27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

१३ जनाको घटनास्थल मै मृत्यु,१८ जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २९, २०७६  

सिन्धुपाल्चोक।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान गइसकेको र कैयन हताहत रहेको अनलाइनखबरलाई बताए । ‘डीएसपीले मलाई दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले अनलाइनखबरसँग भने ।

घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर २९, २०७६     11:06:20 AM  |