कोहलपुर ।
बाँकेका दुई वटा स्थानीय सरकारलाई लुमन्ती आवासका लागि सहयोग समूहले आर्थिक सहयोग गरेको छ । समूहले बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई ३ लाखको चेक हस्तान्तरण गरेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि दुवै पालिकाले स्थापना गरेका विपत् व्यवस्थापन कोषमा उक्त रकम सहयोग गरिएको समूहले जनाएको छ ।
समूहका परियोजना अधिकृत लाल बहादुर बुढाथोकी दुई वटै स्थानीय तहमा सरसफाई सामग्री किन्नको लागि सहयोग होस भन्ने उद्देश्यले सहयोग गरिएको हो । सहयोग रकम बापतको चेक कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकूरीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
‘हामीले एक स्थानीय तहलाई १ लाख ५० हजारका दरले सहयोग गरेका छौ ।’उनले भने ‘यो सहयोग कोरोना भाइरसबाट बच्नको लागि आवश्यक पर्ने सरसफाईका सामग्री किन्नको लागि हो ।दुवै पालिकाका प्रमुखलाई चेक हस्तान्तरण गरिएको छ ।’ विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट बच्नको लागि देशभरका स्थानीय तहले राहत कोषको स्थापना गरेका छन् । दिनानुदिन विभिन्न व्यक्ति तथा संघ सस्थाबाट सहयोग भइरहेको बताइएको छ ।