्दा पहिले पनि त थिए । अहिले पछिल्लो समय चीनबाट बाहिर आयो । र मान्छेमा यो सर्ने भयो । कोरोनाले मानिसमा मनौवैज्ञानिक असर र प्रभाव पारेको छ । मानिस विवेकशील प्राणी हो । तर कोरोना भाइरस मानिस कै नियन्त्रणभन्दा बाहिर छ । नाका बन्द गर्दा रोकिएन । सिसिटिभि लगाएर मानिस छिर्न नदिदाँ समेत यो छि¥यो । मान्छेले नै बनाएका यन्त्रबाट यसले विश्व भ्रमण ग¥यो । विश्वर महामारी फैलियो । यसले नै आम मानिसमा त्रास जन्मायो । मेरो विचारमा अबको केही समयमा मानिसले कोरोना विरुद्धको खोप लगाउनेछ । त्यसपछिको अवस्थामा फरक आउला । मानिसले अब फेरि कस्तो खालको विपत्ति र वा महामारी आउने हो भने सोच्ने छ । संसार अब हिजो जस्तो रहन्न । कोरोना पछि संसार अर्को हुन्छ । मानिसले धेरै कुरा गुमाएको पनि छ र धेरै कुरा प्राप्त समेत गर्नेछ ।
६.अब कोहलपुरको साहित्यिक अवस्था, पूर्णिमा । साहित्य प्रतिष्टान मार्फत भएका प्रयास र सम्भावनाका विषयमा कुरा गरांै, तपाईं चाहीँ लामो समय साहित्य क्षेत्रमा लाग्नु भयो, पुस्तक प्रकाशनको तयारी बारे के सोच्नु भएको छ ?
- शुरुवात मै तपार्इंले व्यवसायी भनेर चिनाउनु भयो, म पेसाले व्यवसायी नै हो । मेरो कोहलपुरमा रङ्गरोगनको पसल छ । व्यस्त व्यवसायिक जीवनबाट अलिकति फुर्सद निकालेर साहित्यलाई पनि समय दिने गरेको छु । साहित्य सानै देखिको रहर हो मेरो । फुसर्दको समयमा साहित्यलाई पनि प्राथमिकता दिएको छु । विशेष गरी मलाई पुस्तकहरु पढ्न अति नै रहर लाग्छ । समकालिन साहित्यका बजारमा आएका पुस्तक सकेसम्म पढ्न छुटाउँदिन । पहिलो समय अनलाइन पार्टलहरुले साहित्यका विषयमा लेखिएका, पत्रिकामा छापिएका साहित्य पढ्ने मेरो दैनिकी जस्तै हो । लेख्ने समेत गरेको छु । कोहलपुरमा २० वर्षदेखि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान क्रियाशील छ । यो संस्थाले साहित्यिक कार्यक्रम गर्ने, कृति प्रकाशन र त्रैमासिक रुपमा ‘पूर्णिमा’ पत्रिका प्रकाशन गर्ने गरेको छ । मेरो सवालमा भन्नु पर्दा विभिन्न पत्रपत्रिकामा थूप्र्रै लेख रचनाहरु लेख्दै आइरहेको छु । तर अहिलेसम्म मेरो व्यक्तिगत पुस्तक प्रकाशन भएको छैन । पुस्तक प्रकाशन गर्ने धेरै ठूलो रहर हुँदा हुदैपनि संयोग जुरेको थिएन । अहिले भने कोरोना कहरले भएको लकडाउनका कारण पुस्तक प्रकाशन गर्ने संयोग जुरेको छ । सम्भवतः अबको दुई सातामा मेरो ‘लकडाउन’ नामक कृति बजारमा आउनेछ । यो विधाका हिसाबले निबन्ध हो । यस्तै २०७७ साल मै मैले थप दुईवटा पुस्तक प्रकाशनको लागि गृहकार्य गरिरहेको छु ।
७. २० वर्षदेखि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान अनवरत रुपमा साहित्यको उन्नयनको लागि क्रियाशील छ, पूर्णिमा र कोहलपुरको सम्बन्धलाई कसरी चिनाउनुहुन्छ ?
- कोहलपुर एक उदाउँदो सहर हो । यो साविक मध्यपश्चिम क्षेत्रको ट्रान्जिट समेत हो । तीन प्रदेश पुग्न यहाँबाट प्रस्थान गर्नुपर्छ । यहाँबाट दिल्लीसम्म पुग्न सकिन्छ । पछिल्ला केही दशक यता कोहलपुर तीव्र विकासको चरणमा छ । ४० को दशकतिर टाउन प्लानिङको अवधारणा आएपछि विकासले गति लियो । धेरै ठाउँका मानिस यहाँ बस्न आउन थाले । पहाडी क्षेत्रका मानिसहरुले गन्तव्यको रुपमा कोहलपुरलाई लिरहेका छन् । समग्र रुपमा सबै क्षेत्रको विकास भइरहेको छ । यही क्षेत्रमा साहित्यलाई उजागर गर्ने, नयाँ साहित्यकार जन्माउने र विभिन्न साहित्यिक गतिविधि गर्ने हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान छ । देशभरका साहित्यका हस्तीहरुले पूर्णिमा कै कारण कोहलपुरलाई चिन्छन् । कोहलपुर र पूर्णिमा एक अर्कालाई चिनाउने माध्यम समेत हुन् । पूर्णिमाको वर्तमान टिम निकै सशत्त छ । स्थानीय भाषा साहित्यका लागि गम्भीर छ । यहाँ हरेक कुराको विकास स्भाविक रुपमा एक प्रकारको आफ्नै गतिमा भइरहेको छ । अबको आवश्यकता भनेको साहित्यको विकास हो । साहित्यिक स्थायित्वको हो ।
८.संस्थागत रुप मै कोहलपुर चिनाउनको लागि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको भूमिका महत्वपूर्ण छ, यहाँको स्थानीय सरकारको सहयोग कत्ति पाउनु भएको छ नि ?
- कोहलपुर नगरपालिका बनेपछि विकास लगायतका काम भइरहेका छन् । नयाँ नयाँ कर्मचारीहरु आउनु भएको छ । मलाई चाही कोहलपुर नगरपालिका मात्रै होइन सम्पूर्ण स्थानीय तहका अहिले सम्मका काम देख्दा पटक्कै चित्त बुझेको छैन । अहिलेको अवस्थामा भन्नु पर्दा मलाई यस्तो कुराले छैन । कुनैबेला राजनीतिक रुपमा आस्था थियो । अहिले राजनीतिक अवस्थाले हामीलाई सन्तुष्टि दिदैन । कोहलपुर नगरपालिकाको सवालमा भन्नु पर्दा साहित्यलाई माया गर्ने र साहित्यलाई राम्रोसँग बुझेको कोही छ जस्तो लाग्दैन । अहिले सम्म साहित्य क्षेत्रको विकासका लागि कुनै पनि दिर्घकालिन योजना नै देखिएको छैन । यहाँका लेखक साहित्यकारहरुलाई ‘प्रमोट’ गर्ने खालको उल्लेख्य केही काम हुन सकेको छैन । बिगतमा जे जति भयो करकापले भयो । नगरपालिकाले साहित्यलाई आफ्नो कर्तब्य र दायित्वभित्र राख्न सकेन । यस पटक मात्रै नगरपालिकाले पूर्णिमाको लागि प्रेमनगरमा २ कट्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । नीतिगत रुपमा समेत स्वीकृत भइसकेको अवस्था छ । तर कहिले हस्तान्त्रण हुने हो थाहा छैन । त्यो प्रक्रिया छिटो भएको भए हामीलाई सहयोग हुने थियो । हामी भौतिक संरचना निमार्णतिर लाग्ने थियांै । पूर्व र पश्चिम क्षेत्रमा हेर्दा आफ्नै जग्गामा ठूला ठूला साहित्यिक भवनहरु छन् । अन्य क्षेत्रमा साहित्यको लागि स्थानीय सरकारले काम गरेका थुप्रै उदाहरण छन् । हामीले धेरै पटक भनेका छौं । तर अहिले सम्म त्यो बाहेक अन्य सहयोग प्राप्त भएको छैन । भाषा, साहित्य र कलाको विकासबिना कुनै पनि स्थान समुन्नत बन्न सक्दैन भन्ने कुराको चेत स्थानीय निकायलाई हुनु जरुरी छ ।
९. यहाँ हुने गरेका साहित्यिक गतिविधिको प्रकाशनमा स्थानीय मिडियाको सहयोग कस्तो छ ?
- अहिले यहाँका दुई, चार वटा गीत, गजल, मुत्तक प्रकाशन गरेपनि मिडियाले स्थायी तरिकाले साहित्यिक गतिविधिलाई प्रमुखताका साथमा लिएको देखिदैन । तर केही समययता मिसन टुडे दैनिकले साहित्यिक गतिविधि समेटेर व्यवस्थित गर्ने जमर्को गरेको छ । मिसन टुडेले कोहलपुरका एक ख्यातीप्राप्त साहित्यकार महानन्द ढकाल त्यो पाटो हेर्दै आउनु भएको छ । यो सकारात्मक पाटो हो । मिसनले लेखक साहित्यकारहरुलाई प्राथमिकतामा राख्न सकोस् । मिसनले साहित्यिक स्तरियतालाई ध्यान दिन सकोस् भन्ने मेरो आशा छ ।
१०.अन्त्यमा, यहाँका स्थानीय सर्जक, उनीहरुका काम र उत्तरदायित्व के हो जस्तो लाग्छ ?
- कोहलपुर साहित्यको उर्वर भूमि हो । यहाँको भौगोलिक अवस्थिति विशेषता हो । धेरै साहित्यलाई मन पराउने मान्छेहरु यहाँ छन् । हरेक मानिस कोहलपुर आउन चाहन्छ । त्यसमा कोही न कोही साहित्यलाई मन गराउने मानिस छ । पूर्णिमाले धेरैलाई समेटेको छ । तर अहिले पनि कति धेरै चित्रकार, कलाकार, कवि, लेखकहरु छन् । सरकारी सेवामा रकार्यरत छन् । सबैलाई साहित्यका माध्यमबाट जोड्ने प्रयास पूर्णिमाले गरेको छ । आशा छ जोडिन नसकेकाहरु पनि कुनै न कुनै माध्यमबाट जोडिनु हुनेछ । जहाँसम्म स्थानीय सर्जकको कुरा छ । पूर्णिमाले स्थानीय सर्जकहरु कै ३० वटा भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ । अहिले पनि धेरैले आफ्नो कृति प्रकाशन गर्न आग्रह गरिरहनु भएको छ । अहिले नयाँ आउनेहरुले छोटा साहित्यलाई अंगाल्नु भएको छ । आख्यान लेख्नेहरु समेत छन् । उनीहरु सबैको उत्तरदायित्व भनेकै साहित्यका कुनैपनि माध्यमबाट समाजका बाटा र पाटाहरुलाई उजागर गर्ने नै हो । अन्त्यमा, मेरा विचारहरु राख्ने मौका दिनु भएकोमा मिसन टुडे दैनिकलाई धन्यावाद ।








प्रतिक्रिया दिनुहोस्