12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

अन्न भण्डारण गर्दै बारबर्दिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १५, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

लगातारको लकडाउनले नगरमा निम्त्याउन सक्ने खाद्यान्न अभावलाई मध्यनजर गर्दै बारबर्दिया नगरपालिकाले नगरबासीलाई कम्तिमा ३ तीन महिनासम्म पुग्ने गरि अन्न भण्डारण गर्न थालेको छ । लकडाउन लम्बिन सक्ने र नगरका अधिकाश घरपरिवारले किनेर खानुपर्ने बाध्यता रहेकाले नगरबासीलाई करिव ३ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण गर्न लागिएको नगरप्रमुख प्रमुख दुर्गाबहादुर थारुको सचिवालयले जनाएको छ । ‘नगरमा अधिकाश मानिसहरु किनेर खाने वर्गका छन् ।

उनीहरुलाई पनि खाद्यान्न किन्न अन्यत्र जान नपरोस् र मजदुरी गरेर खाने विपन्न वर्गलाई नगरबाट राहत वितरण गर्न सजिलो होस भनेर खाद्य भण्डारको व्यवस्था मिलाएका हौ ,’ नगरप्रमुख थारुले भने । नगरपालिकाले नगर भित्र विभिन्न स्थानमा रहको खाद्य संकलन केन्द्रहरुलाई आफुले खरिद् गरेको धान, मकै, गहुँ र दलहन बाली नगरलाई करिब ३ महिनासम्म पुग्ने गरि भण्डारण सुनिश्चित नहुँदासम्म बेचसबखन नगर्न खाद्य संकलन केन्द्रहरुलाई अनुरोध गरेको छ ।

यसैगरि खाद्य मिलहरुलाई धान भण्डारण नगरि चामल बनाएर राख्न नगरपालिकाले निर्देशन दिएको छ । किसानद्धारा उत्पादित खाद्य वस्तु नगरले जारी गरेको सुचनाका आधारमा मात्र खरिद् बिक्रि गर्न नगरपालिकाले अनुरोध गरेको छ । कोरोना भाइरसले निम्त्याएको महामारीको रोकथाम, उपचार तथा राहत कोषमा १ करोड ३५ लाख २ सय ७० रुपैँयाँ विपत कोषमा बजेट रकमान्तर गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।

प्रकाशित मितिः सोमवार, बैशाख १५, २०७७     10:45:58 AM  |