हरेक विपत्तिले बोकेको हुन्छ परिवर्तन



– सुर्य ढकाल ।

कोरोना भाइरस विश्वका २१२ भन्दा बढी देशमा फैलिसकेको छ । यो लेख तयार पार्दासम्म विश्वमा ४,७९,८८० मानिसहरुको मृत्यु भइसकेको र ९३,५९,८१८ भन्दा बढी संक्रमित भएका छन् । नेपालमा १०,७२८ हजारको हाराहारीमा संक्रमित र २४ जनाको मृत्यु भैसकेको छ । यो बढ्दो अवस्थामा छ । नेपालका ७७ जिल्ला मध्ये ७६ जिल्लामा यसको संक्रमण देखा परेको छ । कोरोना भाइरसको औषधि, र भ्याक्सीन बनिसकेको छैन । यस्ता महामारीहरु मानवको परीक्षा, कर्मको परीक्षा, विज्ञान प्रविधि र मेडिकल साइन्सको परीक्षा लिन देखा परे जस्तो लाग्छ । प्राचीनकालदेखि मानव समाजले विभिन्न महामारी तथा विपतहरु भोग्दै आएको छ । प्राकृतिक प्रकोप, मानवीय हिसां, सरुवा रोग र भोकमरी जस्ता विपतहरु मानव समाजले पटक पटक सामना गर्दै आएको छ । अहिले २१ औं शताव्दीमा कोरानाको महामारी हामीले भोगिरहेका छौं । भोग्दै छौं ।

बाँकेको नरैनापुरमा कोरोना कहरका बीच बिद्युतीकरणको काम हुँदैं ।

समाज विकास क्रमको आदिम युगपछि कृषि युगमा प्रवेश गरेदेखि नै यस्ता महामारीहरु मानव समाजले भोग्दै आएको छ । आजसम्म जति महामारी फैलिएका छन् यिनको सम्बन्ध पशुपंक्षीसँग जोडिएको देखिएको छ । कृषि र महामारीका बीचमा कतै अन्तर सम्बन्ध त छैन ? यो प्रश्न सोचनीय बनेको छ । चीन विश्वका अन्य देशहरु भन्दा धेरै कुरामा अग्रस्थानमा छ । कृषि अर्थतन्त्रमा पहिलो अग्रसर हुने राष्ट्र पनि चीन हो । त्यसपछि युरोपीयन देशहरु । आज कोराना भाइसरको संक्रमण पनि चीनबाट सुरु भई युरोपमा व्यापक भएको छ । यसको सैद्धान्तिक कारण केही छ कि एउटा संयोग मात्र हो पछि पुष्टि होला नै । महामारीको पनि आफ्नै इतिहास होला । घुमन्ते युगबाट कृषि युगमा प्रवेश गरेको मानिस क्रमश जनावरको सम्पर्कमा पुग्यो । यसबाट जनावरलाई लाग्ने रोग मानिसमा संक्रमण भयो । यही संक्रमण पछि महामारीको रुप धारण गर्न पुग्यो । क्षयरोग, औलो, विफर, प्ले, दादुरा, हैजा, टि वी, एड्स जस्ता रोगहरु कुनै न कुनै माध्यम हुँदै जनावरबाटै मानिसमा सरेको पाइन्छ । अहिले विश्व भरि फैलिएको कोरोना समेत चमेरोबाट मानिसमा सरेको हो भन्ने चर्चा परिचर्चा छ । महामारीबाट विश्वले धेरैे ठूलो क्षति व्यहोरेको छ । १३५२ मा युरोपमा फैलिएको प्लेगको महामारीबाट युरोपमा एक चौथाई जनसंख्या सखाप भएको थियो । पहिलो विश्व युद्ध समाप्त भएपछि इन्फलुएन्जाबाट फैलिएको महामारीबाट दुई करोडभन्दा बढी मानिसको मृत्यृ भएको इतिहास छ ।

यस्ता महामारी इतिहासदेखि नै बेहोर्दै आएका छांै । हाम्रो नेपाली समाज कुनै बेला लुतो, पिलो, गानो, रुघाखोकी, जुका, टिभी, हैजा, विफर जस्ता रोगबाट बचेर आएको छ । नेपालको महामारीको इतिहासलाई हेर्दा काठमाडौमा सबैभन्दा बढी पीडित देखिन्छ । महामारी फैलिनुको कारण बढी जनघनत्व पनि हो । विगतमा नेपालका हरेक महामारी तथा बिपत्तीहरुलाई धर्म संस्कृति र संस्कारसँग जोड्ने चलन थियो । “महामारीबाट बच्न काठमाडांैमा मठ मन्दिर निर्माण गरी देवी देवताको पूजा आराधना गरियो र महामारी रोकियो” भन्ने किम्बदन्ती पढ्न र सुन्न पाइन्छ । राजा प्रतापसिंह शाह, गीवार्णयुद्ध विक्रम शाह लगायतका राजाहरु विफरको महामारीमा परेर मरेको इतिहास हामीले पढेका छौं । राजा रणबहादुर शाहले विफर लागेकोलाई काठमाडौंबाट निषेध गरेका थिए । त्यो समयमा पनि महामारीबाट बच्न काठमाडौ बन्द गरिएको कुरा इतिहासले बताउँछ । हामीलाई कोरोनाले आज त्यही अवस्थामा पु¥याएको छ । लकडाउन गर्न बाध्य पारेको छ । क्षयरोग, औलो, विफर, प्ले, दादुरा, हैजा, वर्डफ्लु, टि वी, एड्स जस्ता महामारीबाट बच्न संक्रमति व्यक्तिलाई बस्तीबाट अलगै राख्ने, बाटोघाटोमा भाजो हाली बाहिरका मानिसहरुलाई गाउँमा पस्न नदिने हाम्रो बिगतको चलन हो । हैजा लागेकालाई गाउँ कटाउने र कुष्ठरोगीलाई बस्तीबाट हटाउने चलन देखेका बुढापाकाहरु अझै भेटिन्छन् । अहिले भनिने क्वारेन्टिन, आइसोलेसन बिगतमा अपनाउँदै आएका परम्पराका सुधारिएका रुप नै हुन् । चीनमा देखिए लगतै नेपाल प्रवेश गरेको भए कोरोनाले नेपालीहरुलाई सजगता अपनाउने समयसम्म पनि दिदैनथ्यो ।

यो महामारीबाट बच्न अपनाउनु पर्ने सजकताहरु व्यवस्थापन गर्ने समयको के कति सदुपयोग भयो भएन त्यो मुल्याङ्कनको पाटो रहला तर हामीलाई समयले साथ दिएको कुरा कसैले नकार्न सक्दैन । नेपाली जनताले जस्तो सुकै विपतिहरु पनि सामना गर्दै आएका छन् । कारोनाको त्रास छ नै । यो बेला पनि नेपालीले संयमता अपनाउनै पर्छ । जेहोस आजसम्म हामी सुरक्षित छौं । हाम्रो श्रोत साधन र क्षमताको पूर्व तयारी गर्ने अवस्था प्राप्त भएको छ । सरकारले आफ्नो साधन स्रोत परिचालन गरिरहेको छ । यद्यपि यो पर्याप्त भएन, परीक्षणको दायरा कम भयो भन्ने जुन गुनासो छ संसार विचलित भइरहेको वेलामा यस्ता आवाज सुनिनु स्वभाविक पनि हो तर कोरोना नियन्त्रणमा सरकार असफल भयो भनेर भन्ने ठाउँ छैन । अमेरिका जस्ता विकसित राष्ट्र पनि असफल रहेको अवस्थामा नेपालले जुन प्रयास गरेको छ त्यो प्रशंसा योग्य नै छ तर थप सजकताको पहल भने गर्नै पर्छ । चीनलाई संकट पर्दा पश्चिमा जगत हाँसिरहेको थियो । चीनमाथि दोषारोपण गरिरहेका थिए । १ अरव ४० लाख जनसख्या भएको चीनले आफ्नो देशमा कोरोना नियन्त्रण गरेर एउटा सन्देश दिएको छ । चीन सरकारले जारी गरेको विधि वा प्रयोग अहिले विश्वले अपनाइरहेको छ । आफै सुरक्षित हुने र अरुलाई पनि सुरक्षित गर्ने तरिकाबाटै नै चीन कोरोना नियन्त्रणमा चीन सफल भएको हो । सरकारले होम क्वारेन्टिनमा बस्न, भिडभाडमा नजान, साबुन पानीले नियमित हात धुन, हात नमिलाउन र घरै बस्न भनेको छ । शरीरमा इनर्जी बढाउने खानामा प्राथमिकता दिन उत्साहित गरिरहेको छ ।

हाम्रा पूर्वजहरुले प्रयोग गर्दै आएका जडिबुटीहरुलाई सेवन गर्न अनुरोध गरिरहेको छ तर नियमित यस्ता जडिबुटीहरु प्रयोग गर्नेहरुले नै सरकारलाई हाँस्यको पात्र बनाएर रमाइलो गरिरहेका छन् । हुन त हरेक कुरालाई ‘नेगेटिभ एङ्गल’बाट हेर्ने नेपालीको विशेषता नै हो । नेपालमा अस्थिरता निम्ताउन चाहानेहरुले विभिन्न ढंगका अफवाह फैलाउने काम गरिरहेका छन् । सरकारलाई असफल बनाएर राजिनामा माग्ने एक मात्रै उद्देश्य राख्नेहरुले देशको कार्यकारीलाई हाँस्य पात्र बनाउन ज्यान फालेर लागेको देखिन्छ । यो कुरा नेपालको लागि दुर्भाग्य भन्नु पर्दछ । लकडाउनको वीचमा जव भारतबाट पन्ध्रलाख बढी नेपालीहरुलाई नेपाल ल्याउनु पर्ने अवस्था देखा प¥यो तव संक्रमण थप जलिट बन्दै गएको छ । नेपालका लागि यो चुनौति थियो नै । जुन सरकारले सामना गरिरहेको छ । सरकारले पीसीआर जाँचलाई थप प्रभावकारी बनाउँदै लगेको पनि छ । महामारी समय समयमा आउँदो रहेछ । महामारीले मानवीय क्षति गराए पनि मानव जातिको समग्र अस्तित्व माथिनै धावा बोल्न भने नसक्ने रहेछ । अहिले विज्ञान प्रविधि र चिकित्सा विज्ञानको प्रगतिले सरुवा रोग विरुद्ध हाँसिल गरेका उपलव्धि र मानवीय चेतना संचारको विकासले हिजोको भन्दा कम जोखीमपूर्ण बनाएको पक्कै छ । अहिले विश्वको अर्थतन्त्र ठप्प छ । सबै कलकारखाना बन्द छन् । सबैको रोजगारी बन्द भएको छ । रिमिट्यान्सबाट चलेका देशको अर्थतन्त्र थप संकटमा पर्ने देखिन्छ । नेपाली जनताले जस्तो सुकै विपत्तिहरु पनि सामना गर्दै आएका छन् । विगतमा पूर्वी र पश्चिमी युरोपमा प्लेगको महामारी फैलियो । त्यहाँ राजनीतिक र आर्थिक संरचनामा परिर्वतन आयो । बेलायतमा सामान्ती व्यवस्था थियो । त्यो पुजिवादी व्यवस्थामा रुपान्तरण भयो । युरोपेली देशहरुमा प्रजातन्त्रको स्थापना भयो । हरेक विपत्तिपछि नेपालमा पनि केही न केही परिवर्तन देखिदै आएको छ । वि.स. १९९० मा ठुलो भूँइचालो आयो त्यसको जगमा १०४ वर्ष शासन गरेको राणाशासन खतम भयो र प्रजातन्त्र स्थापना भयो । २०१६ सालमा बाढी पहिरो नेपाललाई थिल्थिलायो । धेरै पीडित भए । त्यसको जगमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरे । २०७२ सालमा नेपालमा पुनः भूँइचालो आयो त्यसैको जगमा सविधान घोषाण भयो र २४० वर्षसम्म नेपाली जनतामाथि अन्याय अत्याचार उत्पीडन गरेको राजतन्त्र समाप्त भयो । त्यसैले अहिलेको महामारीको पनि कतै न कतै केही न केही प्रभाव पार्न सक्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रबार