सम्पादकीय : अझै सचेत हुन आवश्यक



विगत चार महिनायता कोरोनाका कारण लगाइएको लकडाउन अझै खुल्ला हुन सकेको छैन । फेरी केही दिनयता नेपालमा कोरोना संक्रमितहरु बढिरहेका छन् । जेष्ठ महिनामा सबै भन्दा बढी कोरोना संक्रमण फैलिएको नेपालमा असार अन्तिम साता यता भने संक्रमितको संख्या केही घटिरहेको हो । पछिल्ला केही हप्तायता भने दैनिक सरदर १ सय ५० जनाको संख्यामा संक्रमित देखा पर्न थालेका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ छ । अहिलेसम्म कोरोना संक्रमण जित्नेहरुको संख्या ११ हजार ६ सय ९५ रहेको छ । नेपाल भित्र कोरोनाका कारण मृत्यु हुनको संख्या भने ४० रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका आठ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोनामुक्त भएका हुन् । यता बाँकेमा समेत केही स्थानीय तह कोरोना मुक्त भइसकेका छन् । बाँकेमा कोरोनाको ‘हटष्पट’ भनेको नरैनापुर अहिले कोरोना मुक्त भइसकेको छ । पछिल्लो समय भने कोरोनाको संक्रमण दर समेत घटिरहेको छ । कोरोनाको परीक्षण गरिरहेको भेरी अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म कुल १७ हजार २ सय जनाको कोरोना परीक्षण भएको छ । हालसम्म अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण मध्ये ७ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । ती संक्रमित बाँके लगायत अन्य जिल्लाका समेत हुन् । पछिल्लो २४ घण्टामा ३ सय जनामा कोरोनाको परीक्षण सम्पन्न भएकोमा कुल १० जनामा कोरोना पुष्टि भयो । ती मध्ये बाँकेका १ जना मात्रै छन् । पछिल्लो समय लकडाउन भने केही खुकुलो पारिएको छ ।

यसले गर्दा तीन महिना बन्द अवस्थामा रहेको साना व्यवसाय भने खुलिसकेका छन् । ठूला आर्थिक क्षेत्र, यातायात, शैक्षिक संस्था भने अझै खुलेका छैनन् । नेपालमा कोरोना कहर बाँकी नै छ । तर सरकार तथा जनताको सतर्कता भने न्युन देखिन्छ । केही व्यक्तिहरु आफ्नो व्यक्तिगत सुरक्षाका लागि सुरक्षा अपनाइरहेको देखिएपनि पहिलाको जस्तो सुरक्षा व्यवस्था कडाई गरेको देखिदैन । कोरोना कहर कायमै रहेकोले अहिले लापरबाही गरे फेरी पनि कोरोनाको जोखिम झन् हुन सक्छ । सरकारले यस्ता कुरामा ध्यान दिनैपर्छ । लकडाउन मात्रै कोरोना कहर रोक्ने उपयुक्त विकल्प होइन भने प्रमाणित भइसकेकोले सरकारले खालि निरन्तरता दिने मात्रै नगरेपनि हुन्छ । अबको विकल्प भनेको मानिसहरुले आफ्नो सुरक्षा आफै गर्ने नै हो । त्यसैले पहिला सबैले व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्छ । अब व्यक्तिगत सुरक्षामा स्वंय् आफै ध्यान पु¥याउँदै शहरदेखि गाउँसम्म कोभिड–१९ बारे सचेतना फैलाउन जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमबार