सशस्त्र प्रहरीलाई संघको जस्तापाता सहयोग



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा बनाएको बिपद् व्यवस्थापन कोषले सशस्त्र प्रहरीलाई १० बन्डल जस्तापाता सहयोग गरेको छ । बाँकेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि बिहिबार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जस्तापाता हस्तान्तरण गरेका थिए । सीमा सुरक्षामा दिन रात नभनी खटिएका प्रहरीलाई डिउटीमा समस्या नहोस् भनेर क्याम्प निर्माणका लागि सानो सहयोग गरिएको उनले जानकारी दिए ।

संघको बिपद् कोष मार्फत बिभिन्न सहायता प्रदान गरिरहेको अध्यक्ष मन्सुरीले बताए । साथै संघले बनाएको बिपद् कोषमा सहयोग गर्ने क्रम जारी रहेको छ । जस अनुसार बिहिवार कोषमा अध्यक्ष मन्सुरीले ७ हजार ५, पूर्व महासचिव बिष्णु लामिछानेले ९ हजार, व्यवसायी एवं समाजसेवी मुन्ना मन्सुरीले ७ हजार ५, व्यवसायी रामकुमार राठौरले ७ हजार ५ सय र व्यवसायी उपकार टण्डनले सात हजार ५ सय सहयोग गरेका थिए ।

जस्तापाता सहयोग गरेकोमा सशस्त्र प्रहरीले संघलाई धन्यवाद दिएको छ । अस्थायी पोष्टमा कष्टकर तरिकाले डिउटी गरिरहेका सशस्त्र प्रहरीलाई पक्की संरचना निर्माणका लागि जस्तापाता सहयोगी सावित हुने छ । अध्यक्ष मन्सुरी संघको कोषमा सहयोगको लागि सबैलाई अपील समेत गरेका छन् । अहिले कोरोना भाइरसको संक्रमण फैलिएपछि बाँकेको भारतसँग सीमा जोडिएको ६५ किलोमिटर क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी सुरक्षाको लागि २४ सै घण्टा खटिएको अवस्था छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २६ गते शुक्रबार