अधुरो मिलन



कथा

– भरत बहादुर रानाभाट

चर्को घाम र बुङ्ग धुलो उडेको थियो । हतार–हतार उही दिनको रात्री बसमा काठमाण्डौ जान पर्ने भएकोले उसलाई गुलरियाबाट आउने गाडीले धम्बोझी चोकमा छोडी दियो । उसले रिक्सा ए रिक्सा भनेर बोलाउँदा एउटा रेक्सावाला टुप्लुक्क आईपुग्यो । सामान सहित रिक्सामा चढेपछि बसपार्क लैजाउ है अलि हतार छ उसले भनि । झोलाबाट रुमाल झिकेर तिन बर्षकी छोरीको पसिना पुछिदिई । रेक्सा पुष्पलाल चोकबाट बसपार्क मोडियो । बसपार्क नजिकै पुग्दा गाडीको कोलहालबिच एउटा होटलको छेउमा पुगेर शीतलमा बसेर उसले रिक्सावालालाई पैसा दिई । रिक्सावालाले बिसको नोट समायो र बैनीको नाम के हो ? भनेर सोध्यो । अनायासै रिक्सावालाले बिना प्रसँग नाम सोधे पछि उसलाई खुलदुली लागेर किन सोध्यौ मेरो नाम तिमिले ? भन्दै रिक्सावालालाई प्रश्न गरि । रिक्सावाला अलि हड्बडायो र भन्यो हैन, अरु त केही थिएन । तर कतै देखे जस्तो लाग्यो, त्यही भएर हो उसले भन्यो । उसले मेरो नाम गिताञ्जली हो भनि । रिक्सावालाले नबुझे झै गरेर गिताञ्जली ? भनेर प्रश्न ग¥यो । उसले अं हो भनि । उसले फेरी अनकनाउँदै घर सोध्यो । छोटकरीमा जवाफ आयो बर्दिया ।

टाउकोमा कालो रुमालको फेटा गुँथेको मैलो न मैलो पसिना–पसिना भएको रिक्सावाला मोटोघाटो थियो । उसले भन्यो, –मैले क्याम्पस पढ्दा हामीसंग एकजना केटी साथी गिताञ्जली पनि पढ्थिन् , त्यही झल्को लाग्यो । रिक्सावालाको भनाई नसकिँदै उसले प्रश्न गरि । तपाईको नाम के हो ? कस्ती थिई र तपाईकी केटी साथी ? उसले बिस्तारै भन्दै गयो , “मेरा नाम अभय हो । म जाजरकोटबाट क्याम्पस पढ्रन नेपालगन्ज आएको थिएँ । गाउँले केटो लवाईखवाई राम्रो थिएन । गरिव परिवारको म क्याम्पसमा आई ए प्रथम बर्षमा भर्ना भएर पढ्दा गिताञ्जली र हामी संगै पढ्थ्यौँ । केटीहरु धेरै थिए । मलाई उनी एकदम राम्री लाग्थिन् । तर उनको लवाईखवाई राम्रो थियो । फरासिली, जो सँगपनि खुलेरै बोल्ने गर्थिन । उनी केटाहरुसंग धेरै बोल्दा मलाई रिस उठ्थ्यो । तर , मैले भन्न केही  सक्तैनथे । मनमनै मन परेपनि उनीसँग भन्ने मेरो सहास हुँदैनथ्यो । परीक्षा नआउँदै मेरो घरमा बुबा बितेर घरतिर गएँ । बुबा बिते पछि डेरा भाडा र फिस तिर्न सक्ने क्षमता नभएपछि परीक्षामा समेल हुन सकिन । अनि पढाई छाडिदिए, र गाउँका केटाहरुसंग भारतमा काम गर्न गएँ । तर तिनचार बर्ष भारतमा बस्दा कैयौँ पटक अपमानित हुन प–यो । भारत जाँदा र आउँदा सिमामा बस्ने शुरक्षाकर्मीहरुको दुवर््यबहार ले आत्म सम्मानमा चोट पुग्थ्यो । स्वदेशमा रोजगारी नभएपछि बाध्य भएर रोजीरोटी कै लागी भारत गएर लामो समय बसेपनि प्रगति केही भएन । खाली पेट पाल्ने काम मात्र भयो । घरमा फर्कन नेपालगन्जमा आएँ । साउनको महिना थियो । सुर्खेत छिन्चुको बाटो भएर घर जाँदा बाटोमा घनघोर पानी परिरहेको थियो । जसोतसो घर पुग्न आधा दिनको बाटो बाँकी छँदा घर माथिबाट पहिरो आएर आमा, भाइ,बैनी तथा घरबारी सबै बगाएको खबर बाटोमा थाहा पाएँ । त्यो सुनेर उडेर जाउ कि गुडेर जाउ जस्तो भयो । मनमा अनेक तर्कना खेल्न थाले । एक झुल्को आमाको अन्तिम साँस हेर्न मन आत्तिएको थियो । पहिरो गएपछि अवश्य पनि सबै चिज पुरियो होला भनेर मनमनै सोच्दै म हतार हतार हस्याङ् फस्याङ् गर्दै गाउँमा पुगे । गाउँको त्यो भयावह अवश्थाको म साँक्षी मात्र भए । म जन्मेको र मेरा प्यारा भाइ बैनी हुर्केको त्यो हाम्रो स्वर्ग भन्दा पनि प्यारो घरका भग्नवशेष बगरमा परिणत भएको थियो । मैले कल्पना समेत नगरेको दृश्य मेरा आँखा अगाडि बाट मलाई नै टुलुटुलु हेरी रहेको थियो ।

एकसरो कपडा लगाएर आप्mनो आङ मात्र ढाकेर छोराछोरी हुर्काउने मेरी महान आमाको वात्सल्य स्नेह सदाको लागी त्यही माटोमा विलिन भयो । ति यादहरु सबै अतित भए । घर उजाड भयो । गाउँ बिरानो भयो । बिरक्तिएको एक्लो मन त्यसै त्यसै हुडलिएर आयो । अव हुन बाँकी त्यहाँ केही थिएन । हुने कुरा सबै भएर नै छाडी सक्यो । जे जस्तो अवश्था आएपनि सहनु बाहेक अर्को उपाय थिएन । म गाउँमा पुगेर हेर्दा घरको नामोनिशान नै थिएन बगरै बगर मात्र थियो । आमा भाइ बहिनी कसैको पनि सब देख्न पाइएन् । छिमेकीको घरमा बसेर काज क्रिया सम्पन्न गरे । आप्mना परिवार र जायजेथा केही नभएपछि अर्कैको घरमा बोझ बनेर बसीरहन मन मानेन् । गाउँमा आप्mन्तलाई कति दिन दुःख दिएर बसीरहने , आप्mनो भएको सबै सम्पत्ति र आफन्त गुमाएपछि मन स्थिर भएन । मनमा विरह चल्न थाल्यो । आमा , भाइ बैनीको सम्झनाले झन जोड जोडले सताउन थाल्यो ।
एकान्तमा धेरै दिन आँशु झारे । सारा चिज आफु बाट गुमे पछि बेसहारा भएर बाच्नु भन्दा मर्नु उपयुक्त ठाने पनि काल नआउँदै मर्न पनि सकिएन । मुख हेरेर सम्झेर बस्ने कुनै आधार भएन । सधै मरीमरी बाच्नु भन्दा बरु भारत तिरै गएर कुल्ली काम गरेर बस्न ठिक ठानेर फेरि भारततिरै काम गर्न गएँ । तर फेरी भारतमा गएर पनि मन स्थीर हुन
सकेन । मनमा छटपटी र एकान्तपनले सताउन सतायो । फेरी त्यहाँको अपमान र घृणाको त्यो हद कति सहेर बस्नु । बरु भोकै मरेपनि आफ्नै माटोमा मरुला भनेर भारतमा नबसी नेपाल फर्केर नेपालगन्ज आएर रिक्सा चलाउन थालेको छु ।
दिनको पचास रुपैया साहुलाई बुभाmउँछु । पाँच ,छ हजार महिनामा कमाईहुन्छ । कोठा भाडामा लिएर बसेको छु । एक्लो जीवन कहिले जागर चले पकाएर खान्छु , कहिले भोकै बस्छु । जाँड रक्सी खान्न , पैसा जम्मा भएपछि फेरि पढ्ने सोच बनाएको छु । कर्ममा नहुने मान्छेलाई जहाँ गएपनि उही दुःख मात्र रहेछ । बर्मा गए कर्म संगै भनेझै भएको छ मेरो जीवनमा । एक्लो महशुश गर्छु । दोहोरो सम्वाद गर्न दैवले साथ दिएन । एक्लै आफ्नै मन संग सम्वाद गर्छु अझै एक्लै मनको बह पोख्न र दुःख बिसाउन नपाई कति दुःख र हण्डर खान बाँकी छ मेरो जीवनमा । अझै दैवको कुन ऋण चुक्ता गर्नुृ पर्ने हो , केही थाहा छैन मलाई ”।
अभयले आप्mना यति कुराहरु भन्दा गिताञ्जलीका आँखामा साउने भेल उर्लेको थियो । अभय “ म तिम्रो त्यही क्याम्पसको साथी हो । तिमीले मलाई माया गर्ने कुरा थाहा भएन । माया गर्नेले समयामा एकपटक भनेको भए सायद जीन्दगीको पाटो आज अलग भएर चल्थ्यो कि ? । तर अव त्यो कुरा सबै अतित बन्यो । दोस्रो बर्षको पढाई चलिरहँदा मलाई माया गर्ने गाउँतिरकै सचिन भन्ने केटासंग भागेर विवाह गरे । त्यो केटा दश कक्षामा पढ्थ्यो , घरमा जात मिले पनि परिवारले वास्ता गरेनन् । हामी दुबै जनाले दुःख पाउन सम्म पायौँ । कहिले कता ,कहिले कता । पैसा हुन्जेल खायो ,नभएपछि भोकै बसेर दिनहरु बिताएपछि एक बर्ष पछि उसले घरमा लिएर गयो । घरमा गएपछि शुरुशुरुमा सबैले माया गरे, केही समय सम्म हाँसी खुसीका साथ दिन बितायौँ ।
ऊ पढेलेखेको थिएन कतै केही काम पाउने कुरा भएन । ऊ बेरोजगार भयो । काम नभएपछि हल्लिने बाहेक उस्को अरु केही भएन । यसरी दिनहरु काम नगरि बित्न थाल्दा उसले केही सिप सिकेन । योग्यता नभएको ऊ गाउँ घरका लफङा केटासंग दिनभरी हिड्ने, चुरोट रक्सी खाने ,साँझ घरमा आएर मसंग झगडा गर्ने , पिट्ने गर्न थाल्यो । हुँदाहुँदा ऊ नसा खान थाल्यो । नसा खाएर सूक्दै गयो । लफङा केटाहरु संग दिनभर हिड्ने र घरमा समेत लिएर आउने गथ्र्यो । जो संग पनि झगडा गर्ने, गाउँटोल छिमेकका मानिसहरु कसैले राम्रो मानेनन् । घरमा आमा बुबाले पनि उसलाई सुधार्न निकै प्रयास गरे । तर ऊ कहिल्यै सुध्रेन । सानोतिनो चोरी गर्न थाल्यो । प्रहरी समेत घरमा आउन थाले । घरको ईज्जत माटोमा
बिलायो ।

एक दिन आधारातमा घरमा आउँदै गर्दा उसलाई बाटोमा कसैले मरणाशन्न हुने गरि पिटेछन् । ऊ बेहोसी अवश्थामा घरमा आयो , रक्ताम्य उसलाई घर परिवार , छिमेकी भएर अस्पताल लिएर जाँदै गर्दा बाटोमा मूत्यु भयो । ऊ मेरो लोग्ने हो जेजस्तो भएपनि ऊ हुँदा म शुरक्षित महशुश गर्थे । तर फेरी जीन्दगीले अर्कै मोड लियो । कल्पना नगरेको कुरा ब्यबहारमा भोग्न थाले मैले । मेरो पेटमा गर्भ थियो । अव मेरा दुःखका दिनझन बढ्न थाले । मेरो छोरीको जन्म भयो । छोरी तिन बर्ष पुगी । घरमा सचिन नभएपछि मलाई बिभिन्न लान्छाना लाग्न थाले । तेरै कारण छोराको यो गति भयो, भनेर घरमा उठीबास भयो । सचिन बितेपछि मलाई घरमा बस्न दिएनन् । तेरा कारणले मेरो छोराको यो हवीगत भयो भनेर मलाई घरमा दुःख दिनसम्म दिए । माईतमा आमाबुबा बितेपछि दाजुभाउँजुले आफै पोइँला जानेलाई यहाँ कुनै ठाउँ छैन भनेपछि म घर न घाटको अवश्थामा पुगे । त्यसैले म काठमाण्डौ जान भनेर यहाँ बसपार्क आएकी हुँ । काठमाण्डौ गएर कुनै होटलमा भाडा माझेर भएपनि पेट पालेर यो छोरीलाई पढाउने र हुर्काउने बिचारले आप्mनो सामान लिएर बाटो खर्च बनाई घर र माईतीलाई सधैको लागि त्यागी आजको नाइट बसमा काठमाण्डौ जाने बिचारले यहाँ बसपार्कमा आएकी छु । यो छोरी हाम्रो प्रेमको नासो हो । जीवनमा जानेर वा नजानेर मैले प्रेम गरे । हाम्रो प्रेमको चिनारी यही छोरी छ । मैले जतिसुकै दुःख भोग्न परे पनि मेरो छोरीले कहिल्यै दुःख भोग्न नपरोस । त्यही भएर होटलमा भाँडा माझेर वा पोता लगाएर भएपनि यो मेरो मुटुको टुक्रालाई पढाएर ठुलो मान्छे बनाउन नसके पनि आफ्ना खुट्टामा उभ्भिएर दिन काट्न सक्ने बनाउने मेरो धोको छ ।

भगवानले कहाँ लैजान्छन , के गर्छन मलाई केही थाहा छैन । मैले काठमाण्डौँमा कोही चिनेकी पनि छैन् । म भगवानको भरोसामा हिड्दै छु । जीवनमा अझ कति दुःखको भारी बोक्न बाकी छ मैले । एउटा महिलाको लागी जे जस्तो भएपनि साहारा भनेकै लोग्ने हो । तर उसले पनि आफैले आफनो ज्यान लिएर गयो । जीवनको कठिन अवश्थामा पनि मन खाने र माया गर्ने भनेको आफ्ना आमा बुबा नै हो । तर आमा बुबा जिवित भएको भए यसरी घर र माइतीलाई नै त्यागेर हिड्न पर्ने थिएन । अव जीवनले कुन मोड लिन्छ । म एक्ली महिला जो संग न उच्च शिक्षा छ न परिवारको साथ छ । पुरुषहरु जहाँका भए पनि स्वार्थमा लिप्त भोका हुन्छन । मनमा यही डर लागिरहेको छ । साथमा सानी छोरी छ । उसले दुःख पाउँछेकी आमाको मन हर्लक्क भएर आउँछ । यो दुःखको भारी अड्याउने चौतारी कतै छैन । न समात्ने हाँगो न टेक्ने अखेटो भएको छ जीवन । फेरी पनि छोरीको लागी बाच्न परेको छ । सन्तानको मायाले गर्दा बाच्न जति कठिन भएपनि फेरि बाच्ने रहर जाग्दो रहेछ । । तर बाच्न पनि दिन्छ कि दिदैन् समाजले । बाच्नै कठीन छ यहाँ । ति मेरा जिवित सारा खुसीका सपनाहरु पानीको फोका जसरी नै बिस्तारै बिलाउँदै गएका छन । अन्जान उमेरमा माया प्रितीको लहैलहैमा लागेर जीवनमा ठुलो भुल गरे मैले । जीवन कुहिँरोको काग बन्यो । गन्तव्य बिहिन ,दिशा बिहिन । त्यसैले हेर अभय म पनि तिमी जस्तै बेशाहारा भएकी छु ” ।

गितान्जलीको कुरा सुनेर अभय पनि भावुक बन्यो । आफुले पहिला माया गने््र्् केटीसाथी र आफु दुवैजनाको अचानक नाटकिय रुपमा जीवनको अत्यन्त कठीन मोडमा जम्काभेट भएको थियो । दुबैले त्यहाँ आँशुको भेल खसाले । होटलको छेउँको कुर्चिमा बसेका दुबै जनाले छोरीलाई हेरी रहे, एकछिन मुखामुख गरे । गर्मी महिना भएकोले होटेलमा ग्राहक थिएनन् । एक दुईवटा कोक , फेन्टा र पु्रmटी लिनमात्र ग्राहक आउँथे । रिक्सा होटलको छेउ तर्फको कुनामा रोकीएको थियो । होटलवाला साहुनीले पनि यिनिहरुको सबै हर्कत हेरेर पनि नदेखे झै गरेकी थिईन । होटलमा लोग्ने मानिस देखिदैनथ्यो । साना केटाकेटी एक आपसमा खेलीरहेका थिए यि दुबै जनाको कुरा चाख मानेर सुनिरहेकी होटलवाली साहुनीको पनि बिगत कतै यस्तै मनभरी दुःखको भारी पो थियो कि ? दुबैजनाले फेन्टा मगाएर खाए । छोरीलाई फ्रुटी खान दिए । त्यहाँ एकछिन दुबैजना केहीबेर नबोली एकआपसमा हेराहेर मात्र गरिरहे । फेरि त्यहाँ गहिरो सन्नटा छायो । धेरै बेरको मौनता तोड्रदै एक्कासी गिताञ्जलीले भनि, अभय म एउटा कुरा भनु ? के कुरा हो भनन् ,अभयले
भन्यो ।

के मलाई तिमीले यो अवश्थामा स्वीकार गर्न सक्छौ ? गिताञ्जलीको प्रश्नले अभय एकछिन रन्थनियो । के गर्ने के नगर्ने ? अकास्मतको यस्तो प्रश्नले अभय गम्भीर भयो र अचानक फेरि आँशुको भल बगायो र भन्यो “ मेरो पनि यो दुनियामा अव कोही छैन , म तिमीलाई सहर्ष स्वीकार गर्छु । छोरीलाई माया गर्छु , परिश्रम गरेर तिमी र छोरीलाई पाल्छु ” । अभयले एकै साँसमा भन्न भ्यायो । उसले छोरीलाई अँगालोमा लियो र माया गरेर सुम्सुम्ययो । अप्रत्यसित रुपमा दुबै जना जीवनको कठिन मोडमा भेट भएर यसरी “ मिलन ” हुन पाएकोमा दुबै जना खुशी र दङङ् देखिन्थे । नयाँ जीवनको शुरुवातको लागि रिक्सामा बसेर बसपार्कबाट खुशी हुँदै तिनै जना डेरा तर्फ लम्किदै गए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार