सरकारी कार्यालयका दुर्गन्धित शौचालय, के भन्छन् त कार्यालय प्रमुख ?



यानबी साहु/ शुभाकर विश्वकर्मा
कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाका–४ कुसुमका विकास पुनमगर आइतबार इलाका प्रशासन कार्यालय कोहलपुरमा नागरिकता बनाउन आए । पिसाबले च्यापेपछि कार्यालयको शौचालयमा गए । तर धेरै जनाको भिड देखेपछि दुई जना साथी सहित नजिकै रहेको कोहलपुर नगर शिक्षा शाखा भएको शौचालय तर्फ सोझिए । चार वटा कोठा भएको पक्की शौचालयको ‘शौचालय घर’ लेखिएको कोठाभित्र छिर्ने सकेनन् । शौचालयको अवस्था यस्तो छ की कोही पनि भित्र गएर पिसाब गर्न सक्ने अवस्था नै छैन । मगर त्यहाँबाट फर्किएको यो पहिलो पटक भने होइन । एक महिना अघि श्रीमतिको नागरिकता बनाउन जाँदा समेत दुगन्धित शौचालयका कारण आफू फर्किनु परेको उनले बताए ।

सरकारी कार्यालयमा रहेको शौचालयको दुरावस्था देखेर आफू छक्क परेको मगर बताउँछन् । उनी मात्रै होइन बैजनाथ गाउँपालिका ३ नौवस्ताका गोपाल थारु पनि पिसाब नै नगरी फर्किए । ‘शौचालय निकै फोहोर, दुर्गन्धित मात्रै होइन भित्र छिर्न त के पाइला समेत टेक्ने ठाउँ छैन । मलाई त यस्तो हुनुमा कार्यालयको लापरबाही हो जस्तो लाग्यो’ उनले भने । चार कोठे पक्की शौचालय नजिकै चार वटा सरकारी कार्यालय छन् । शौचालय नजिकै नगरपालिका अन्तर्गतका नगर शिक्षा तथा खेलकुद शाखा, महिला तथा बालबालिका शाखा र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्र रहेका छन् भने झण्डै ३० मिटरको दुरी इलाका प्रशासन कार्यालय छन् ।

यी सबै कार्यालयहरुको लागि उक्त शौचालय प्रयोगमा छ । त्यहाँ चार वटा कोठा छन् । कर्मचारी लेखिएको कोठामा त्यहाँ कार्यरत कर्मचारी आफूलाई आवश्यक परेको बेला चाबी लिएर आउँछन् प्रयोग गरेपछि ताला लगाएर जान्छन् । उक्त कोठासँगै रहेका महिला र पुरुष लेखिएका दुई वटा कोठा ताल्चा लगाइएका कारण प्रयोगमा छैनन् । छेउ मै रहेको ‘पिसाब घर’ त छ । त्यहाँ न त पानी नै छ न त सफा सुग्घर नै । छ त केवल बाहिरसम्म फैलिएको दुर्गन्ध  मात्रै । ‘पिसाब घर’मा प्रवेश गर्ने ढोका नजिकै पुग्ने जो कोहीलाई लाग्छ । यो कुनै शौचालय हो वा फोहोरको तलाऊ । उक्त कोठाभित्र पिसाब गरिसकेपछि बाहिर निस्कने ढल निकास बुजिएको छ । पिसाब निकासा हुने माध्यम नहुँदा पोखरी नै बनेको छ ।

आश्चर्य त के छ भने उक्त कोठामा पुरुषले लगाउने भित्री बस्त्र, प्लाष्टिकका बोतल र छरपस्टै दिसाको डंगुर नै छ । जो पनि त्यहाँबाट बाहिर आउँदा नाक थुन्दै, छिछि र दुरदुुर गर्ने अवस्था छ । यता दैनिक मानिसको बढि आवातजावात हुने क्षेत्रमा निर्माण गरिएका शौचालयको अवस्था भने निकै राम्रो रहेको पाइएको छ । कोहलपुर बसपार्क क्षेत्र, कृषि बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयको अवस्था ती सरकारी कार्यालयको भन्दा सफा रहेको स्थानीय बताउँछन् । सुर्खेत जानको लागि बसपार्कमा गाडि कुरिरहेका रोशन बुढाले सार्वजनिक शौचालय अन्य क्षेत्रको भन्दा सफा रहेको पाएको बताए । उनले सार्वजनिक शौचालयहरुमा धेरै मानिसहरुको आवातजावत हुने भएको सफा हुन आवश्यक रहेको बताए ।

उता शौचालय दुगन्धित भएको विषयमा नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौडेलले शौचालय दुर्गन्धित भएको विषयमा सफा गरिदिन चिठी लेखेर पठाएको भएपनि सुनुवाई हुन नसकेको बताए । उनका अनुसार नगरपालिकाले ढल निकास गर्ने उपयुक्त स्थान अभावको भन्ने बुझिएको छ । ‘शाखाको काम चिठी लेख्ने हो, लेखेर पठाएका छौ’ प्रमुख पौड्यालले भने,‘ यस विषयमा फेरी पनि नगरपालिकालाई आग्रह गर्छौ ।’ चिठी पठाएको भएपनि ढल निकाल्ने ठाउँ नभएर फाल्न नसकेको जानकारी आएको शिक्षा शाखाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २० गते मंगलबार