‘सत्ता परिवर्तन भए तर शोच परिवर्तन भएन’



विश्व महामारीका रुपमा फैलिएको कोरोना झाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुधिरहेका बाँकेका स्थानीय तहहरु यतिबेला आगामी वर्षको निती तथा कार्यत्रम र बजेटको तयारीमा जुटिरहेका छन् । कोरोनाको संक्रमण बढ्दै गइरहे पनि त्यसको व्यवस्थापन गर्दै आगामी आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । कोरोनाले थलिएको अर्थव्यवस्थालाई उकास्न र मानव जनजीवनलाई सहज बनाउन आगामी आर्थिक वर्षमा के कस्ता निती तथा कार्यक्रम र बजेट ल्याउन आवश्यक छ ? यसका साथै स्थानीय सरकारका काम कारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका बारे नेपाली काँग्रेस बाँकेका महासमिति सदस्य देब बहादुर खत्रीसँग यानबी साहुले गरेको कुराकानी :

१. पहिलेको बैजनाथ र स्थानीय सरकार आइसकेपछिको बैजनाथमा विकासका दृष्टिले कतिको फरक पाउनु भएको छ ?

नेपाली जनताहरुले आफ्नो हक अधिकार सुनिश्चित गर्नका लागि वि.स.२०६२/०६३ मा देशव्यपी रुपमा आन्दोलन गर्नुपर्यो । राजतन्त्र अन्त्य गरी आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि सुरु भएको आन्दोलन करिव २१ दिनसम्म चल्यो । त्यसको फलस्वरुप नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे । संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिसँगै केन्द्रिकृत रहेको शासन व्यवस्था र विकास विकेन्द्रीकरण भएर स्थानीय तहसम्म पुग्यो । विकास, समृद्धि र शासन व्यवस्था लगायतका कुराहरु स्थानीय तहबाटै सञ्चालन गर्न संघियता आयो । तर शासकहरुको केन्द्रिकृत मानसिकता र शासन व्यवस्थामा परिवर्तन आउन सकेन । बैजनाथको सन्दर्भमा हेर्ने हो भने पनि संघियता भन्दा पहिलेको बैजनाथ र अहिलेको बैजनाथमा केहि फरक पाउन सकिन्छ । समयअनुसार हरेक कुरामा परिवर्तन आउँछ । स्थानीय सरकार आइसकेपछि जुन जनताका आशा अपेक्षाहरु थिए । ती अझै पनि अनुभुत गर्न पाएका छैनन् । अहिलेका विकास र पूर्वाधारका योजनाहरु छन्, ती कुनै ठोस र दीर्घकालिन छैनन् । शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार र कृषि लगायत जुनसुकै हुन्, ठोस र दीर्घकालिन छैनन् । विनियोजन गरिएका योजनाहरु पनि असारे विकासमा आधारि छन् । अधिकांश योजनाहरु असारमै सञ्चालन गर्ने, असारमै सम्झौता गरेर असारमै फर्च्यौट गर्ने खालका छन् । बैजनाथ गाउँपालिकामा पनि हेर्दा करिव ६५ प्रतिशत भौतिक पूर्वाधारका योजनाहरु असारे विकासमा आधारित देखिन्छन् । वर्षको एघार महिना ३५ प्रतिशत मात्रै योजनाहरु सम्पन्न भएका छन् । त्यसैले पहिले जुन केन्द्रबाट मात्रै शासन व्यवस्था सञ्चालन गर्दा अपेक्षित विकास हुन नसक्नु र जनताका अपेक्षाअनुसारका काम नहुनु स्वाभाविक नै थियो । तर स्थानीय सरकार आइसकेपछि पनि अझै जन अपेक्षा अनुसार कामहरु विकास हुन सकेको छैनन् । यसको अर्थ केहि भएको छैन भन्ने होइन । समयअनुसार परिर्वतनसँगै केहि परिवर्तन भएको छ । पहिलेको बैजनाथभन्दा अहिलेको बैजनाथमा विकासका दृष्टिले हेर्दा केहि राम्रा कामहरु पनि भएका छन् । तर अझै पनि आम नागरिकहरुले प्रत्याभुत गर्ने खालका धेरै कामहरु हुन बाँकी नै छन् ।

२. स्थानीय सरकारले तीन वर्षको अवधिमा जनाताले अपेक्षा गरे अनुसार काम गर्न सक्यो कि सकेन ?

जनताले राजनितिक अधिकार त पाए तर अझै महशुस गर्न पाएका छैनन् । नागरिकहरुले विकासमा जुन अनुभुति गर्नु पर्थ्यो, प्रत्यक्ष सहभागिता हुनुपर्थ्यो, जवनफदेहिता र अपनत्व हुनु पर्थ्यो । त्यो हुन सकेको छैन् । यहाँ मात्रै के भयो भने, जो सत्तामा आयो, उसले राजनितिक पहुँचका आधारमा आफ्ना कार्यकर्ता, नजिकका मान्छे, नातागोता रिझाउने काम मात्रै भए, हरेक तहमा । अझै पनि केन्द्रिकृत मानसिकता र शासन व्यवस्था कायमै छ । स्थानीय सरकार आइसकेपछि जनताले जुन सेवा सुविधाहरु पाउनु पर्थ्यो, विकासको अनुभुति गर्न पाउनु पर्थ्यो, त्यो अझै पनि पाउन सकेका छैनन् । सत्ता परिवर्तन भयो तर काम गर्ने शोच र शैली परिवर्तन भएन । यसले गर्दा सर्वसाधारण जनता जसको पहुँच छैन, जो राजनितिक पहुँचभन्दा टाढा छ । त्यस्ता नागरिकहरुले परिवर्तनको कुनै महशुस गर्न पाएका छैनन् । यसले गर्दा नागरिकहरुमा झनै नैराश्यकता छाएको हामीले महशुस गरेका छौँ ।

३. बैजनाथवासीले प्रत्येक्ष अनुभुत गर्नका निम्ती स्थानीय सरकारले कसरी काम गर्नुपर्थ्यो अवथा कहाँ चुक्यो ?

मलाई यसमा के लाग्छ भने संघियतापछि स्थानीय तह त आयो । तर नगरिकहरुले सोचेजस्तो नभई त्यसमा पनि केन्द्रिकृत शासन प्रणाली नै हावी भयो । स्थानीय शासन प्रणाली लागू, सञ्चालन व्यवस्थाप गर्न केन्द्र सरकार नै अधिकार सम्पन्न देखिएको छ । राजनिति गर्ने नेता, राज्य व्यवस्था सञ्चालन गर्ने शासकहरु जति केन्द्रकृत प्रणालीबाट नै अघि बढिरहेका छन् । सरकार जसरी विकेन्द्रिकृत भएर स्थानीय तहसम्म पुग्नु पर्थ्यो । त्यो हुन सकेको छैन् । प्रदेश र केन्द्र सरकारले स्थानीय तहलाई जसरी मझ्वुत बनाउनु पर्थ्यो, त्यो हुन सकेको छैन । अर्को कुरा संघिय सरकारले प्रदेश र प्रदेश सरकारले स्थानीय तहलाई बन्देज गराइरहेको अवस्थामा काम गर्न पनि जटिल रहेको पाइएको छ । जुन अधिकारहरु स्थानीय सरकारलाई दिइएको छ । ति अधिकारहरु पनि केन्द्रिकृत हुँदै गएको पाइन्छ । यो विडम्वनाकै रुपमा देखिएको छ । अर्को कुरा स्थानीय नागरिकहरुले विकासको प्रत्येक्ष अनुभुत गर्नका लागि केन्द्रिकृत मानसिकता त्याग्नु पर्यो । त्यसका साथै स्थानीय तहलाई मजभुत बनाउन स्रोत साधनयुक्त बनाउँदै पहुँचमा पुर्‍याउनु पर्दछ । स्थानीय तहका प्रतिनिधिहरुले पनि त्यसको सहि सदुपयोग र प्रयोग गर्न जान्नु पर्दछ । स्थानीय तहमा भएका आम्दानीका स्रोत साधनहरुलाई स्थायी स्रोतका रुपमा बाँधेर यही उत्पादन र लगानी गर्ने वातावरण सिर्जना गर्ने सोच बनाउन जरुरी छ ।

४. बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षमा कस्तो खालका निति तथा कार्यक्रमहरु ल्याउन आवश्यक छ ?

अहिलेसम्म बैजनाथ गाउँपालिकाले जुन आफm्ना निति तथा वार्षिक कार्यक्रम र बजेट ल्याइरहेको छ । ति निति तथा कार्यत्रमहरु पनि केन्द्रिकृत रुपमा नै लागु गरिएको छ । किनभने वडा कार्यालयहरुबाट सञ्चालन गर्नुपर्ने कार्यक्रमहरु पनि गाउँपालिकाले नै सञ्चालन गरिरहेको छ । लक्षित वर्गका कार्यक्रम र तिनीहरुका लागि विनियोजन गरिएको रकम सबै गाउँपालिका मार्फत नै सञ्चालन भइरहेको अवस्था छ । विकास र पूर्वाधारका कार्यक्रमहरु पनि करिव ७० प्रतिशत गाउँपालिका आफैले सञ्चालन गरेको छ । वडाकार्यालयहरुलाई निस्तेज गरेर काम गरिएको छ । त्यस्तो नगरेर वडाका जनप्रतिनिधिहरुलाई पनि थप जिम्मेवारी, कर्तव्यवोध, जवाफदेहि बनाएर विकेन्द्रिकृत शासन पद्धति र स्थानीय स्वायत्त शासन अन्तर्गत काम गराउनु पर्दछ । यसका साथै आगामी आर्थिक वर्षमा ल्याउने निति तथा कार्यक्रम र बजेट जनतालाई केन्द्रविन्दुमा राखेर ल्याउन सकियो भने सबै भन्दा लाभदायिक हुन्छ । त्यसका लागि हामीले सबैभन्दा पहिले ग्रामिण भेगमा अझ त्यसमा पनि विकट क्षेत्रका गरिव, अतिविपन्न नागरिकहरुलाई लक्षित गरेर विनियोजन गर्‍यौ भने उनीहरुले स्थानीय सरकार आएको अनुभुत गर्छ । ग्रामिणमुखी योजनाहरु, जनतालाई प्रत्येक्ष लाभ हुने खालका कार्यक्रमहरु छनौट गर्नुपर्‍यो । अहिलेको परिस्थितिमा त झनै कोभिड–१९ को संक्रमणका कारण भोकमरी, बेरोजगारी बढेको छ । जनता गास र बासबाट वञ्चित हुने अवस्था छ । यो अवस्थामा जनताले प्रत्येक्ष लाभ लिने खालका कार्यक्रम तथा बजेट ल्याउन आवश्यक छ ।

५. यस आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु विशेष गरी कुन क्षेत्रमा केन्द्रित गर्न जरुरी छ ?

अहिलेको कोरोना महामारीको यो विषम परिस्थितिमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु विशेष गरेर स्वास्थ्य क्षेत्रलाई लक्षित गर्न जरुरी छ । मानिसको स्वास्थ्य सबै भन्दा ठूलो भएकाले स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्छ । किनभने विकास भन्ने कुरा मानव जीवित रहे फेरी पनि गर्न सकिन्छ । तर मानव नै रहेन भने विकास केका लागि ? त्यसैले सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिन आवश्यक छ भने दोस्रो प्राथमिकता जनताको जनजिविकालाई अथवा आय आर्जनमूलक कार्यक्रमहरु ल्याउनु पर्यो । मानिसलाई अतिआवश्यक पर्ने गास, बास र जीवन रक्षाका लागि चाहिने कार्यहरुमा बजेट खर्च गर्न आवश्यक हुन्छ ।

६. अहिलेसम्म गाउँपालिकाले ल्याउने निति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था कस्तो पाउनु भएको छ ?

वास्तवमा भन्ने हो भने गाउँपालिकाले अहिलेसम्म जुन बजेट तथा कार्यक्रमहरु ल्याएको छ । त्यो नितान्त आफ्नो कार्यकर्ताहरुको संरक्षण गर्ने, जहाँ आफ्ना कार्यकर्ताहरुको नेतृत्व छ, त्यहाँ बजेट विनियोजन गर्ने, जसको राजनितिक पहुँच छ, त्यस्ता ठाउँहरुमा माक्रै अत्याधिक बजेट विनियोजन हुन्छ । त्यसले गर्दा सन्तुलित विकास हुन सकेको छैन । त्यस्तै लक्षित वर्गका लगि सञ्चालन गरिएका कार्यत्रमहरु उनीहरुसम्म पुर्‍याउन खोजिएको छ तर पुग्न सकेका छैनन् । उनीहरुका लागि छुट्याइएको रकम बिचौलियाहरुले नै फर्च्यौट गर्ने, खर्च गर्ने परम्परा हिजो पनि थियो र आज पनि कायमै छ । यस्तै गाउँपालिकाले ल्याएका कयौँ योजनाहरु लागू हुन नसकेर कागजमै सिमित भएको अवस्था छ । योजनाहरु ल्याउनु मात्रै ठूलो होइन । ति योजनाहरुलाई लागु गरेर कार्यान्वयन गर्न सक्नु ठूलो हो । गाउँपालिकाबाट वडा कार्यालयहरुका लागि विनियोजन गरिने बजेटमा पनि ठूलो अन्तर हुने गरेको पाइएको छ । जसको गाउँपालिकामा बढी पहुँच छ, त्यो वडामा धरै बजेट जाने गरेको छ । यसले गर्दा विकासमा असन्तुलन भएर क्षेत्रिय विद्रोह हुन सक्ने खतरा बढेको छ ।

७. यहाँका नागरिकहरुले शिक्षा, स्वास्थ्य, कृषि लगायत विकासका क्षेत्रमा कतिको अनुभुति गर्न पाएका छन् ?

केहि राम्रो प्रभावहरु पनि परेका छन् । हिजो कुनै सानो सिफारिस लिनु पर्यो भने पनि घण्टौ हिडेर टाढा टाढा जानुपर्ने वाध्यता थियो । अहिले त्यस्तो नभएर घर आँगनबाट नै विभिन्न सेवाहरु सरल र सहज रुपमा पाउन सकिएको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरु पनि विकेन्द्रिकृत हुने क्रममा छन् । अहिले हरेक वडामा स्वास्थ्यचौकी स्थापना गर्ने, विद्यालय तथा कृषि सेवा केन्द्रहरु सञ्चालन भइरहेको अवस्था छ । हिजो भन्दा जनताले केहि प्रत्येक्ष विकासको अनुभुत गर्न पाएका छन् । उनीहरुको सहभागिता पनि बढेको छ । सेवा प्रवाह पनि द्रुत गतिमा छ । त्यसका साथै कृषकहरुलाई अनुदानका कार्यक्रमहरु ल्याएको छ । यो राम्रो पक्ष हो । अझै पनि सुधार गर्नुपर्ने पक्षहरु पनि धेरै छन् । र अहिले सबैभन्दा ठूलो समस्या भनेको शुसासन कायम गर्न नसक्नु र भ्रष्टाचार मौलाउनु हो । यी दुई कुरामा सुधार गर्न सकियो भने पनि ठूलो उपलब्धी हुन्छ ।

८. कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा बैजनाथ गाउँपालिका कतिको सफल भयो ? यहाँको विचारमा के लाग्छ ?

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिमित स्रोत साधन हुँदा हुँदै पनि बैजनाथ गाउँपालिकाले जुन किसिमको व्यवस्थापन गरेको छ । त्यो राम्रो नै छ । जस्तो भारतबाट आएका व्यक्तिहरुलाई विझिन्न क्वारेन्टिन तथा संक्रमित व्यत्तिहरुका लागि आइसोलेशनको व्यवस्था, चेक जाँच, उपचार लगायतका कार्यहरु सिमित स्रोत साधनको प्रयोग गरेर गरेर सेवा प्रवाह गरिरहेको छ । तथापी सबै ठाउँहरुमा त्यस्तो हुन सकेको छैन । कतिपय ठाउँहरुमा व्यवस्थापन एकदमै कमजोर देखिएको छ । राहत वितरण कार्यमा नै आग्रह पूर्वाग्रह देखिन्छ । जनप्रतिनिधिहरु कहि कतै त एकदमै संकुचित ढङ्गले अघि बढेको पाइन्छ । त्यसकारण त्यसो नभइदिए हुन्थयो भन्ने हाम्रो सुझाव हो । यति हुँदाहुँदै पनि पछिल्लो समय बैजनाथ गाउँपालिकाले केहि राम्रा कामहरु पनि गरेको हामीले अनुभुति गरेका छौँ । जस्तो अन्य गाउँपालिका भन्दा अग्रता त लियो तर जति लिनुपर्ने हो त्यति लिन सकेन ।

९. कोरोना भाइरसका कारण समस्यामा परेका नागरिकहरुको लागि नेपाली काँग्रेसले बैजनाथमा के कस्ता सहयोग गर्‍यो ?

नेपाली काँग्रेसले कुनै त्यस्तो अभियान नै चलाएर कार्यक्रम त गरेन । तर पनि पार्टीप्रति आस्था र विचार मिल्ने केहि साथीहरु मिलेर राहत संकलन गरेर वितरण गरेका छौँ । गाउँपालिकाले हामीलाई नसमेटेता पनि यो महामारीको समयमा हामी पनि सहभागी हुन पाउनु पर्छ भनेर केहि राहत संकलन गरेर सबैभन्दा पहिले युवाहरु मार्फत वितरण गर्‍र्यौ । हामीले त्यसरी राहत वितरण गर्दा जनप्रतिनिधिहरुबाट केहि आपत्ती पनि आयो । गाउँपालिकामा गएर हामीले उहाँहरुलाई यस्ता कार्यक्रमहरु रोक्नु हुँदैन भनेर सुझाव पनि दियौँ । विपतको बेलामा सहयोग गर्नु नितान्त मानविय सेवा भएकाले राजनितिक आग्रह पूर्वाग्रह नराखेर काम गर्नु पाउनु पर्छ भनेर उहाँहरुसँग तर्क गर्यौँ । यधपी हामीले राहत पाउनबाट छुटेका अथवा वञ्चित भएका तर पाउनै पर्ने अवस्थाका परिवारका लागि संकलन गरेर वितरण पनि गरेका छौँ ।

१०. अन्त्यमा गाउँपालिकालाई तपाइ र तपाइको पार्टी नेपाली काँग्रेसको तर्फबाट के दिन चाहनु हुन्छ ?

अहिलेको कोरोना महामारीको समयमा रोग र भोकले त्रसित हुने अवस्था छ । रोजगारी तथा कमाउनका लागि अन्य मुलुकमा गएका नागरिकहरु पनि रोग र भोकको त्रासका कारण घर फर्किरहेको अवस्था छ । घरमा आइसकेपछि पनि बेरोजगार भएर बस्नु पर्ने बाध्यता छ । त्यसकारण गाउँपालिकाले आगामी आर्थिक वर्षमा ल्याउने बजेट तथा कार्यक्रम विशेष गरेर स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने तथा कृषि र रोजगारमुखी ल्याउन जरुरी छ । यस्ता कार्यक्रमहरुबाट जनताले पनि प्रत्यक्षे लाभ लिन सक्ने र कृषि क्षेत्रमा उत्पादन पनि बढ्ने भएकाले जनताले प्रत्यक्षे अनुभुत गर्ने र लाभ हुने गरी बजेट र कार्यक्रम केन्द्रित गर्न जरुरी देखिन्छ । यसले गर्दा बैजनाथ गाउँपालिकालाई भविष्यमा समृद्ध बैजनाथ बन्न सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमहरु ल्याउन म र हाम्रो पार्टीको तर्फबाट सुझाव दिन चाहन्छु । –धन्यवाद !

  • No tags available
प्रकाशित मिति : २०७७ असार १६ गते मंगलबार