कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकाका शैक्षिक संस्थाहरुको अनुगमन गरिएको छ । सरकारले शैक्षिक संस्था बन्द गराउने निर्णय गरेको भएपनि विद्यालय तथा शैक्षिक सेन्टरहरु बन्द नभएको गुनासो आएपछि शुक्रबार यहाँका विद्यालय, ट्यूशन तथा कोचिङ सेन्टरहरुको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा कोहलपुरमा सञ्चालित अधिकांश विद्यालय बन्द भइसकेको पाइएको छ, भने केही विद्यालय र कोचिङ सेन्टरहरु सञ्चालनमा रहेको पाइएको नगरपालिका अन्तर्गतको सामाजिक विकास शाखाले जनाएको छ । अनुगमनको क्रममा अधिकांश शैक्षिक संस्था बन्द भइसकेको र केही बन्द नभएको पाइएकोले बन्द नभएका विद्यालय तथा सेन्टरलाई सरकारको निर्णय अनुसार बन्द गर्न निर्देशन सामाजिक विकास शाखा संयोजक तथा कार्यपालिका सदस्य नारायणी वलीले बताइन् ।
‘कोरोना भाइरस संक्रमणले विश्व नै तरंगित भएको छ, यसबाट बच्न आवश्यक छ’ उनले भनिन्, ‘सरकारको अर्को निर्णय नहुञ्जेलक सम्मको लागि विद्यालय बन्छ हुन्छन् ।’यस्तै आफना बालबालिकाको सुरक्षामा विशेष सजकता अपनाउन सम्पूर्ण अभिभावकले कोहलपुर नगरपालिकाले अपिल गरेको छ ।
यता नगर शिक्षा प्रमुख अन्नत कुमार पौड्यालले पनि सरकारको निर्देशन पालना नगरेमा कारबाही गरिने बताए । उनका अनुसार भोली आउन सक्ने विपत्तिको बारेमा सबै अहिले देखि नै सजक हुन आवश्यक छ । कोरोना संंक्रमणका लक्षण,समस्या र समाधानका माध्यमबाट पूर्ण तयारी नै अहिलेको आवश्यकता रहेको उनले बताए । अनुगमनमा कोहलपुर नगरपालिकास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्