पाकिस्तानले विवादित जम्मू–कश्मीर, लद्दाख, गुजरातको जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेका हुन् । मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेको छ ।
नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गरेका छन्। गएको वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको उनको आरोप छ ।
त्यो नक्सा आफूहरुलाई अमान्य भएकाले पनि नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाइ छ । उनले अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्णय भएको पनि बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भारतले भने पाकिस्तानको नयाँ नक्सा खारेज गर्दै यसको कानुनी वैधता र अन्तराष्ट्रिय स्तरमा कुनै विश्वसनीयता नभएको दाबी गरेको छ । -ujyaaloonline









प्रतिक्रिया दिनुहोस्