12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

१२ हजार बढिलाई राहत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७  

नेपालगञ्ज ।

बाँके नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने १२ हजार बढि विपन्न परिवारलाई राहत वितरण गरेको
छ । नगरभित्र बसोबास गर्ने विपन्न समुदायका दैनिक ज्याला मजदुरी गर्ने १२ हजार ४ सय ६ परिवारलाई राहत वितरण गरिएको हो । उपमहानगरपालिका नगर कार्यपालिका बैठकको निर्णय अनुसार वडा कार्यालयले पहिलो चरणमा विपन्न परिवार छनोट गरेर वडा कार्यालयमार्फत राहत वितरण गरिएको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।

उनका अनुसार प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरिएको थियो । टोल विकास समिति भएका वडामा समितिले विपन्न घरपरिवार पहिचान गरेको प्रवक्ता रिजालले जानकारी दिए । ‘वितरण भएको राहत पारदर्शी बनाउनका लागि उप–महानगरपालिकाको वेभसाईटमार्फत राहत प्राप्त गर्नेहरुको नाम सार्वजनिक भईरहेको छ’ उनले भने, ‘सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको हो ।’

अझैपनि कतिपय वडामा विपन्न परिवारले आफुहरु छुटेको भन्दै निवेदन दिएका कारण राहत प्राप्त गर्नेको सङ्ख्या अझै बढ्ने सक्ने उप–महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा स्थायी बसोबास गर्ने विपन्न समुदायलाई राहत वितरण गरिएकोमा दोश्रो चरणमा नगरक्षेत्रमा भाडामा बस्ने दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग र विद्यार्थीका लागि राहत वितरण कार्य वडा कार्यालयमार्फत सुरु गरिएको छ ।

उप–महानगरपालिकाका कतिपय वडाहरुमा भने वडाअध्यक्षले राहात वितरणमा मनोमानि रहेको भन्दै विरोध समेत आएको थियो । सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिनको लागि घोषणा गरेको लकडाउनको कारण समस्यामा परेकाहरुलाई राहात प्रदान गरिदै आएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १६, २०७७     8:29:56 AM  |