कोहलपुर ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि पूर्व राज्यमन्त्री दलबहादुर सुनारले गाउँमा अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ ।
सबैतिर स्थानीय, प्रदेश र केन्द्रीय सरकारको मुख ताकेर बसिरहेको बेला पूर्व राज्यमन्त्री सुनारको सक्रियतामा स्थानीय स्तरबाटै योजना निर्माण र कार्यान्वयनको लागि कोष खडा गरिएको छ । उहाँको नेतृत्वमा बाँके निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बैजनाथ र खजुरा गाउँपालिकामा सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि स्थानीय स्तरबाट प्रभावकारी योजना बनेका छन् ।
‘यो महाविपत्तिको बेला सरकार वा अरु कसैको आश गरिरहने होईन, आ–आफ्नो ठाउँमा भएको सम्भावनालाई प्रयोग गर्न सक्नुपर्दछ’, उहाँले भन्नुभयो,‘हामीले सरकारले गरिरहेको काममा सहयोग र समन्वय गर्दै स्थानीय स्तरमा नागरिकलाई सचेत र उत्तरदायी बनाउन लागि परेका छौँ ।’
उहाँले विपद्को बेला सरकारको मुख ताकेर बसिरहनु भन्दा आ–आफ्नो ठाउँमा भएको स्रोत साधनको अधिकतम उपयोग गर्दै जनतालाई सावधानीपूर्वक सचेत बनाउन सके प्रभावकारी कार्य हुन सक्ने भएकोले आफूहरु क्रियाशिल भएको बताउनुभयो ।
‘महामारी, आपत, विपतमा आफ्नो घर, छिमेक, टोल, गाउँ र समाजलाई सर्वप्रथम आफैले सजक बनाउन सक्नुपर्दछ, गाउँ समाजको नेतृत्व गर्न नसक्ने तर ठूला कुरा गरिाख्नुको अर्थ हुँदैन’, सुनारले भन्नुभयो, ‘यतिबेला सरकारलाई गाली गरेर बस्ने समय होईन, सरकारलाई सजक बनाऔँ तर आफ्नो ठाउँमा आफै प्रभावकारी ढङ्गले लाग्न सक्यौँ भने कोरोनाविरुद्धको लडाईमा हाम्रो जित हासिल हुन सक्छ ।’
तत्कालिन नेकपा एमालेको केन्द्रीय सदस्य रहनुभएका सुनार २०६४ र २०७० मा दुईपटक संविधानसभा सदस्य बन्नुभयो । २०६८ मा सिँचाई राज्यमन्त्री समेत हुनुभएका सुनार २०७४ पछि भने गाउँ फर्केर जनस्तरमा काम गर्नुभएको छ । हाल उहाँ बैजनाथ गाउँपालिकामा रहेको प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेर विद्यालयलाई नमूना बनाउनु भएको छ भने स्थानीय चहाना कृषि सहकारी संस्थाको समेत नेतृत्व गर्नुभएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न जारी लकडाउनले गरिखाने मजदुर र विपन्न समुदायको अवस्था दयनिय बनेपछि सुनारको संयोजकत्वमा यतिबेला विपत कोष निर्माण गरी अतिआवश्यकीय खाद्यान्न सङ्कलन तथा वितरण गर्ने कार्य शुरू भएको छ ।
बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश क क्षेत्रमा रहेका मजदुर तथा गरिव विपन्न समुदायलाई लकडाउनको समयमा अत्यावश्यक खाद्यान्न लगायतको सामग्री जुटाउन पूर्व राज्यमन्त्री सुनारको संयोजकत्वमा विपत कोष निर्माण गरी काम शुरू भएको नेकपा जिल्ला सचिवालय सदस्य चन्द्र चौधरीले जानकारी दिनुभयो ।
उहाँले निर्वाचन क्षेत्रमा रहेका मजदुर तथा विपन्न समुदायको तथ्याङ्क सम्बन्धित गाउँपालिका र वडा कार्यालयबाट सङ्कलन गरी वास्तविक पीडितको घरसम्म पुगेर आवश्यक खाद्यन्न वितरण गरि कोरोना विरुद्धको अभियानमा जनतालाई जागृत बनाईने बताउनुभयो ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले पूर्व राज्यमन्त्री सुनारको सक्रियताले कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि गाउँपालिकाले सञ्चालन गरेका अभियान थप प्रभावकारी हुने बताउनुभयो ।
स्थानीय स्तरमा सबैले आ–आफ्नो स्थानबाट आवश्यक सक्रियता देखाए गाउँपालिकाले सञ्चालन गरेका हेल्प डेस्क, क्वारेन्टाइन, आइसोलेशन अस्पतालका काम कार्वाही पनि प्रभावकारी भई कोरोना भाईरस रोकथाममा सघाउ पुग्ने उहाँको भनाई रहेको छ ।










प्रतिक्रिया दिनुहोस्