‘भर्ना गर्ने भनेको शुल्क उठाउने होइन्’



कोरोना कहरका कारण नेपालका शैक्षिक संस्थाहरु खुल्न नसकेको तीन महिना भइसक्यो । चैत्रको पहिलो साताबाट बन्द भएका शैक्षिक संस्थाहरु कहिलेबाट खुल्नेहुन् भन्ने अझै कुनै टुङ्गो नै छैन । लकडाउनका कारण विद्यार्थीहरु समेत तीन महिनादेखि घरभित्रै बस्न बाध्य छन् । कोरोना कहरको अवस्थामा निजी विद्यालयहरुले शैक्षिक गतिविधिलाई कसरी अगाडि बढाउँदैछन् भनेर मिसन टुडे राष्ट्रिय दैनिकका समाचादाता डिल्ली शाहीले नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम बहादुर कँवरसँग गरेको कुराकानी ।

१. लकडाउन भएको करिब तीन महिना हुन लाग्यो । यो अवधिमा बाँकेका निजी विद्यालयको अवस्था कस्तो छ ?

विद्यार्थीहरु लामो समयसम्म लकडाउनमा रहेको हुनाले पठनपाठन गर्न पाएका छैनन् । यसै सन्दर्भमा शिक्षा मन्त्रालयले सिकाई कार्यविधि पास गरेको छ । बाँकेमा संस्थागत विद्यालयहरुले सोही सिकाई कार्यविधि अनुसार आफ्नो पठनपाठन गर्न लागेको छ । कार्यविधि अनुसार पाँच वटा क्षेत्रमा विभाजन गरिएको छ । रेडियो, टेलिभिजन, कम्प्यूटर, अनलाइन, टोलमा १० जनाको समूह बनाई पठनपाठन गर्ने भनी कार्यविधि पास गरेको छ । प्रत्येक विद्यालयले आफ्ना अभिभावकसँग प्रत्यक्ष रुपमा जोडिएर कुन बालबालिका पाँच वटा क्षेत्रमध्ये कुनै एकमा छ वा छैन भन्ने छुट्याई सिकाईलाई सहजिकरण गराउन लागिरहेका छौं । त्यसकारणले बाँकेका संस्थागत विद्यालयहरुले आफ्ना बालबालिकाको अभिलेखिकरण गर्ने कार्यक्रममा जुटिरहेको छ । पछिल्लो अबस्थामा आएर विद्यालय खुल्ने अझै सुनिश्चित नभएकोले नेशनल प्याब्सन बाँकेले रेडियो कार्यक्रम गर्ने भनेर निर्णय गरेको छ । कक्षा ४ देखि १० कक्षा विद्यार्थीहरुलाई मुख्य विषय प्रथामिकतामा राखेको छ । जसमा अंग्रेजी, विज्ञान, गणित, नेपाली र सामाजिक विषयको पठनपाठन गराइनेछ ।

२. संस्थागत विद्यालयले आफ्ना बालबालिकाको अवस्था कस्तो भनी अभिभावकलाई सोधेको छ की छैन ?

अभिभावकसँग निरन्तर सम्पर्कमा छौं । अभिभावकहरु पनि आत्तिएको अवस्था छ । उहाँहरुमा पनि विचलन आएको छ । अब आफ्नो बच्चाको पढाई के हुन्छ । हाम्रा बच्चाबचीहरुले कहिलेदेखि पठनपाठन पाउँछन् भनेर धेरै अभिभावकले सोधिसकेको अवस्था छ । अहिले महामारीको बेलामा विद्यालय सञ्चालन गर्नु मात्र ठुलो कुरा होइन । पहिले स्वास्थ्य नै हो । अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई घरमा पठनपाठन गर्ने अवस्था सिर्जना गर्नुपर्दछ । कोभिड—१९ महामारी भएपनि यसको डर, त्रास बालबच्चाहरुमा दिनुहँुदैन । विभिन्न रोगहरु मध्ये यो एउटा रोग हो । अरु रोग लागेर पनि मर्ने गरेका छन् त्यस्तै यो पनि रोग नै हो । अहिलेसम्म यसको भ्याक्सीन नबनेको कारणले भयावहको अवस्था सिर्जना बनेको हो । यो रोग त कायमै रहने होला । अरु रोग पनि अस्तित्वमा रहेका छन् यसको पनि अस्थित्वमा रहन्छ । तर अन्य रोग जति ठुलो क्षति गर्ने पनि होइन् । हामीले विभिन्न तथ्थांकहरु हेर्दा यो देख्छौं । त्यसैले विद्यार्थीहरुलाई घरमा राख्न सबै अभिभावकहरुलाई अनुरोध गर्दछु ।

३. असार १ गतेदेखि बैकल्पिक विधिबाट अध्यापन गराउने भनी सरकारले निर्णय गरेको छ । यसलाई संस्थागत विद्यालयले कसरी कार्यान्वयन गर्दैछ ?

नेपाल सरकारले गरेको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि बाँकेका संस्थागत विद्यालयहरुले अभिलेखिकरण गरिरहेका छन् । नेपाल सरकारले असार १ गतेदेखि भनिएता पनि बाँकेका विद्यार्थीहरुलाई असार ३ गतेदेखि पठनपाठन गराउन लागेका छौं । हामीले तालिका समेत सबै रेडियोहरुमा प्रसारणका लागि छोडिसकेका छौं । असार १ गतेदेखि पठनपाठन सुरु हुन्छ । अभिलेखिकरण गर्ने भनेको विद्यार्थीलाई भर्ना गर्ने हो । अन्य व्यक्तिहरुको बुझाई के छ भने निजी विद्यालयले भर्नाको बहानामा शुल्क लिने भए भनि आरोप लगाएका छन् । तर भर्ना गर्ने भनेको शुल्क उठाउने भनेको होइन् । अहिले सबै अभिभावकहरुलाई भ्रममा नपर्न आग्रह गर्दछु । भर्ना लिनु भन्ने शब्द शब्दकोषमा हेर्न हो भने हाम्रो विद्यालयमा पढ्छन् की पढ्दैनन् भनी शुनिश्चित गर्ने हो । कुन कक्षामा कति विद्यार्थी छन् भनी एकिन गरेपछि उनीहरुलाई कुन माध्यामबाट पठनपाठन गराउन सकिन्छ भनेर तयारी गरिरहेका छौं । अहिले विद्यालय तुरुन्तै सञ्चालन हुने अबस्था छैन त्यसैले बैकल्पिक माध्यामबाट शिक्षा प्रदान गर्ने लागेका हौं । रेडियो, टेलिभिजन, कम्प्यूटर, अनलाइन, कक्षा कुन सहज हुन्छ त्यसबाट सुरुवात गर्दछौं । नेशनल प्याब्सनले केन्द्रिय तहबाट नै टेलिभिजन कक्षा सञ्चालन गर्ने भनी ल्याइरहेको छ । त्यसमा जोडिने । त्यो पनि नभए जिल्ला बाँकेको नेशनल प्याब्सनले भर्खरै निर्णय गरे अनुसार बाँकेका ३ वटा रेडियोबाट शिक्षा प्रदान गराउने भनेको छ त्यसमा जोड्ने । बालबालिकाको लागि अभिभावकले पाठ्यपुस्तक लिनु पहिलो कुरा रहन्छ । किताब लिइसकेपछि विद्यार्थीले किताब हेर्छन् । विषयबस्तु के–के हुन् । विद्यार्थीले त्यो विश्लेषण गरी अध्ययन गर्दछन् सोही अनुसार रेडियो र टेलिभिजनबाट प्रसारण भएको सिकाई सहज रुपमा लिन सक्छन् । सम्बन्धीत कार्यक्रममा जोडिन पनि सजिलो हुन्छ ।

४. लकडाउनको समयमा निजी विद्यालयका शिक्षक कर्मचारीहरुले तलब पाउँछन् की पाउँदैनन् नी ?

पहिले हामीले फि लिन पाउने की नपाउने भन्ने हुन्छ । यो कुनै जिल्लाले, कुनै पालिकाले, जिल्ला स्तरमा गर्ने निर्णय होइन । यो राष्ट्रिय स्तरमा संघिय सरकारले गर्ने निर्णय हो । संघिय सरकारले यसबारे केही निर्णय गर्ला जे निर्देशिन गर्दछ सोही अनुसार अगाडि बढ्न तयार छौं । फि लिन पाउने भएपछि तलब पनि हामीले दिनुपर्दछ । फि लिन नपाउने भएपछि तलबको बारेमा नेपाल सरकारले मार्गनिर्देशन गर्ला नी । हामीले सरकारको त्यही मार्गनिर्देशनलाई पखेर बसिरहेका छौं ।

५. कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । लगभग सामुदायिक विद्यालयमा भरिभराउको अवस्था छ । अन्य देशबाट आएका नागरिकलाई राख्नका लागि निजी विद्यालयले भवन उपलब्ध गराउनसक्छ कि सक्दैन ?

किन नसक्नु ? नेपाल सरकारलाई विपद् परेको समयमा सधै निरन्तर सहयोग गरिरहेका छौं । र अझै सहयोग गर्नेछौं । सरकार भनेको हामी नै हो । राज्यलाई सहयोग गर्ने दायित्व सबै नागरिकको हुन्छ । यदि नेपाल सरकार, प्रदेश, स्थानीय पालिकाहरुले निजी भवनहरु क्वारेन्टिनका लागि आवश्यक भएको खण्डमा हामी दिन तयार छौं ।

६. लकडाउनको समयमा निजी विद्यालयहरुले विभिन्न बहानामा पैसा असुलेको भन्ने गुनासो आएको छ । के यो साँचो हो ?

अहिले निजी विद्यालयले शुल्क नलिने नै भनेको अवस्था छ । नेशनल जिल्ला बाँकेको बैठकबाट कुनै पनि अभिभावकलाई पैसाको लागि प्रेसर नगर्ने भनी निर्णय गरेका छौं । शुल्क लिने कुनै पनि निजी विद्यालयले गरेको छैन । सामाजिक सञ्जालहरुमा उग्र रुपमा लेख्ने गरेका छन् तर हामीले शुल्क लिएका छैनौं । त्यो सामाजिक सञ्जालमा लेखेको देख्दा अचम्म भएका छौं । कुन निजी विद्यालयले शुल्क लिने कुरा गरेको छ र अहिले । यो अहिले आरोप मात्र लगाएको जस्तो देखियो ।

७. अन्त्यमा आफ्ना संस्थागत विद्यालयहरुलाई के भन्न चाहान्नुहुन्छ ?

महामारीको अवस्थामा संयम अपनाउन जरुरी छ । बाँके जिल्लाका सम्पूर्ण निजी विद्यालयलाई के आव्हान गर्दछु भने विद्यालय सञ्चालन गर्ने आत्तिनुहुँदैन । साना बालबालिकाहरुलाई विद्यालयमा ल्याएर पठनपाठन गराउने योजना गरायौं भने झन् संक्रमण फैलिन सक्छ । नेपाल सरकारले विद्यालय सञ्चालन गर्नु केही पनी कोणबाट उचित हुँदैन । त्यसैले विद्यार्थीहरुलाई विद्यालयमा बोलाउने गरेका छैंनौ । शिक्षा मन्त्रालयले जारी गरेको सिकाई सहजिकरण निर्देशिका अुनसार त्यस अनुसारको आधारमा काम अगाडि बढाई राखेका छौं । अभिभावकले आफ्ना बालबालिकालाई कुन माध्यामबाट जोडिन सकिन्छ सोही अनुसार प्रबन्ध मिलाई दिन समेत आग्रह गर्दछु । कुनै पनि माध्यामबाट जोडिन नसकेको खण्डमा टोलमा १० जना बालबालिका जम्मा गरी अध्यापन गराउने भनी सिकाई सहजिकरण निर्देशिका उल्लेख गरेको छ तर त्यसलाई कार्यन्वयन गर्ने निकै समस्या छ । यो विपद्को समयमा शिक्षक घरमा नै गएर अध्यापन गराउने अवस्था छैन र टोलमा जम्मा गरेर कस्को घरमा पढाउने हो भन्ने पनि समस्या छ । त्यसकारणले अभिभावकहरुले नै आफ्नो बालबालिकालाई कनै न कुनै माध्याममा जोडिदिन समेत आग्रह गर्दछु ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार