उदाउँदो एक नक्षत्र – आर्त अकुलीन !



सर्जक परिचायक
Bishnu paduka
विष्णु पादुका 
कोहलपुर -४, बाँके 
 
आज कसैलाई फुर्सद छैन । साना र सटिक कुरामै धेरै कुरा खोजिन्छ । जय पृथ्वी बहादुर सिंहको बहादुरी र बुद्दिमताले सिँगारिन शुरु भएको सुन्दर सुदुर पश्चिम कला संस्कृति र साहित्यमा सदैव अग्रस्थानमा रहेको छ । पहलमान सिंह स्वाँर , महेश विक्रम शाह ,रामलाल जोशी ,श्रेष्ठ प्रिया पत्थर , सुमन स्मारिका जस्ता अनेकौं नामको सूचिमा समयले आर्त अकुलिन लाई सूचीकरण गर्ने छ ।
  समानान्तर रेखा
  तिम्रो र मेरो सम्बन्ध
  जमिन र आकाश जस्तै !
      नवीनत विधा साइनोमा सशक्त रुपले अगाडि देखिएका आर्तको लेखनमा देखिएको सक्रियता उदाहरणिय छ । हुन त आजको एउटा ग्लोबल एअरपोर्टमा तमाम अनुहार देखिन्छन् । बर्षौदेखी छुटेका , नभेटिएका ,नसोचिएका र नसुनिएका पनि भेटिन्छन् । कसैलाई ऐना हेर्न हतार कसैलाई विचार पोख्न हतार । कसैलाई टिप्पणी ओसार पसार गर्न भ्याइनभ्याई । कोहि कसैसँग आन्द्रा गाँसिएको आफन्त भैदिन कोहि लालायित छैनन् । जो सुकै आफैमा आफ्नो कसि लाएर देखिन अभ्यस्त युग हो यो । ढुसी परि सकेका कथित सम्भ्रान्त साहित्य र राजनीतिलाई लोप्पा ख्वाउँदै नयाँ पुस्ता उदाउने क्रम निरन्तर छ । यसै पुस्ताका मार्क जुकरबर्गले आफ्नो व्यवसाय मात्रै स्थापित गरेनन् ,सम्पुर्ण विश्वलाई प्रत्येक ढुकढुकीसँग जोडेर पुरातनवादलाई पुरै बिर्साइदिए । तत्क्षण होम डेलिभरी भएर आउने विचारहरुको महत्व  दिनानुदिन बढ्दै गएको छ । भौगोलिक दुरि मेटाउँदै विचार प्रवाहको  भरपर्दो माध्यम फेसबुकले गन्यमान्य र स्थापित  जस्ता आचार संहिता पुरै मेटाएको आभास भएको छ । केन्द्र र मोफसलको बासिन्दा प्रमाणित गर्ने चिनाटिपन माथी साहित्यको ज्योतिष विज्ञान असफल सिद्द भएको छ ।
ढेडु बाँनर
घर न त घाटको
देख्छ सागर !
सुकेको रुख
दाल भात खिचडी
व्यञ्जना दम्भ!
करेसाबारी
मुसाको चलखेल
काट्ने र भाग्ने !
बादल फाट्छ
फलामले फलाम
क्रमश: काट्छ !
चतुर काग
झन बाठो कोइली
फूलको राग !
       लेखनलाई दरिलो र चोटिलो बनाउन लागीपर्ने आर्त हाइकु बाटनै आफ्नो लेखन शुरु गरेको बताउँछन् । हाइकुको लेखनमा पनि अधिकांश हाइकुमा उनको नयाँ प्रयोग देखिन्छ । प्रकृतिलाई दोश्रो चरणमा छोइने हाइकुको विधानमाथी उनको प्रयोग नौलो लाग्छ । कतै शुरूवात मै प्रकृति त कतै समाप्तिमा ।
   साना घेरा भित्र भएका शब्द गोडेर ठुला घेरा भित्रका अर्थ निकाल्दै ठुला घेराको अर्थ बुझेर मात्रै साना घेरा भित्रका शब्दले प्रयोजनपरक अर्थ दिन सक्छन् भन्ने नवीन मान्यता स्थापित गर्न जापानी कविता ” हाइकु” ले  ठूलो भूमिका खेल्यो साहित्यमा ।
  आजको लेखन शैलीले वर्ग, तह ,वाद र उमेरको पर्खाल भत्काएर आफ्नो स्थान दरिलो पार्न पछिल्लो पुस्ता लागि परेको स्पष्ट देखिन्छ । सौन्दर्य चेतना र स्वस्ती लेखन भन्दा जिजीविषा ,श्रम ,उत्पीडन ,सिमान्तकृका कथा व्यथा र विम्बले छुने विचार र पहिचान मुखरित हुँदै गएको छ । यसै मेसोमा नेपाली साहित्य नवीन प्रयोगलाई अँगालो हाल्न आफ्ना हातहरु फैलाई रहेको छ ।नयाँ धार र विधाभञ्जन प्रती देखिएको हार्दिकता स्वागतयोग्य नै छ ।
  गंगादेवी देवकोटा र गौरीलाल देवकोटाको काखमा २०३६ भाद्र महिनामा पथरैया -४, मटेरा( पालबजार) कैलालीमा जन्म भइ हाल लम्किचुहा  न.पा.-२ देवाश्रममा रहनुहुने आर्त अकुलिनको वास्तविक नाम हर्क प्रसाद देवकोटा हो ।
  ओइलिएको थुँगा ( हाइकु हवाई संग्रह )२०५९ मा प्रकाशित गरिसक्नु भएका आर्तको मनभित्रको मन ( हाइकु संग्रह ), माटोको सुगन्ध ( साइनो संग्रह ) प्रकाशोन्मुख कृति हुन् ।
चैत बैशाख जेठ
माटो पसिनाको भेट
बाले लाएको टारी खेत !
एउटा बुढो रुख
भित्र भित्रै रित्तो पेट
पश्चिमबाट उदाउँछ !
स-सानो गौचरण
प्रदुषणको सिरक
बादशाहको कृष्णलीला !
  साइनो र हाइकुलाई समान माया गर्ने आर्तका सबै सिर्जना उत्तिकै उम्दा देखिन्छन् । फेसबुक संसारमा उहाँका सल्यानी र अछामी भाषामा समेत साइनो प्रकाशमा आएको छ । थारु भाषामा समेत उहाँको साइनो आएको छ ।
 थारुभाषा को साइनो :
१.
छोटमोट बगिया
बगियाकेबिच फूला
सबसे मजा डौना बेब्री !
बेपालकै पहिलो अछामी साइनो :
१.
जीयाका आँशु आया
आँशुका कारण राया
जौमौका डिट पडौ हाया !
सल्यानी भाषामा ,
सल्यानी साइनो : 
~~~~~~~~~
१.
स्याना ठुलाउ भर
तल्नापट्टी सिक लाका
माथ्यार लाखु-याउ घर !
२.
बरागाउँल्या सात्या
सात्या जती हाट गया
रया जती बलैका छोबा !
३.
कुपिन्या दह नाम्रो
भत्क्याउ भरि अर्काउ
नाम्रो भयाउ सप्पै हाम्रो !
४.
भर हुनैन ज्वानौ
गराचार लाग्या बेला
क्या सुनम बलैका प्वारा !
५.
हिमाला आलु नाम्रा
पाहारा गिर्याल गाना
तराईँका पिरालु नाम्रा !
  अक्षर साहित्य प्रतिष्ठान लम्कीका सल्लाहकार ,सुनाखरी हाइकुमञ्च नेपालका अध्यक्ष , हजारी साहित्यिक पत्रीकाका सम्पादक ,सुदुर पश्चिम गजल मञ्चका आजिवन सदस्य ,प्रतिभा साहित्य परिवार कैलालीका अध्यक्ष र मानव अधिकार तथा शान्ति समाज कैलालीको सह सचिव पदमा रहेका आर्त पेशाले शिक्षक हुनुहुन्छ । प्रकाशन पूर्वको आफ्नै कृति ” मन भित्रको मन ” माथी शोधपत्र तयार गरि स्नातकोत्तर गरेका आर्त वि. सं. २०६१ सालको वर्षको उत्कृष्ट सम्बादाता र २०७५ को वर्षको उत्कृष्ट अभिभावक बाट सम्मानीत हुनुहुन्छ ।साहित्य सिर्जना र समाज सेवा नै आफ्नो प्रमुख रुचि र भूमिकाको विषय मान्ने आर्त यस लकडाउनको अवधिलाई निरन्तर लेखनमा लागेर बिताइरहनु भएको छ । आफ्ना रचनाका माध्यम बाट समाजलाई मानसिक र आत्मिक शान्ति मिलोस भन्ने उहाँको अभिप्राय छ ।
कछुवाको गति झैँ
आफ्नै दुनो सोझो पार्छ
मेरो घरको बागडोर !
बन्दाबन्दी पालना ।
सावधान हे मनु !
सलाइ काँटी बल्न सक्छ ।
घर घरमा बसौँ
बाँचे पछि पो मुस्कान
जीवन छ सबचिज छ ।
बाँचौँ भन्ने चाहाना
ईशसँगको प्रार्थना
मानव जातीको कामना !
बादल लागेको छ ।
डर त्रास जागेको छ ।
सुख समृद्धी भागेको छ ।
संसार रोएको छ ।
तिमी कमिसनमा छौ ।
ती घ्याम्पे भुँडी हाँसेको छन् ।
अग्नी रेखा साक्षी छ
जानेर कि नजानेर
तिमी सीमा नाघिरहेछौ ।
   वि.सं.२०४३ साल फाल्गुन २३ मा इलाम देखि शुरु गरिएको एक हरफमा लेखिने कविताको शुरूवाती इतिहास खोज्दै ” एलाक ” कविता समेत लेख्दै हुनुहुन्छ उहाँ ।
 कवितामा सरल र छोटकरीपन रुचाउने आर्तको वर्तमान परिस्थिति प्रतिको अवधारणा यस्तो रहेको छ ।
* हाल नेपाल उच्च जोखिममै रहेको तितो सत्य
* लक डाउनको पूर्ण पालना गर्नुपर्ने तर यसमा सम्बन्धित सबैको ध्यान नगए खतरा हुन सक्ने
* यसप्रति सबै संयमित हुन अति आवश्यक
* सरकार दुरगामी रणनीतिक योजना बनाई तिब्र गतिमा अगाडि बढ्नुपर्ने
* हामी काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर बनेका त छैनौँ भन्नेप्रति चिन्तित
* विश्व रोएको छ । मुलुक पीडामा छ ।
* यस परिवेशमा उनका सिर्जनाले सान्त्वना दिएका ।
*साहित्य लेखनको शुरुवात : पहिले भावना पछि कविता,
कथा, निबन्ध, नाटक, एकाङ्की, गीत, गजल,
 मुक्तक, ताङ्का, एलाक (विशेष : हाइकु र साइनो)
* एलाकको केही उदाहरण :
# अब माटोको टीका लगाउनुपर्छ कि ?
– राष्ट्रप्रेम, २०७६/१२/२९
( रचनाकार : आर्त अकुलीन )
# चैत बैशाखको हुरी ।
– सचेतना, २०७६/१२/२९
( रचनाकार : आर्त अकुलीन )
#बाँसको झाँगमा सन्टालाहरु ‌।
– औकात, २०७६/१२/२९
( रचनाकार : आर्त अकुलीन )
#गुलाबले भन्छ म काँडाको बिचमा फुल्छु ।
– सङ्घर्ष, २०७६/१२/२९
( रचनाकार : आर्त अकुलीन )
* राजनीति आफैमा राम्रो तर दुषित भएको देख्दा चिन्तित ।
* साहित्यिक फोहोरी चलखेलको अन्त्य हुनुपर्ने ।
* सबैभन्दा धेरै माटोको माया लाग्ने गरेको ।
* नेपाल आमा सदा मुस्कुराउनुपर्ने ।
* माटोको सुगन्ध रहिरहनुपर्ने ।
      जीवन सौन्दर्य बोध, भोगाइको भिन्न अनुभुती ,गहनता, रसात्मत सहृदयी स्पर्श र सादगीपूर्ण प्रेम उहाँको लेखनका आदर्श हुन् ।
मकैको बारी
चौतर्फी किराहरु
तिब्र साम्राज्य !
हिमाली काख
भालुलाई पुराण
शून्य परिधि !
पहिले फुल्छ
ओइलेपछि थुँगा
भुईँमा झर्छ !
शान्त जङ्गल
ओडारको बसाईँ
मृगको तृष्णा !
फुलेको फूल
डालीभरी मुस्कान
सबैले हेर्छन् !
 साइनो हाइकु बिचको तात्विक भिन्नताका बारेमा स्पष्ट रहेका आर्त साहित्य लेखनलाई जीवनको गति जस्तै निरन्तरता दिनुपर्ने बताउने आर्त गरिव परिवारमा जन्मिएका हुन् । गाउँघरमा बुवाले फलफूल र तरकारी बेचेर आफुलाई पढाएको कुरा उनी कुनै संकोच बिना नै बताउँछन्। आमालाई उच्चरक्त चापले गाँजेर दृस्ठिबिहिन हुनुपरेको दुखद कुरा उनी आफ्ना कुनै रचनामा पस्किन चाहँदैनन् ।
कविताका कुनैपनी विधामा नवरसको लालित्य हुन्छ नै ।जहाँ प्रेमको सर्वोच्च स्थान हुन्छ । आजको दुनियाँमा प्रेमको विविधता झन् बढ्दै गएको हुन्छ ।प्रेमका स्वरुपहरु इन्द्रेणीका रंग झैँ विभिन्न कोणबाट देख्न सकिन्छ ।कहिले काँडा बनेर घोचेको देखिन्छ ।कहिले बिझेको काँडा झिक्न प्रयोग भएको हुन्छ । कहिले फूलको सुरक्षार्थ खटिएको हुन्छ त्यही काँडा । कतै काँचो धागो झैँ कच्ची पनि देखिन्छ ।
हाइकु साइनो र मुक्तक लेखनमा व्यक्तिगत र लैङ्गिक प्रभाव समेत स्पष्ट देखिन्छ ।जसलाई सर्जन विविधताको रूपमा लिन सकिन्छ । नारी सम्मानको आदर्श बोकेका सबै समाज धर्म र सम्प्रदायमा नारीकै अवमूल्यन र हेलाँ नारी जीवनकै विडम्बना बनेर बसेको देखिन्छ ।नारी स्वतन्त्रताको जति चर्को नारा उत्ति क्रुर सामाजिक पहरेदारी छ । प्रेमकै रुपमा सुरक्षाको काँडेबार देख्न पाइन्छ ।
यो कुराको स्पष्टताबोध आर्त अकुलिनका रचनामा राम्रोसँग देखिन्छ ।सस्तो लोकप्रियता लागि आर्त छुद्र शब्दको सस्तो प्रयोग गर्दैनन् । काव्यिक उचाई प्राप्त गर्न शब्दमा लालित्य र शालिनता पहिलो शर्त हो भन्ने बुझेका आर्त अकुलिनका प्रकाशोन्मुख कृति छिट्टै पढ्न पाइयोस् हार्दिक शुभकामना  ।
नोट:- यस आलेखमा उल्लेख्य सबै रचना आर्त अकुलीनका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १० गते शनिबार