बाँकेका छिमेकी जिल्लामा समेत कोरोना संक्रमण बढ्दो छ । अहिले सम्म बाँके सहित बर्दिया र दाङमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँकेमा अहिलेसम्म ३३ जना संक्रमित छन् । अहिले सम्म करिब भारत लगायतका मुलुकबाट धेरै संख्यामा नेपालीहरु आइरहेका छन् । उनीहरुलाई यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको छ । केही दिनअघि मात्र भारतबाट कोहलपुरका २२ जना नागरीक भित्रिएका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । कोहलपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमण नदेखिएको भएपनि ढुक्क हुने अवस्था भने छैन । सोही बिषयमा कोरोना भाइरस संक्रमण रोक्नको लागि कोहलपुर नगरपालिका वडा नम्बर ९ ले गरिरहेको तयारीका विषयमा शुभाकर विश्वकर्माले वडाध्यक्ष ठाकूर प्रसाद थारुसँग गरेको कुराकानी ।
१. कोरोना भाइरस संक्रमण जोखिम न्युनिकरण गर्नको लागि वडा कार्यालयले कस्ता गतिविधि गरिरहेको छ ?
- सिंगो विश्व नै कोरोना भाइरस संक्रमण जोखिमको महामारीमा छ । यसबाट हामी समेत अछुतो छैनांै । करिब दुई महिनादेखि जारी लकडाउनको क्रममा हामी छौं । यस्तो अवस्थामा सुरक्षा अपनाउनुपर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने अहिलेको अवस्थामा हाम्रो दैनिकी समेत व्यस्त नै छ । दैनिक रुपमा हामी जनताको सुरक्षाको खातिर सक्रिय भइरहेका छांै । जनतालाई जनचेतना फैलाउनेदेखि सुरक्षित रहन सम्म आग्रह गर्ने काम वडा कार्यालयले गरिरहेको छ । आंशिक रुपमा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गरिरहेको अवस्था छ । जनताका समस्या समाधानका लागि प्रयासहरु भएका छन् ।
२. लकडाउनका कारण प्रभावितलाई दोस्रो चरणको राहत कहिलेबाट सुरु हुन्छ ?
- पहिलो चरणमा वडा नम्बर ९ ले १ सय ६२ जनालाई राहत वितरण गरेको थियो । यो वीचमा धेरैमा सहयोग व्यक्तित्वहरुले समेत हामीलाई सहयोग गर्नु भएको छ । हामीले पनि दोस्रो चरणको राहत वितरणको लागि नगरपालिकालाई संख्या पठाइएको छ । १ हजार बढीको लिष्ट गएको छ । नगरपालिकाले अहिलेसम्म उपलब्ध गराइसकेको अवस्था छैन । वडामा दैनिक राहतको लागि मानिसहरु आइरहेका छन् । हामीले केही समयमा राहत प्रदान गर्छौं भनेर भनिरहेको अवस्था छ । दोेस्रो चरणमा त्यही १ हजार भन्दा बढी स्थानीयहरुले राहत पाउँछन् होला । देशभर संक्रमित बढिरहेकोले लकडाउन बढ्ने सम्भावना समेत रहेको छ । यो अवस्थामा विपन्नहरुलाई झन् समस्या हुने देखिन्छ । त्यसैले हामीले तथ्यांक संकलन गर्दा व्यक्तिहरुको पारिवारिक अवस्था के हो भन्ने विषयमा बुझिसकेका छांै । हाम्रोमा दैनिक ज्यालादारी गरेर खाने मानिसहरु धेरै छन् । भाडामा बस्ने, विद्यार्थी लगायतले पाउँछन् दोस्रो चरणमा ।
३. कुनै सहयोगी निकायबाट समेत सहयोग प्राप्त भएको छ र ?
- हामीलाई थूप्रै निकायले सहयोग गरेको छन् हामीलाई । अन्य वडा जस्तै हाम्रो वडामा पनि नेपाली काँग्रेसको नगर समितिले सहयोग गरेको थियो । ५ क्विन्टल चामल । वडामा रहेको विपन्न नागरिकलाई १५ किलोका दरले वितरण गर्ने काम भयो । ३ क्विन्टल चामल चाही आठ नम्बर वडाका एकजना व्यक्तिले हाम्रो वडालाई सहयोग गर्नुभएको थियो । थारु कल्याणकारीले समेत राहत प्रदान गरेको थियो । उसले दिएको २ क्विन्टल चामल समेत वितरण गर्ने काम भयो । मोटामोटी रुपमा हामीले प्राप्त गरेको सहयोग यही नै हो । अरुले पहिले वडाले पनि उनीहरुलाई राहत उपलब्ध गराइसकेको थियो । अब दोस्रो चरणमा पनि हामीले राहत वितरण गर्ने भनेका छौ । नगरपालिकाबाट प्राप्त हुन वित्तिकै वितरण हुन्छ ।
४. तपाईको वडामा तेस्रो मुलुक तथा भारतबाट कोही आएका छन् ?
- हाम्रो वडामा अहिले सम्म एक जना मात्रै आएका छन् । उनी भारतबाट आएका थिए । उनी आएकोे पनि एक महिना बढी भइसकेको छ । उनी भारतबाट आएको थाहा पाउन वित्तिकै हामीले नगर स्वास्थ्य शाखाको सम्पर्कमा लिएर उनको विस्तृत स्वास्थ्य जाँच गर्ने काम भयो । उनी दुई हप्ता क्वारेन्टाइनमा बसे । एक साता पहिले उनी सहित हाम्रो वडाका पाँच जनाको स्वास्थ्य जाँच भएको थियो । दुई जना मस्जिदका धर्मगुरु, दुईजना मन्दिरका पुजारी, भारतबाट आएका व्यक्ति र एक महिलाको कोरोना जाँच भएको थियो । सुखद खबर भन्नु पर्ला सबैको रिपोर्ट नेगेटिभ आयो । अरु त हाम्रो वडामा कोही पनि आएका छैनन् । भारतबाट आएका घर फर्किसकेका छन् ।
५.वडाबासीलाई कोरोना बारेमा जनचेतना कत्तिको फैलाउनु भएको छ ?
- हामीले अहिले सम्म गरिरहेका गतिविधि मध्ये जनचेतना फैलाउने एक हो । हामीले वडाको तर्फबाट कोरोना भाइरसका विषयमा सम्पूर्ण नागरिकलाई टोल टोलमा गएर जनचेतना फैलाउने काम भएको छ । कोरोना लक्षण, बच्ने उपाय र सुरक्षाका विधिका विषयमा सिकाउने काम भएको छ । यस्तै कोरोनाबाट सुरक्षित रहनको लागि हामीले वडाबासीलाई अनिवार्य मास्क तथा सेनिटाइजरको प्रयोगका बारेमा जानकारी गराइरहेको छ । सामाजिक दुरी कायम गर्ने लकडाउनको पूर्ण पालना गराउने तथा अत्यावश्यक बाहेकका काम बाहिर ननिस्कनको लागि अपिल समेत गरेका छौ । कतिपय अवस्थामा स्थानीयहरुले आफै पनि संयमता अपनाउनु भएको छ । खेतीपातीको समय भएको कोही काममा समेत निस्कनु हुन्छ ।
६. अन्त्यमा, कोरोनाको जोखिम बढ्दो क्रममा छ, जोखिम न्युनिकरणको उपाय के हुन सक्छ ?
- यसमा चाही म के भन्न चाहन्छु भने । कोरोना भाइरसको जोखिम बढ्दो क्रममा छ । यसले के देखाउँछ भने हामी झन जोखिम तर्फ धकेलिदै छौं । झन् बाँकेमा समेत कोरोना भाइरस जोखिम बढिरहेकोले उच्च सतर्कता नै अहिलेको प्राथमिकता हो । सबै नाकाहरु बन्द गरिएको छ । कोहलपुरको समेत हवल्दारपुर नाका बन्द छ । म पनि कति दिन सुरक्षाको लागि त्यहाँ गएर खटिरहेको छु ।









प्रतिक्रिया दिनुहोस्