बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनको समयमा हुने कालोबजारी रोक्न अनुगमन तिव्र पारेको छ ।
लकडाउनको समयमा बजारमा हुने सम्भावित कालोबजारी रोक्न नगरपालिकाको अगुवाईमा अनुगमन गरिने तिव्र पारीएको हो ।
जनतालाई सहज सेवा प्रदान गर्नको लागि नगरपालिका स्थित सरोकारवालाहरुको सहभागितामा अनुगमन र कारबाही प्रक्रियालाई कडाई गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले शुक्रबार नगरपालिकास्थित चेपांग बजार अनुगमन गरिएको बताए ।
‘हामीले कालोबजारी रोक्न अनुगमनलाई तिव्र पारेका छौं’ उनले भने, ‘सोही क्रममा वडा नम्बर १ मा पर्ने बबई चेपांग बजारमा अनुगमन गरेका थियौं ।’ सो क्रममा दैनिक उपभोग्य वस्तुहरुको बिक्रि वितरण गरिरहेका खाद्यान्न पसललाई मूल्यसूचि अनिवार्य रुपमा राख्नको लागि निर्देशन दिइएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
‘अनुगमनको क्रममा पसल तथा डिलरहरुमा मूल्य सूचि नटाँसिएको पाइएकोले पहिलो पटक टाँस्न निर्देशन दिइएको छ’ उनले भने, ‘दोस्रो पटकको अनुगमनमा समेत मूल्य सूचि नटाँसेको पाइएमा कारबाही गरिनेछ ।’ बिहीबार र शुक्रबारको अनुगमनको क्रममा मूल्य सूचि नटाँसेका पाँच वटा सटर बन्द गरिएको नगर प्रमुख अधिकारीले बताए ।
‘लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति नै नगरपालिकाको पहिलो प्राथमिकता हो । नगरबासीलाई समस्या नहोस् भनेर नगर, वडा देखि गाउँ स्तरसम्म जनप्रतिनिधि, र सुरक्षाकर्मी खटाएका छौ’ उनले भने ।
सरकारले अझै लकडाउनको समय लम्ब्याएको खण्डमा सर्वसाधारणको सहजताको लागि दैनिक खाद्य वस्तुको आपूर्तिको व्यवस्था मिलाउने प्रक्रिया समेत नगरपालिकाले थालेको बताइएको छ ।
केही दिनअघि समेत बाँसगढीमा तेब्बर मुल्यमा सेनिटाइजर बिक्री गर्ने एक मेडिकल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाइएको नगर प्रमुख अधिकारीले जानकारी दिए । यस्तै नागरिकको सुरक्षाको लागि नगरबासीहरुलाई मास्क समेत वितरण गरिएको छ ।
नगरपालिकाले नागरिकको सुरक्षालाई समेत प्रमुखताका साथमा लिएको नगर प्रमुख अधिकारी बताउँनगर प्रमुख अधिकारी बताउँछन् । कोरोना भाइरसको उच्च सतर्कता अनुसार नै भारत लगाएका देशबाट नगरपालिकामा भित्रिएका २२ जना नागरिकलाई नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको छ ।
बाँसगढी नगरपालिकाले तीन वटा स्थानमा क्वारेन्टाइन निर्माण गरिसकेको अवस्था रहेको छ । नगरपालिकाको नवनिर्मित भवन, वडा नम्बर ८ मा रहेको बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणा र वडा नम्बर ९ मा रहेको कर्णाली प्रावि तोरैयाँमा क्वारेन्टाइन निर्माण गरिएको हो ।
विशेष सुरक्षा व्यवस्थाका साथ २२ जना नागरिक क्वारेन्टाइनमा बसीरहेको नगर प्रमुख अधिकारीले मिसन टुडेलाई जानकारी दिए । बर्दियाका अन्य स्थानीय तह भन्दा बाँसगढी नगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्नको लागि प्रयास जारी राखेको नगरपालिकाले जनाएको छ ।
यस्तै शुक्रबार नै नगरपालिकाको अगुवाइमा वडा नम्बर ८ को लक्ष्मणा र रेशमटोलमा ६० वर्ष देखि माथि उमेर समूह र विपन्नहरुलाई मास्क वितरण गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्