कोहलपुर ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अछामबाट गम्भीर अवस्थाकी सुत्केरी महिलाको उद्दार गरेको छ । जिल्लाको बयलपाटा अस्पतालमा शनिबार सुत्केरी भएकी रामारोशन गाउँपालिका भटाकटियाकी २४ वर्षीया देउमी साउँदलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको हो ।
उनीलाई शनिबार साँझ सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार सुत्केरी भएपछि पेटमा अत्यधिक रगत जमेको, निरन्तर रक्तश्राव एवंम पिसाब रोकिएपछि उद्दार गरिएको हो ।
साउँदलाई मन्त्रालयको गम्भीर अवस्थाका सुत्केरी महिलाको उद्दार कार्यक्रम अन्तरगत उद्दार गरी कोहलपुर पठाईएको उनले जानकारी दिए । सेनाको हेलिकोप्टर मार्फत उद्दार गरेर ल्याइएकी उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधार हुने क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्