भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारियो



कैलाली ।

दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा चौलानी नदी थुनिने गरी पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ । पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत प्रभावित भएको छ।
शुक्रबार पहिरोपछि नदी केहीबेर थुनिएको र पछि खुलेको बताइएको छ । पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।

‘१० परिवारलाई आफन्तको घरमा सारिएको छ, केही आवश्यक टेण्टलगायतका सामाग्री उपलब्ध गराइएको छ’ अध्यक्ष बोहराले भने । उनका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पु¥याएको छ । पहिरो झरिरहेकाले बस्ती जोखिममा रहेको समेत अध्यक्ष बोहराले बताए । पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।

नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको उनले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै नदीमा बाढीको जोखिम रहेकोले सतर्क रहन र तटीय क्षेत्रमा नजान भनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार