यो देशमा धेरै निर्णयहरु ‘चियालय या मदिरालयमा’ हुन्छन् भन्ने भनाइ राम्रै सुन्न पाइन्छ । मदिरालयमा गरेको निर्णयले शायद के गर्छ थाहा छैन । तर हाम्रो चियालयको निर्णयले खप्तड पु¥यायो । कुराको उठाउन जयबहादुर विष्ट सरले गर्नु भयो । “नयाँ वर्ष घुमेर मनाउनु पर्छ ।” छलफलमा उपस्थिति थियौं जय बहादुर विष्ट , ऋषिराज शर्मा , पुष्कर खड्का , दिलिप वली, भिमबहादुर बुढा, वीर बहादुर बिष्ट, दिपक मल्ल र म स्वयम् ।
भिमबहादुर बुढा घरायसी कामले यात्रामा सहभागी हुनसक्नु भएन । छलफलमा सहभागी भएर पनि यात्रामा सहभागिता जनाउन नसक्ने परिस्थिति बनेको थियो वीर बहादुर बिष्ट र दिपक मल्लको पनि । हुन पनि हो सोचे जस्तो र चाहे जस्तो सधैँ सबैलाई कहाँ हुन्छ र ?छलफलको चरण नयाँ वर्षलाई विषेश रुपमा स्वागत गर्नु पर्ने कुरामा सबैजना सहमत भएपछि घुम्न जाने निर्णय पास भयो । प्रारम्भिक चरणमा रारा जाने कुरा छलफलमा आयो । छलफलमा सहभागी मध्ये केही साथीहरु पहिले पनि रारा गइसकेकोले त्यो निर्णय पास हुन सकेन । कोही पनि नगएको ठाउँको खोजी हुन थल्यो । नयाँ स्थानको पहिचान भयो । यो स्थान थियो ‘खप्तड राष्ट्रिय निकुञ्ज’ ।
‘खप्तड राष्ट्रिय निकुञ्ज’ को प्रस्ताव आउने वित्तिकै सत प्रतिशत मतले पास भयो । घरमा गृहमन्त्रीलाई निवेदन दिई पास गराएर मात्र भोलिपल्ट ‘फाइनल गर्ने’ निर्णय भयो । गृहमन्त्रीहरु कडारुपमा प्रस्तुत हुने र निवेदकको निवेदन अनुसारको निर्णय पास हुने कुरा अलि जटिल हुने कुरा सबैलाई लागेछ । एक सहभागीले त भनी पनि हाले “मेरो त कडा प्रतिक्रिया आउँछ” । तर यति ठूलो सभाले पास गरेपछि कार्यपालिकाको अवरोधलाई नमान्ने कुरा सुनाए । पुरुषवादी अहम् यहाँ प्रष्ट देखिन्थ्यो । एक अर्को सथी भन्दै हुनुहुन्थ्यो “आफू त निवेदन दिने हो । स्वीकृत भए हुन्छ नभए पनि जाने हो ।” यस्तै यस्तै छलफल गरेर भोलीपल्ट साँझ ६ बजे भेट्ने बाचासहित हामी घर तिर लाग्यौं । घर के भनौ ‘मिलन केन्द्र’ । सबै जान आ—आफ्नै काममा बिहानै निस्कने । छोराछोरी स्कुलमा । यसो बेलुका २—३ घन्टा भेट्ने ठाउँ जस्तै छन् घरहरु । त्यसैले घरभन्दा पनि मिलन केन्द्र नाम ठिक देखिन्छ ।
मितिः २०७५÷१२÷२८ गते साँझ ६ः०० को समयले नेपालीको रुपधारण ग¥यो । त्यसैले ६ः३० मा मात्र जमघट भयो । पहिले सबैले गृहमन्त्रीज्यू समक्ष प्रस्ताव लगिसकेको जानकारी पेस गर्नु भयो । कतिपय गृहमन्त्री कडारुपमा प्रस्तुत भएको जानकारी आदनप्रदान गरियो । एकजना सदस्य भन्दै थिए “आफूले त “प्रस्ताव राखिएको छ पास भए पनि नभए पनि गइन्छ” । एकजना छुस्स भन्दै थिए । “आफ्नो त कडा छन् यार कुनै पनि कुरा पास हुँदैन । त्यसमा झन मोटरसाइकलमा टाढा यात्रा गर्ने कुरा त पास हुने कुरै छैन ।” जे होस् सबै साथीहरू जाने कुरा पक्का पक्की भयो । मोटरसाइकलमा दुई दुई जनाको दरले ६ जना जाने तय भयो ।
ओम थापा सर बैठकमा उपस्थित हुन सक्नु र्भको थिएन । ओम थापा सरलाई फोनबाट यात्राका लागि पक्का पक्की गरिएको थियो । यात्रा गर्ने पक्का भैसकेपछि सुदुर पश्चिमका बारेमा जानकरी लिनु जरुरी थियो । मित्र वीर बहादुर धामी र धनराज धामीलाई पश्चिमको राम्रो जानाकारी थियो । उहाँहरुसँग खप्तडको बारेमा सामान्य सोधपुछ गरे । भोलिपल्ट ठिक ६ बजे कोहलपुर चौराहामा सबैजना जम्मा हुने कुरामा हाम्रो सहमती बन्यो ।
यात्रा शुरु गर्नुअघि मैले एउटा प्रस्ताव राखे । “यात्रा अबधिभर सबै कुरा तथा व्यवहार अनौपचारिक हुने छन् । कोही कसैलाई गरिएको व्यबहार औपचारिक मानमर्यदामा तलमाथि भए पनि अन्यथा मान्न पाइने छैन ।” सरकारी कामकाजको भाषा तथा औपचारिक तवर राखिएको प्रस्तावमा सबैको समर्थन प्राप्त भयो । ‘जेन्टलमेन एग्रीमेन्ट गरियो ।
यात्रा शुरु भयो । सबैले सङ्गै कुराकनी गर्न बाइक रोक्नै पर्ने । बाइकको यात्राको नराम्रो पक्ष । करिब दस बजे सबै कर्णाली चिसापानी पुगेर खाना खायौं । ऋषि सरको जोक भन्ने र बनाउने तरिका बेग्लै छ । उहाँले एउटा जोक सुनाउनु भयो । र भन्नु भयो “यो भेज जोक हो” । जोक पनि भेज र ननभेजमा वर्गीकरण गरिएको हुन्छ भन्ने कुरा मैले त्यही पहिलोपटक थाहा पाएँ ।
कर्णाली नदीभन्दा पनि पुलले चर्चित ठाउँ हो चिसापानी । बडो सुन्दुर तरिकाले निर्माण गरिएको पुल तथा कर्णालीका माछा खाना पाइने कारण पर्यटनलाई चिसापानीले थप टेवा पु¥याएको देखिन्छ । विकास निर्माणको संरचनाले पर्यटनलाई विस्तार गरेको उदाहरण हो कर्णाली चिसापानी । दिलिप सरले “यस्तै संरचना नबन्नाले नेपालका धेरै सुन्दर ठाँउहरु ओझेलमा परेका छन् ।” भन्दा हामी सबैले हो हो भन्न भ्यायौं ।
हामी त्यस दिन सकभर डोटीको दिपायल वा सिलगढी पुग्ने योजनामा थियौं । डडेल्धुरा पनि नगएका साथीहरू धेरै थिए । म मात्र अत्तरियाभन्दा माथि गएको परेछु । वि.स. २०६७ सालमा लोकसेवाको परीक्षा दिन दिपायलसम्म पुगेको थिएँ । त्यसैगरी सरकारी कामको सिलसिलामा २०७३ सालमा डडेलधुरासम्म पुगेको थिएँ । त्यतिबेला नै मलाई सुदरपश्चिमको सुन्दरताले लोभ्याएको थियो । यात्रामा सहभागी यात्रीहरु मध्ये पहिले नै त्यो ठाँउ पुगेकाको सानै बेग्लै हुन्छ । मलाई साथीहरू बेला बेलामा सोधपुछ गर्थे । “कति लाग्ला सर दिपायल पुग्न ? बाटो कस्तो छ ?” मेरो जवाफ हुन्थ्यो “नाम मात्र सुदुरपश्चिम हो । बाटो राम्रो छ ।” बाँकेको राप्ती पारि अहिलेसम्म बाटो पिच छैन । तर सुदुर पश्चिममा सबै बाटा पिच छन् । गाउँ गाउँमा बिजुली पुगेको छ । राजधानी काठमाडौंबाट दुरिले टाढा भए पनि राज्यको पहुँचको हिसाबले ज्यादै नजिक छ । चाहे त्यो राजनितिमा होस् या प्रशासनमा । धेरै मान्छे राज्यको पहुँच बिस्तारमा प्रभाव पार्ने तहमा पहिलेदेखि थिए र अहिले पनि छन् । त्यसैले बाहिरबाट सोचे जस्तो सुदुर पश्चिम न राज्यको पहुँचभन्दा बाहिर छ न अन्य क्षेत्रको तुलनामा कम विकास भएको छ ।”
हामी विस्तारै घोडाघोडी ताल पुग्यौं । सुदूरपश्चिमाञ्चल प्रदेशको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको “वनबहेडा“ र “सुखड“को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणबाट नेपालको एक प्रसिद्ध स्थल हो । योगी नरहरी नाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत कालभन्दा पनि पहिलेबाट नै एक पवित्र तीर्थस्थल थियो भन्ने सावित गरेका थिए । भन्ने कुरा मेलै कतै पहिले पढेको थिए । तालको बारेमा थप जान्ने उत्सुकता देखाउँदै पुस्कर खड्काले एक पसलेलाई जिज्ञासा राख्दा उनले यसरी बताए । “यो तालको इतिहास थारू समुदायसँग गाँसियाको छ । यो ताल सातवटा थारू जातिको बसोबास रयाको गाउँ डुबिबर बन्या माणिन्छ रे । ये तालको आकर मान्सा हात जसो छ ।”
अर्को किम्बदन्ती अनुसार प्राचीनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन् । तर दुबै घोडाहरू गन्तव्यमा नपुगी मरेछन् । त्यसपछि ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो । यो तल धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा छ । समुद्री सतहदेखि २०५ मिटर रहेको ताल करिब ४ मिटर औसत गहिराइ छ । तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ । माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत लाग्ने गर्दछ ।
हामी घोडाघोडा ताल हेरेर प्रस्तावित सुदुरपश्चिम प्रदेशको प्रदेश राजधानी गोदावरीमा केही समय आराम गरी हामी लाग्यौं डोटीतिर । साथीहरुलाई मैले स्मरण गराए पहिले एउटा लोक गीत थियो । ‘डोटी हुँदै डडेलधुरामा…’ । यो गीतलाई अछामबाट आउँदा पनि पहिले डोटी अनि डडेल्धुरा वा कैलालीबाट जाँदा पनि पहिले डोटी हुँदै डडेलधुरा हुने कुरा भौगोलिक रुपमा पनि मिलेको छ । “कैलाली जिल्लामा तराई मात्र छैन है करिब आधा त पहाडमा नै पर्छ ।” यो कुरा सुन्दै साथीहरू छक्क पर्दै थिए ।
हाम्रो यात्रा जारी थियो । साथीहरूलाई डोटीको “बाजेको खिर पसल” का बारेमा जानकारी थिएन । त्यहाँ शुद्ध दुधको खिर खान पाइने हुनाले त्यही खिरको खाजा खानुपर्छ भन्ने कुरा बताए । हामी यात्राको क्रममा कैलाली र डोटीको बीचमा पर्ने हरेक रमाइला ठाँउ आउँदा रोकिहाल्थ्यौ । मोटरसाइकलको यात्रामा यही मज्जा छ । सार्वजनिक बस चढेपछि गुरुहरु मालिक हुन्छन् । उनको इच्छाले रोक्ने र चल्ने हुन्छ । प्राइभेट रिर्जभ गर्दा पनि विस्तारै “गुरुजी यहाँ रोक्ने कि” भन्दा गुरु भन्छन् । “यहाँ साइड छैन अलि पर रोकौला ।” आफैले मोटरसाइकल चलाएपछि न गुरुलाई रोकौ भन्नु पर्ने न साइड चाहिने । बाजेको खिर पसलमा खिर खाने भनेपछि साथीहरू बीचमा अरु कतै केही खाने प्रयास नै गरेनन् ।
डोटी र डडेल्धुराको मनोरम जङ्गल र त्यहाँ फुलेको लालिगुँरासको मनोरम दृश्य हेर्दै हामी बाजेको खिर खाने होटेलमा पुग्यौं । मैले पहिले पनि एक पटक खाइसकेको थिएँ । साथीहरु यहाँ शुद्ध खिर पाइन्छ भन्ने कुरा भनेदेखि कति बेला त्यो ठाउँ आउँछ भन्ने व्यग्र प्रतीक्षा थिए । जब त्यहाँ पुगे साथीहरू खिर माग्न थालिहाले । एक एक प्लेट खादै गर्दै मैले साथीहरूलाई खुसुक्क सोधें “कति पर्छ थाह छ खिरलाई ?” साथीहरू अलमलमा परे । मैले भने “एक प्लेटको तीन सय पर्छ ।” साथीहरू खाँदा खादै छोडौंको मनस्थितिमा पुगे जस्तो लाग्यो । एक छिनपछि “चिन्ता नगर साथीहरू यसको जम्मा जम्मी साठी मात्र पर्छ” भन्दा खुसीले झन थप एक एक प्लेट खाए । यतिबेला मलाई “बस्तुको मुल्यले भोक निर्धारण गर्छ” जस्तो लाग्यो । खिर खादै गर्दा साथीहरुले सुदर पश्चिमको भाषा बोल्न प्रयास नगरेका हैनन् । साहुनीलाई “लौ फोटो खिच वर” भन्दै हाँस्न थाले । “तमी छ जना भन्दा हौं मोबाइलमा त सात देखियौं त ।” साउनीले हाम्रो टिमभन्दा अर्को कोहीको फोटो पनि आउने गरी खिचिदिइन् ।
छ जनाले पेट भरी खिर खाँदा पनि धादिङको गजुरी जस्तो महङ्गो तिर्नु परेन । जम्मा पाँच सयले सबैको मामिला टुङ्गियो । खिर खाएपछि हामी लालिगुँराशको रङसँग रमाउँदै लाग्यौं डडेल्धुरातिर । करिब छ बजे हामी डडेल्धुरा पुग्यौं । पहिले पहिले बसको पछाडि लेखेको हुन्थ्यो । ‘सुन्दर सुदुर पश्चिममा स्वागत छ ।’ त्यतिबेला लाग्थ्यो भनिएको जस्तो सुन्दर होला जस्तो लाग्दैन थियो । तर जब सुदुर पश्चिमका सुन्दर पहाडहरु देखियो । बल्ल त्यो कुरा सही लाग्यो । सुनिएको सुदुर पश्चिम र देखिएको सुदुर पश्चिमका धेरै फरक छ । मलाई सुदुर पश्चिमको सबैभन्दा धेरै जंगल मनपर्छ ।
हामी पहिलो दिन डढेल्धुरा बस्ने भयौं । डढेल्धुरा बस्ने भएपछि हामी त्यँहाको क्लासिक होटेलमा बस्ने गरी झोली तम्बा छोडेर लाग्यौ उग्रतारा माताको दर्शन गर्न । प्रायः मानिसहरु विहान मन्दिर जान्छन् । तर हामीलाई बेलुकाको दर्शन गर्ने अवसर प्राप्त भयो । सुन्दर भूमिमा अवस्थित उग्रतारा मन्दिर बेलुकीपख झनै सुन्दर देखिदो रहेछ । उग्रतारा मन्दिर सुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा बजारदेखि चार किलोमिटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।
मन्दिर बन्नुको कारण बारे जिज्ञासा राखें । पुजारीले मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति यस्तो भएको बताए । “धेरै वर्ष पहिले उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा सार्की जातिको बसोबास रहेको थियो । एक दिन तिनै सार्की जातिको एकजना किसान हलो जोतिरहेका थिए । हलोको फाली सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्न थाल्यो । सार्कीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन । रगत धेरै आउँदा रगतको खोला बग्न शुरु भयो । हाल पनि यो खोला यही मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खान भनी ल्याएको “मास“ को खिचडी सोही सिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकिएछ । त्यसपछि त्यस सिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो । ती किसान नै त्यहाँको पुजारी भए ।”
अर्को किवदन्ती पनि रहेछ । “कार्तिक पूर्णिमा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा लडाकुहरुले आ—आफ्नो विरतासाथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यँहा खोलाकोरुपमा नामकरण गरिएको छ ।” यँहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्लाभरिबाट मात्र नभई बिभिन्न जिल्लाबाट मेला भर्न आउँदछन् । यस उग्रतारा मेलापछि चिसो सुरु भई हिउँद लाग्ने हुँदा डडेल्धुराबासीको कृषि कार्यबाट फुर्सदका दिनहरु आउँछन् । खनमडा, छचोडा, दमडा र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउँछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशीको राति रत्यौली मनाउने ,मन्दिर पग्न अगाडि लटाउली, लगायत खनमडाट, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरी देउरो उग्रतारामा लगिने गौरवमय परम्परा आफैमा रोमान्चक छ ।”
यस्तै विभिन्न रोचक काहनी तथा किवदन्ती यो मन्दिरसँग धेरै रहेको पुजारीले बताए । अविस्मरणीय कुरा हामी सबै हिन्दु धर्मावलम्बीहरुको यात्रा भए पनि त्यो दिन चैते दशैको अस्टमी हो भन्ने कुरा हामी कसैलाई हेक्का नै थिएन । त्यहाँ पुजारीहरुले बताउँदा । हामी छक्क प¥यौं । पुजारीहरुले हामीलाई स सम्मान पूजा आरातीमा सहभागी गराए । एकजना पुजारीले टीका लगाउँदैं भने । “सबैलाई यो अवसर प्राप्त हुँदैन । तपाईहरु भाग्यमानी हुनुहुँदो रहेछ ।” हामीहरुले पण्डितले भने भन्दा धेरै आफुलाई भाग्यमानी सम्झियौं ! उग्रतारा माताको पूजा आरती सकेर हामी होटेलमा फर्कियौँ ।
क्रमशः…










प्रतिक्रिया दिनुहोस्